भर्खरै :

तेल बोकेको रुसी जहाज क्युवा पुग्यो

तेल बोकेको रुसी जहाज क्युवा पुग्यो

तेलको ट्याङ्कर बोकेको रुसी पानीजहाज ‘अनातोली कोलोद्किन’ क्युवा पुगेको छ । अहिले यो मातान्जाज बन्दरगाहमा छ । रुसी यातायात मन्त्रालयका अनुसार अहिले ट्याङ्कर अनलोड हुने तरखरमा छ ।
पानीजहाजले झन्डै १ लाख टन तेल बोकेको छ । क्युवामा चरम ऊर्जा सङ्कट भइरहेको बेला रुसको सहयोगलाई मानवीय राहत सामग्री मानिएको छ ।
रिपोर्टअनुसार कार्गो जहाजमाथि रुसको झन्डा फहराइएको थियो । त्यसको सुरक्षामा सेना खटाइएको थिएन । सुरुमा इङ्गलिस च्यानलसम्म त्यसलाई रुसको जलसेनाले सुरक्षा दिएको थियो । तर, एटलान्टिक महासागरमा पसेपछि तेलको ट्याङ््कर बोकेको जहाज क्युवासम्म एक्लै पुगेको थियो ।
रिपोर्टअनुसार तीन महिनापछि पहिलोपल्ट क्युवामा विदेशी तेलको ट्याङ्कर पुगेको हो । अमेरिकाले भेनेजुयला र म्याक्सिकोलाई दबाबमा राखेपछि र ती देशबाट क्युवामा जाने ऊर्जा आपूर्ति ठप्प पारेपछि रुसले सहयोग पठाएको हो । जनवरी ९ गतेदेखि नै क्युवाले बाहिरबाट तेल प्राप्त गरेको थिएन । यसबिच क्युवाको ऊर्जा प्रणाली लगातर खस्किँदै गएको थियो भने जनताले निकै सास्ती व्यहोर्नुपरेको थियो । किनभने, क्युवाली अर्थतन्त्र र सरकारी पूर्वाधारहरू तेलमाथि निर्भर छन् ।
पछिल्लोपल्ट म्याक्सिकोले तेलको जहाज पठाउँदा वासिङटनको दबाबका कारण क्युवा पुग्न पाएको थिएन । यसरी अमेरिकाले भाँजो हाल्दै जाँदा क्युवाको ऊर्जा सङ्कट छाएको थियो । यसले दैनिक वस्तु ढुवानी र विद्युत् जेनेरेटरको क्षमतालगायत उत्पादनका अन्य गतिविधिमा खलल पुगेको थियो ।
मस्कोको ‘अविचल ऐक्यबद्धता’
रुसले पठाएको सहयोग क्युवाप्रति उसको राजनीतिक समर्थन तथा सहकार्य दुवै हो । गत हप्ता रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले क्युवामा बढ्दै गएको तनावप्रति चासो व्यक्त गर्नुभएको थियो । क्युवाली सरकारप्रति रुसको पूर्ण ऐक्यबद्धता रहने मन्त्री लाभरोभले आश्वस्त पार्नुभएको थियो ।
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्युवाप्रति मस्कोको समर्थनमा जोड दिनुभयो । उहाँले अप्ठ्यारो अवस्थामा क्युवालाई सहयोग गर्ने सन्दर्भमा रुसी उच्च अधिकारीहरूबिच छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी क्युवाली नेतृत्वसँग निरन्तर संवादमा छौँ । निश्चय नै हामीले यस्तो अप्ठ्यारो अवस्थामा क्युवालाई सहयोग गर्ने विषयमा छलफल गर्दै छौँ ।” उहाँले सहयोगको उपायबारे क्युवाली समकक्षीसँग कुराकानी गर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ बोकेको जहाज क्युवा पुग्दै छ भन्ने खबरले हामी खुसी छौँ । खासमा जहाज त्यहाँ पुगिसकेको छ ।” पेस्कोभले क्युवा ‘चरम नाकाबन्दीमा छ’ र उसलाई पेट्रोलियम पदार्थ र कच्चा तेल चाहिएको बताउनुभयो । देशका पूर्वाधार सञ्चालन गर्न, विद्युत् उत्पादन गर्न, जनतालाई औषधि उपचारलगायत सेवा प्रदान गर्न यी सामग्री अत्यावश्यक भएकोमा पेस्कोभको विशेष जोड थियो ।
प्रवक्ता पेस्कोभले क्युवालाई ‘सम्भव सबै सहयोग गर्न’ रुस तयार रहेको सङ्केत गर्नुभयो । यसका लागि उहाँले क्युवाली अधिकारीहरूसँग कुरा गर्ने बताउनुभयो ।
रुसी विदेश मन्त्रालयले क्युवामा चुलिँदो तनावप्रति गम्भीर चासो व्यक्त ग¥यो । उसले क्युवाली सरकारप्रति समर्थन जनायो भने अमेरिकी नाकाबन्दी र दबाबको सामना गरिरहेका क्युवाली जनतालाई ‘दाजुभाइ’ भन्यो । वक्तव्यमा क्युवाले ऊर्जा नाकाबन्दीका साथै व्यापार, अर्थतन्त्र, वित्ततन्त्रको क्षेत्रमा ‘अभूतपूर्व चुनौती’ भोगिरहेको उल्लेख छ ।
यही सन्दर्भमा रुसले ‘अविचल ऐक्यबद्धता’ मा जोड दियो । उसले ‘बाहिरिया निर्णय र लामो प्रतिबन्ध’ लाई यसको दोष दियो ।
हाललाई तेलको ट्याङ्कर बोकेको अनातोली कोलोद्किन मातान्जाज बन्दरगाहमा छ । तत्काललाई यसले क्युवालाई राहत नै हुनेछ । तर, यसको दीर्घकालीन प्रभाव हेर्न बाँकी छ ।
(स्रोत : रेडियो हवाना ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *