इरान–अमेरिका वार्ता निष्कर्षविहीन
- चैत्र २९, २०८२
संसारका सबै साम्राज्य ढल्छन् । साम्राज्य तीन कारणले ढल्छन् । पहिलो, तिनको सैन्य बलले राजनीतिक रणनीतिलाई उछिन्दा । दोस्रो, तिनको आर्थिक जग कमजोर हुँदा । तेस्रो, तिनले दमन गर्न खोजेका जनताले लामो समयसम्म अत्याचार सहेर तिनको ठुलो शक्तिलाई परास्त गर्दा ।
सन् १९५६ मा इजिप्ट सरकारले स्वेज नहर राष्ट्रियकरण ग¥यो । यसअघि यो बेलायती साम्राज्यको अधीनमा थियो । स्वेज नहरको राष्ट्रियकरण बेलायी साम्राज्यवादको लागि एउटा मोड सिद्ध भयो । त्यसैबेला अमेरिकाले बेलायती मुद्रा पाउन्ड स्टर्लिङमा दबाब दियो । सञ्चित मुद्राको स्टर्लिङको हैसियत खस्कियो । अन्ततः बेलायती साम्राज्य पछि हट्न बाध्य भयो ।
सत्तरी वर्षपछि हर्मुज नाकालाई केन्द्रमा राखेर चुलिँदो द्वन्द्व मध्य एसियामा अमेरिकी सत्ताको लागि त्यस्तै क्षण सिद्ध हुने सङ्केत देखिएको छ ।
यो तुलना सतही वा हावादारी होइन ।
स्वेज नहर र हर्मुज नाका दुवै स्थानमा एउटा क्षेत्रीय शक्तिले साम्राज्यवादसामु आत्मसमर्पण गर्न अस्वीकार गरेको स्थिति हो । साम्राज्यवाद ‘जिउँदो मान्छे’ को फेला परेको छ ।
साम्राज्यवादका मुकामहरू आफ्नो स्थान जोगाउन सैन्य शक्तिमा भर परे । तर, लडाइँको मैदानले मात्र परिणाम तय गरेन । बरु गहिरा आर्थिक अवरोध र विश्वको बदलिँदो शक्ति सन्तुलनले लडाइँको परिणाम निक्र्योल ग¥यो ।
स्वेज १९५६
सन् १९५६ को जुलाई महिना थियो । इजिप्टका राष्ट्रपति थिए देशभक्त नेता गमाल अब्देल नासिर । उनले स्वेज नहर राष्ट्रियकरण गरे । त्यहाँ इजिप्टको सार्वभौमिकता दाबी गरे । तर, यो दाबी यत्तिमै सीमित रहेन ।
उनले मध्य एसियामा बेलायतको साम्राज्यवादी सत्ताको जरामै प्रहार गरे । स्वेज नहर एक व्यापारिक नाका मात्र थिएन । यो बेलायतलाई उसका उपनिवेशहरूसँग जोड्ने रणनीतिक धमनी थियो† साम्राज्यवादी प्रतिष्ठाको प्रतीक थियो ।
दोस्रो विश्वयुद्धले बेलायत यत्तिकै थिलथिलो थियो । स्वेज नहर गुमेपछि उसले फ्रान्स र इजरायलसँग मिलेर इजिप्टमा आक्रमण ग¥यो ।
यी तीन आक्रमणकारीहरूले नहरको राष्ट्रियकरण उल्ट्याउन खोजे । नासिरको सत्ता पल्ट्याएर नहरमा पुनः साम्राज्यवादी नियन्त्रण जमाउने लक्ष्य थियो उनीहरूको । सैन्य दृष्टिले सुरुमा उनीहरूले केही सफलता पनि हात पारे । बेलायती र फ्रान्सेली सेना तीव्र गतिमा अघि बढ्यो । इजरायली सेनाले साइनाइ क्षेत्र कब्जा ग¥यो । सैन्य हिसाबले उपलब्धि हात पारे पनि राजनीतिक विजय भने हुन सकेन ।
निर्णायक तत्व इजिप्टको सेना वा जनप्रतिरोध मात्र पनि थिएन । त्यो बेला संसार दुई ध्रुवमा विभाजित थियो । अमेरिका र सोभियत सङ्घ दुई ध्रुवका नाइके शक्ति थिए । उनीहरूको हस्तक्षेपले पासा पल्टियो । अमेरिकी राष्ट्रपति आइजनहावरले एकातिर स्वेज नहरलाई लएिर युद्ध चर्किन सक्ने देखे । अर्कोतिर, उनले युद्ध रोकिए बेलायती साम्राज्यलाई किनारमा धकेल्न सक्ने मौका पनि देखे । यसकारण, उनले एउटा अल्टिमेटम जारी गरे ।
वासिङ्टनले वित्तीय क्षेत्रबाट हात झिक्ने धम्की दियो । बेलायती पाउन्डमा दबाब बढ्यो । अन्तर्राष्ट्रिय मुद्राकोषले आफ्नो समर्थनलाई सीमित ग¥यो । त्यो बेला बेलायत दुई समस्याबाट गुज्रिरहेको थियो । पहिलो, उसलाई आफूले आयात गर्ने वस्तुहरूको भुक्तानी दिन समेत हम्मेहम्मे थियो । दोस्रो, उसलाई आफ्नो मुद्राको मूल्य कायम गर्न पनि गा¥हो थियो । यस्तो बेला अमेरिका र मुद्राकोषको दबाब निर्णायक सिद्ध भयो । उसले त्यो दबाब थेग्न सकेन ।
अपमानित भएर बेलायत पछि हट्न बाध्य भयो । आक्रमण बन्द भयो । इजिप्टमा नासिर राजनीतिक रूपमा बलियो भएर उदाए ।
यो सङ्कटपछि मध्य एसियामा प्रभुत्व जमाइरहेको बाह्य शक्तिको रूपमा बेलायतको अवसान भयो । क्षेत्रीय नाइके (हेजिमोन) को बेलायती स्थान साम्राज्यवादी अमेरिकाले लियो । लन्डनले अब अमेरिकाको सहमतिबेगर आफ्नो रणनीतिक महत्वाकाङ्क्षा अघि बढाउन सकिन्न भन्ने बुझ्यो । यसपछि उसका साझेदार र प्रतिद्वन्द्वीहरूले नयाँ परिस्थिति अनुसार बेलायतप्रति धारणा मिलान गरे ।
स्वेज नहर घटनाले सैन्य बलले मात्र साम्राज्यलाई जोगाउन नसकिने देखाउँछ । लडाइँको मैदानमा जब्बर देखिए तापनि कमजोर अर्थतन्त्र र चरम रणनीतिले गर्दा राजनीतिक पराजय हुन सक्छ ।
त्यो बेलायत, यो अमेरिका
सन् १९५६ को बेलायती साम्राज्य र आजको अमेरिका दुवैसँग क्षेत्रीय शक्तिहरूसँग ठुलो सैन्य बल छ । तैपनि, दुवै साम्राज्य संरचनात्मक कमजोरीको परिबन्दमा थिए ।
आर्थिक हिसाबले हेर्ने हो भने विश्वयुद्धपछि बेलायत ऋणको भारले थिचिएको थियो । सन् १९५६ मा उसलाई २७ अर्ब पाउन्डको ऋण लागेको थियो । (आजका मितिमा यो रकम १० खर्ब डलर हुन्छ ।) बेलायतमा औद्योगिक प्रतिस्पर्धा खस्किँदो थियो । ऊ बाह्य वित्तीय सहयोगमा निर्भर थियो । अमेरिका पनि अहिले यिनै परिबन्दबिच छ । अहिले उसको राष्ट्रिय ऋण ३९० खर्ब डलर छ । ऊ लगातार व्यापार घाटामा छ । देशको अर्थतन्त्र कमजोर छ भने डलरमा आधारित वित्तीय व्यवस्थामा विश्वको विश्वास घट्दो छ । यी दुई कारणले वासिङ्टनको साम्राज्यवादी महत्वाकाङ्क्षा कुँजिदै छ ।
उबेलाको बेलायती साम्राज्यजस्तै अमेरिकी सैन्य शक्तिको आज कसैसँग तुलना हुन सक्दैन । पूर्वी युरोपदेखि हिन्द–प्रशान्त क्षेत्रसम्म ठाउँठाउँमा उसको सेना तैनाथ छ । मध्य एसिया कुनै बेला अमेरिकी रणनीतिको केन्द्र थियो । यहाँ अमेरिकाले दशकौँसम्म निकै महँगो तर अधुरो सैन्य उपस्थिति जनायो । अहिले यही क्षेत्र अमेरिकाको लागि महत्वपूर्ण रणमैदान बनेको छ । यति धेरै स्रोतसाधन र ध्यान खर्चेपछि वासिङ्टनले यस क्षेत्रमा सत्ता स्थापित गरेको सत्य हो । तैपनि, ऊसँग आफूले चाहे अनुसार निर्णय लागु गराउने क्षमता बनाउन सकेन ।
अब रबेला मध्य एसियामा राज्यइतर खेलाडी समूह, क्षेत्रीय शक्ति र राज्यपार सञ्जालहरूले नियन्त्रणको परम्परागत स्वरूपलाई नै कमजोर बनाएका छन् ।
स्वेज नहरको सङ्कट बेलायती साम्राज्यको पतनको घडी थियो । साथमा, त्यो अमेरिकाको उदयको घडी पनि थियो । राष्ट्रपति आइजनहावरले उपनिवेशवादी आक्रमणको विरोध गरेका थिएनन् । बरु उनले स्वतन्त्र ढङ्गले चल्नबाट युरोपका साझेदारहरूलाई रोकेका थिए । उनी अमेरिकालाई सो क्षेत्रको मुखिया र अकाट्य खेलाडीको स्थानमा उकास्न चाहन्थे । त्यसैले स्वेज नहरमा अमेरिकी हस्तक्षेप एउटा योजनाबद्ध रणनीति थियो ।
वासिङ्टनले बेलायतबाट दबदबा कायम गर्ने संरचना उत्तरदानमा लिएको हो । सैन्य अखडा विस्तार गर्न, साझेदारहरूको घेरा बलियो बनाउन र आर्थिक स्वार्थहरूलाई गहिरो पार्न उसले बेलायतबाटै सिकेको हो । कालान्तरमा अमेरिका मध्य एसियालाई आकार दिने मुख्य बाह्य शक्ति बन्यो । उसले सैन्य अखडाहरूको सञ्जाल, हतियारको व्यापार, तेलमा सहुलियत, पेट्रो–डलर प्रणाली तथा यो क्षेत्रका अनेक धनी देशहरूसँग रहेको विस्तृत राजनीतिक र आर्थिक सम्बन्धमार्फत आफ्नो प्रभुत्व कायम ग¥यो ।
अमेरिकाले इजिप्ट, जोर्डन र मोरक्को जस्ता प्रमुख क्षेत्रीय देशहरूलाई पनि दबाबमा राख्यो । यसका लागि उसले आर्थिक सहयोग दियो† ऋण दियो† खुफियातन्त्रमा सहकार्य ग¥यो† स्वेच्छाचारी शासकहरूलाई समर्थन ग¥यो ।
कुनै बेला इराक, सिरिया, यमन, सुडान र लिबियाले अरबी राष्ट्रवादीहरूको गठबन्धन बनाएका थिए । अमेरिकाले त्यसलाई टुक्र्याउने र अस्थिर बनाउने नीति लियो । यसले उसले ती देशलाई कमजोर बनायो । खासगरी अमेरिकी प्रभुत्व वा इजरायली नीतिलाई अलिकति पनि चुनौती दिने देशमाथि यी नीति लागु गरियो ।
साम्राज्यको अवसान यत्तिकै हुँदैन । प्रायः यसको अवसानसँगै नयाँ प्रभुत्वशाली संरचना उदाउँछ । तर, अहिलेको स्थिति त्यस्तो होइन । बेलायतलाई अमेरिकाले विस्थापित गरे जस्तो अमेरिकाको ठाउँ लिने कुनै एक्लो शक्ति देखापर्दैन । बरु, एउटा खण्डित र बहुध्रुवीय विश्व व्यवस्था उदाउँदै छ ।
हर्मुज नाका
विश्वको तेल र ग्यास भन्डारको पाँच भागको एक भाग हर्मुज नाका हुँदै अन्यत्र जान्छ । त्यसमा खलल पर्दाबित्तिकै विश्व अर्थतन्त्रमा तत्कालीन र दीर्घकालीन असर परिहाल्छ ।
इरानको भूगोल, सैन्य क्षमता, असमान रणनीति र राजनीतिक प्रतिबद्धताले उसलाई यो नाका नियन्त्रणमा राख्ने क्षमता दिएको छ ।
सन् १९५६ मा इजिप्टको छवि अर्कै थियो । ऊ असंलग्न आन्दोलनको नेता थियो । उसले उसलाई राजनीतिक लाभ दिएको थियो । अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्धले पनि उसलाई फाइदा पुगेको थियो । आज इरानको स्थिति त्यति बेलाको इजिप्टको भन्दा एकदम भिन्न छ । ऊसँग अनेकौँ साधन छन् । ऊसँग उन्नत मिसाइल र ड्रोन क्षमता छ । उसले विश्वको ऊर्जा प्रभावमा खलल पार्न सक्छ । साथै, अहिले समग्र मध्य एसियाले जथाभावी युद्धमार्फत आफ्नो भूभागमा अस्थिरता मच्चिएको महसुस गर्दै छ । यसमा उसले अमेरिका र यहुदीवादी इजरायललाई दोषी देख्दै छ ।
चालु द्वन्द्वका लागि इरानले प्रस्ट खाका बनाएको छ । उसले अमेरिकी र इजरायली आक्रमण रोक्नका लागि सर्तहरू बनाएको छ । उनीहरूले युद्धको जिम्मेवारी लिनुपर्ने, भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्ने, यस क्षेत्रमा राखिएका अमेरिकी सैन्य अखडाहरू बन्द गर्नुपर्ने, विध्वंसका लागि इरानलाई क्षतिपूर्ति दिनुपर्ने र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने इरानको सर्त छ ।
हर्मुज नाकाको सञ्चालनका सम्बन्धमा पनि इरानले नयाँ खाका जारी गरेको छ । यो नाकाको सुरक्षा, आर्थिक हितका साथै उसले समस्त मध्य एसियामा भइरहेको क्षेत्रीय द्वन्द्व अन्त्य गर्नुपर्ने भनी व्यापक परिदृश्यलाई पनि समेटेको छ । इरानले गाजा, लेबनन, यमन र सिरियाका युद्ध अन्त्य गर्नुपर्ने र यस क्षेत्रमा युद्ध अपराध गर्नेहरू जवाफदेही हुनुपर्ने प्रस्ट अडान राखेको छ ।
मध्य एसियामा इजरायलको आणविक एकाधिकारलाई सम्बोधन गर्न बाँकी छ । गाजा युद्ध तेस्रो वर्षमा पुग्दै गर्दा यो सन्दर्भ निकै महत्वपूर्ण हुन आउँछ । उसले बारम्बार लक्ष्मणरेखा पार गरेको छ । आफ्ना अस्पष्ट लक्ष्य पूरा गर्न उसले अत्याधिक बलप्रयोग गरेको छ । अन्तर्राष्ट्रिय कानुन र सन्धिसम्झौताको उसलाई कुनै मतलब छैन ।
रणनीतिक सफलता पाउनका लागि इरानले सबै लक्ष्य हासिल गर्नुपर्छ भन्ने छैन । अमेरिका र उसका साझेदारहरू इरानलाई जबर्जस्ती घुँडा टेकाउन, कठपुतली सरकार थोपर्न र पछिसम्मलाई कमजोर बनाउन चाहन्छन् । यी तीन कुरामा चुकेन भने पनि अथवा एक स्वाधीन देशको रूपमा बाँचिरह्यो भने पनि इरानको मूल लक्ष्य पूरा हुनेछ ।
अमेरिकाका सीमाहरू
अमेरिका अहिले सन् १९५६ को बेलायत जस्तै अलमलमा छ । बेलायत भन्दा अमेरिकाको उल्झन अझ जेलिएको छ । चर्काचर्की बढे जोखिम पनि बढ्छ । हर्मुज नाका लामो समयसम्म बन्द भयो वा त्यहाँबाट हुने ऊर्जा प्रवाहमा लगातार खलल पुग्यो भने विश्व अर्थतन्त्र अस्थिर बन्नेछ । ऊर्जाको मूल्य अकासिनेछ भने अमेरिकाका साझेदारहरूले ठुलो दबाब झेल्नुपर्नेछ ।
यति नै बेला घोषित लक्ष्य पूरा नगरी आक्रमण घटाइन्छ भने अमेरिकाको दमनकारी शक्तिको सीमा उदाङ्गिनेछ । अर्कोतर्फ, प्रतिरोध गरे संसारको सबैभन्दा शक्तिशाली सेनालाई पनि निस्तेज पार्न सकिन्छ भन्ने सङ्केत क्षेत्रीय शक्तिहरूले पाउनेछन् ।
यो तनावले साम्राज्यवादी अति विस्तारको व्यापक समस्या प्रतिविम्बित गर्छ । अमेरिकाले अनेक ठाउँमा गरेका प्रतिबद्धतालाई व्यवस्थापन गर्नुपर्छ । देशभित्र उसले सरकारप्रति समर्थन र आर्थिक स्थिरता कायम गर्नुपर्छ । मध्य एसियाको द्वन्द्व लम्बियो भने यी सबै ठाउँमा तनाव बढ्नेछ ।
चालु द्वन्द्वलाई बुझ्न रणनीतिक र संरचनात्मक लाभबीच फरक छुट्याउन जरुरी छ ।
