भर्खरै :

ढुङ्गाको वालले खोला नमिचियोस्

ढुङ्गाको वालले खोला नमिचियोस्

प्रत्येक वर्षझैँ वर्षायाममा बाढी पहिरो आउने, डुवानमा पर्ने, घर बस्ती बगाउने र बाली नालीमा क्षति हुँदै आएको यथार्थ हो । यो समस्या तराईमा मात्र होइन काठमाडौँ उपत्यकामा पनि हुँदै आएको हो । खोला साँगुरो हुँदा, खोलाको दायाँ बायाँको बगरको उचाइ नपुग्दा र भरपर्दो नहुँदा यहाँको बस्ती र खेत डुबानमा परेको हो† डुबानमा परेर बालीमा क्षति पुगेको हो । त्यसो त भक्तपुर नगरपालिकाले बाढीले नदीको छेउछाउमा थुपारेका माटो, घाँस आदि सफा नगरेको होइन । तर, यो डुवानको अन्तिम निकास होइन ।
अहिले भक्तपुर नगरपालिकाको अगुवाइ र सक्रियतामा खोलाको छेउमा ढुङ्गाको वाल बनाउने काम सुरु भएको छ । नदीको दायाँ बायाँ वाल लगाउँदा बगर बिग्रिने सम्भावना कम हुन्छ र बाली पनि बिग्रिने सम्भावना हुँदैन । तर, बनाइएको ढुङ्गाको वाल कसरी बनाइँदै छ भन्नेतर्फ अनुगमन हुनुपर्छ । वालमा राखेको सिमेन्ट (मसला) को मात्रा पुगेको छ कि छैन, वाल इस्टिमेटअनुसार खोलाको गहिराइमा पुगेको छ कि छैन ?, वाल नापी नक्साबमोजिम बनेको हो कि होइन ? कतै बनाइएको वालले खोला मिचिएको त छैन भन्ने प्रश्न बाटोमा हिँड्ने यात्रुहरूले प्रश्न गर्ने थालेका छन् ।
खोला साँगुरो भयो भने पानीको सतह माथि आउनु स्वाभाविक हो । पानीको सतह बगरभन्दा माथि आउनुको अर्थ डुवानमा पर्नु हो । खोला साँगुरो भएर एकातिर फेरि डुवान हुने सम्भावना हुन्छ भने अर्कोतिर बनाइएको वाल कमसल भयो भने बाढीले वाललाई क्षति पु¥याउन सक्छ । वर्षदिन नटिक्दै वाल भत्कियो भने पछि त्यो कसको सहयोगले मर्मत गर्ने भन्ने प्रश्न उठ्न सकिन्छ ? त्यसको लागि कहाँबाट बजेट उपलब्ध गराउने ? समयमै मर्मत भएन भने बालीनाली झन् नष्ट हुन्छ† डुवान यथावत रहने छ र जन–जीवनमा समस्या भइरहने छ ।
खोला छेउमा ढुङ्गाको वाल बनाउने काम भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पुलनेर र भनपा वडा नं. ७ स्थित माईश्वरी खेल मैदानको पूर्वतिर बनाइँदै छ । त्यस्तै अन्यत्र पनि बनाइने योजना रहेको बुझिएको छ । भक्तपुर नगरपालिका या काठमाडौँ नगर विकास प्राधिकरण जसको स्रोतमा ढुङ्गाको वाल बनाए पनि त्यो भरपर्दो र बलियो हुनुपर्छ । नापी नक्साबमोजिम भयो भने वालले खोला मिचेको हुँदैन । पानी प¥यो, खोलामा पानी घटेन भनेर मसला (सिमेन्ट) नराखी ढुङ्गामाथि ढुङ्गा राख्दै वाल बनाइयो भने त्यो वाल छिट्टै बिग्रिने या भत्किनेमा शङ्का छैन । वाल वरपरको खेती, बस्ती सुरक्षा गर्ने र डुवान नहुने ढङ्गले बनाउनुपर्छ । यसतर्फ ठेकेदार, काम गर्ने कालिगड र मजदुरहरूले पनि काम सिध्याउने नाउँमा मसलाको मात्रा नमिलाई बनाएमा वाल टिक्ने छैन । यस विषयमा सम्बन्धित निकाय तथा स्थानीय बुद्धिजीवी तथा अग्रजहरूले ध्यान दिनुपर्ने देखिन्छ ।
– अर्पण दुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *