बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
क्षयरोग (टीबी) निको हुन्छ । यो उपचार सम्भव र रोकथाम गर्न सकिने रोग हो । तर, हाम्रो समाजमा यसलाई हेर्ने दृष्टिकोणले प्रायः बिरामीलाई शारीरिक रोगभन्दा ठुलो मानसिक आघात दिन्छ । क्षयरोगले व्यक्तिको शरीर मात्र होइन, उसको मन, भावना र सामाजिक अस्तित्वमा समेत गहिरो चोट पु¥याउँछ । यो चोट, अर्थात् मानसिक स्वास्थ्यको पक्ष, प्रायः उपेक्षित रहन्छ ।
क्षयरोग र मानसिक स्वास्थ्यबिचको सम्बन्ध दुईतर्फी बाटोजस्तो छ । क्षयरोगले डिप्रेसन, चिन्ता र आत्मविश्वासको ¥हास निम्त्याउन सक्छ भने पहिलेदेखि नै मानसिक समस्याले ग्रस्त व्यक्तिमा क्षयरोगको उपचार प्रभावकारी नहुन सक्छ । त्यसैले, यी दुई समस्यालाई सँगै सम्बोधन गर्नु अबको आवश्यकता र बाध्यता दुवै हो ।
रोग पत्ता लागेपछि मनमा के
चल्छ ?
क्षयरोग पुष्टि हुनासाथ धेरै बिरामी तनाव, डर र चिन्ताको भुमरीमा फस्छन् । मृत्युको डर, परिवारमा रोग सर्ने चिन्ता, लामो उपचारको थकान, भविष्यप्रतिको अनिश्चितता र उपचारकै कारण निम्तिने सामाजिक अलगाव– यी सबैले बिरामीलाई मानसिक रूपमा धराशायी बनाउँछन् । ६ महिना वा सोभन्दा लामो उपचार अवधि उसको धैर्य र मानसिक सन्तुलनको परीक्षा बन्न पुग्छ ।
देखिने समस्या : डिप्रेसनदेखि कलङ्कसम्म
क्षयरोगीहरूमा डिप्रेसन (अवसाद) सबैभन्दा सामान्य समस्या हो । लगातारको उदासी, रुचिमा ¥हास, अत्यधिक थकान र निद्रामा गडबडीजस्ता लक्षणले बिरामीलाई नियमित औषधि सेवनबाट टाढा बनाउन सक्छन् । त्यस्तै, रोगको डर, आर्थिक अभाव र समाजको प्रतिक्रियाले चिन्ता विकार (एन्जाइटी) उत्पन्न गराउँछ ।
तर, सबैभन्दा क्रूर पक्ष ‘सामाजिक कलङ्क’ हो । ‘क्षयरोग छ’ भन्ने थाहा पाएपछि समाजले हेर्ने दृष्टिले बिरामीलाई अपराधीजस्तो महसुस गराउँछ । सामाजिक बहिष्कार, लाज, अपराधबोध र आत्मसम्मानको पतनले बिरामीलाई एकान्तमा धकेल्छ, जसले मानसिक तनावलाई थप चुलिदिन्छ ।
मानसिक समस्याले उपचारलाई कसरी जोखिममा राख्छ ?
डिप्रेसन वा चिन्ताका कारण बिरामीले नियमित औषधि नखाँदा, फलोअप छुटाउँदा वा उपचार बिचमै छोड्दा औषधि प्रतिरोधी क्षयरोग हुने जोखिम बढ्छ । अनुसन्धानहरूले देखाएका छन् – डिप्रेसन भएका क्षयरोगीहरूको उपचार पूरा गर्ने दर निकै कम हुन्छ । केही अवस्थामा क्षयरोगका औषधिले समेत मानसिक भ्रम पैदा गर्न सक्छन् । त्यसैले, उपचारका क्रममा मानसिक अवस्थाको नियमित निगरानी अनिवार्य छ ।
एकीकृत उपचार : समाधानको बाटो
यी सबै समस्याको एकमात्र समाधान ‘एकीकृत उपचार’ हो । क्षयरोगको उपचारसँगै मानसिक स्वास्थ्य सेवालाई अनिवार्य रूपमा जोड्नैपर्छ । स्वास्थ्यकर्मीहरूले औषधि मात्र दिने नभई डिप्रेसन र चिन्ताको स्क्रिनिङ, मनोसामाजिक परामर्श, परिवारलाई सही जानकारी, समुदायमा सचेतना र सामाजिक समर्थनको प्रबन्ध गर्नुपर्छ । यसले उपचार सफलताको दर उल्लेख्य रूपमा बढाउँछ ।
परिवार र समुदाय : सहयात्री बन्न सकिन्छ
क्षयरोग निको हुने यात्रामा परिवार र समुदायको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । भावनात्मक साथ, भेदभावको अन्त्य, औषधि सेवनमा प्रोत्साहन र सही जानकारी फैलाउने कामले कलङ्कको पर्खाल भत्काउन सकिन्छ । बिरामीले परिवार र समाजको साथ पाएमा उसको आत्मविश्वास फर्कन्छ र उपचारप्रतिको प्रतिबद्धता बलियो हुन्छ ।
आत्म–हेरचाह : आफैँले आफ्नो साथ
क्षयरोगीले आफैँले पनि केही सरल उपाय अपनाउन सक्छन् :
– दैनिकीमा नियमितता ल्याउने ।
– ध्यान (मेडिटेसन) वा रिल्याक्सेसन अभ्यास गर्ने ।
– परिवार र साथीहरूसँग जोडिएर रहने ।
– पौष्टिक आहारमा विशेष ध्यान दिने ।
– मानसिक समस्या महसुस भएमा तुरुन्त विशेषज्ञको सहयोग लिने ।
क्षयरोगविरुद्धको लडाइँ जीवाणुसँगको सङ्घर्ष मात्र होइन, यो मानिसको आत्मबल, आशा र मानसिक स्वास्थ्यसँग पनि जोडिएको यात्रा हो । जब समाजले कलङ्कको सट्टा सहानुभूति रोज्छ, परिवारले साथ दिन्छ र स्वास्थ्य सेवाले शरीरसँगै मनको उपचारलाई प्राथमिकता दिन्छ, तब मात्र क्षयरोग नियन्त्रणको लक्ष्य वास्तविक रूपमा हासिल गर्न सकिन्छ ।
(सहायक प्राध्यापक डाक्टर खनाल मानसिक अस्पताल, लगनखेलका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट (दसौँ तह) हुन् ।)
Leave a Reply