अमेरिकी र यहुदीवादी इजरायलको गुटसँग रणनीतिक लाभ छ । किनभने, उनीहरू वायुसेना, जलसेना, गुप्तचरी र प्रविधिमा इरानभन्दा अब्बल छन् । तैपनि, यी शक्तिले मात्र चाहेको परिणाम निकाल्न सकिन्न ।
यसको विपरीत इरान संरचनात्मक प्रतिरोधको आधारमा डटिरहेको छ । उसलाई भूगोलको साथ छ† उसको सेना विकेन्द्रित छ† क्षेत्रीय साझेदारहरूले उसलाई दीर्घकालीन दबाब सहन सक्षम पारेका छन् । अझ महत्वको कुरा के भने उसका लक्ष्यहरू एकदम सीमित र सम्भाव्य छन् ।
अमेरिका–इजरायल र इरानबीचको यो असमानता नै निर्णायक हो । अमेरिका–इजरायल गुटले इरान राज्य र समग्र क्षेत्रीय व्यवस्था बदल्न चाहन्छन् । इरान भने बाँच्न र प्रतिरोध गर्न चाहन्छ । यस्तो असमान स्थितिमा प्रायः नरम लक्ष्य लिएको पक्षको पल्ला भारी हुने इतिहास छ ।
युगको पटाक्षेप
अमेरिकी दबदबा कमजोर बनेको अवस्थामा क्षेत्रीय खेलाडीहरू अझ स्वाधीन हुन खोज्नेछन् । हुन त चीन र रुस जस्ता बाह्य शक्तिसँग प्रभुत्व जमाउने क्षमता छैन । तैपनि, अमेरिकी दबदबा ओइलाएको अवस्थामा उनीहरूको संलग्नता पनि बढ्नेछ ।
क्षेत्रीय स्तरमा इरान बाँच्यो र बलियो बन्छ तथा विभिन्न देशमा सक्रिय ‘प्रतिरोध गठबन्धन’ कायम रह्यो भने शक्ति सन्तुलन पनि बदलिनेछ । इजरायली सेनाको अविच्छिन्न दबदबा झन्झन् जोखिममा पर्नेछ । अमेरिकाको रक्षा कवचबारे पुनर्विचार हुनेछ र नयाँ गठबन्धन बन्न सक्छ । प्यालेस्टिनमा त्यसको गहिरो प्रभाव पर्नेछ ।
अमेरिकी प्रभुत्व कमजोर भयो भने इजरायलको रणनीतिक महत्व खुम्चिनेछ । किनभने, उसको सैन्य दबदबा अमेरिकाको निःसर्त सहयोगमा निर्भर रहँदै आएको छ । यो सहयोग महँगो र शङ्कास्पद बन्छ भने इजरायलको जग नै खिइन थाल्नेछ । यसले गर्दा इजरायल तत्कालै ढल्छ भन्ने होइन । तर, उसलाई जीवित राखिरहेका जातिवादी संरचनाहरू र प्रणाली बिस्तारै तितरबितर हुनेछन् ।
इजरायलको सैन्य क्षमता कमजोर हुनेछ, राजनीतिक रूपमा ऊ एक्लिँदै जानेछ र उसका आन्तरिक अन्तर्विरोधहरूले टाउको उठाउनेछन् । त्यो स्थितिमा प्यालेस्टिनी सङ्घर्ष पुनः चर्किनेछ । त्यो सङ्घर्षले मध्य एसियाको भविष्यलाई आकार दिन प्रमुख भूमिका खेल्नेछ ।
बसोबासी उपनिवेशवादहरू आफूलाई आड दिने साम्राज्य पछि हटेको स्थितिमा नबाँचेको इतिहास छ । आड दिएको शक्ति पछि हटेपछि यहुदीवादी इजरायल पनि ढिलोचाँडो टुक्रिनेछ ।
स्वेज नहरको सङ्कट एउटा साम्राज्यको अन्त्य र अर्कोको उदयको कारण बन्यो । त्यसरी नै हर्मुजको सङ्कटले अलि फरक तरिकाले त्यो काम गर्ने देखिन्छ । फरक कति मात्र हो भने यसपालि एउटा साम्राज्यलाई अर्कोले विस्थापित गर्नेछैन । बरु, साम्राज्यवादी दबदबाको युग नै विस्तारै ओइलाउनेछ ।
त्यो बदलिँदो परिवेशमा इतिहासको शिक्षा भने बदलिनेछैन । साम्राज्यहरू कुनै निर्णायक लडाइँमा ढल्दैनन् बरु आफ्नो शक्तिलाई राजनीतिक नियन्त्रणमा बदल्न नसक्दा ढल्छन् । त्यस अर्थमा इरानमा जारी द्वन्द्वको परिणाम अहिल्यै आकलन गर्न सकिएला ।
(स्रोत : मिडल इस्ट आइ । सम्यक)
Leave a Reply