भर्खरै :

सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने

सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन्तति आधारभूत विद्यालयको ३८ औँ वार्षिकोत्सवको पानसमा दीप प्रज्ज्वलन गरी एक समारोहबिच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउने कोशिश गर्दै आएको र समुदायको विकासको लागि निरन्तर पहल गरिरहेको बताउनुभयो ।
उहाँले सन्तति आ.वि.को स्तरोन्नतिको पहल भइरहेको बताउँदै विद्यालयको शैक्षिक विकास सँगसँगै विद्यालयले विद्यार्थीहरूलाई नैतिक र सामाजिक भावनाको विकासका साथसाथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा जानकार बनाउनुपर्ने सुझाव दिनुभयो ।
अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममार्पmत नगरको विषयवस्तुबारे शिक्षा प्रदान गरिरहेको जानकारी दिँदै भक्तपुर नगर उदाहरणीय बनिरहेको र देशकै नमुना नगर बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा र सरसफाइलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताउँदै नगरभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूलाई समय समयमा क्षमता अभिवृद्धिका तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले विद्यालयको शैक्षिक प्रगतिको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै विद्यालयले आगामी वर्षदेखि कक्षा ८ को पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले विद्यालयमा स्थान अभावका कारण विद्यालयको पठन पाठनमा कठिनाइ भइरहेको हुँदा थप भवन निर्माणको लागि भक्तपुर नपाबाट आवश्यक पहल गर्नुपर्नेमा जोड
दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नपली सृजनानगर समाजका अध्यक्ष नारायणप्रसाद कोइराला, अभिभावक प्रतिनिधि अप्सरा गौतम, शिक्षक जगन्नाथ डुम्रे, शिक्षिका कृष्णमाया बस्नेत, विद्यार्थी प्रतिनिधिहरू संसार अधिकारी र एलिसा गौतमले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यालयका उत्कृष्ट अभिभावकहरूलाई दोसल्ला र सम्मानपत्र, वार्षिक परीक्षा तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।
हाल सन्तति आधारभूत विद्यालयमा १९३ जना विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापकको प्रतिवेदनमा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *