भर्खरै :

संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा

संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा

लेखक शिवहरि घिमिरेको ‘होचो ढोका’ (पारम्परिक मिथक र संस्कृतिको खोजमूलक कथन) पुस्तक धेरै अध्ययन, सोधपुछ र छलफलबाट निस्केको निचोड हो । तर, कति किंवदन्तीमा अनेक सत्य कथा पनि लुकेको हुन्छ; कति प्रस्ट भन्न नसकिने समयमा छायावादी र ख्याकको कथासँग जोडिएका पनि हुन्छन् । पुस्तक पढ्दै गएपछि धेरै कुरो थाहा हुने नै छ परिश्रमको फल मिठै होला । छलफल अगाडि बढ्दै जानु आवश्यक छ र सत्य र सच्चाइ खुल्दै जाने छ ।
काठमाडौँ उपत्यकामा ‘होचो ढोका’ को कारण राजाबाट छोराछोरी जोगाउन ‘होचो ढोका’ गलत अनुमान मात्रै हुन् । तलका कारणहरूलाई ध्यान दिनु वैज्ञानिक दृष्टिकोण हुनेछ –
संसारका सबै राजा–महाराजाहरू महिलाहरूप्रति छाडा हुनु नयाँ विषय होइन र लिच्छवी र मल्लकालका राजा–महाराजाहरू र सबै सामन्तहरू त्यस्तै हुन् । विकसित मुलुकहरूका पहिलेका राष्ट्रपति र मन्त्रीहरू त्यस मामलामा कम छैनन् । अमेरिकी राष्ट्रपतिहरू, वर्तमान राष्ट्रपति ट्रम्प र उसका साथी सङ्गति, ठूल–ठूला पुँजीपतिहरूबारे अखबारहरूमा छ्यापछ्याप्ती छन् । तर, के ती सबै युरोपेली देशहरूका ढोकाहरू होचा छन् ?
बेलायतका कवि वाइरनको बारेमा पनि अङ्ग्रेजी पढेका नेपालका पुराना पुस्ताका मानिसहरूलाई थाहा छ – “महारानी र आमाबाहेक सबैतिर आँखा दौडाउँथे किनभने आमाप्रति गलत दृष्टि राख्नुहुन्न, महारानी दरबारमा बस्ने र पालो पहरा हुने हुँदा उनीमाथि आँखा लगाउन सामथ्र्य हुन्न ।”
“गम्भीर र व्यावहारिक हिसाबले अत्यन्त बहुमत महिलाहरू लोग्नेमानिसहरू सबै उस्तै हुन्” भन्ने कहावत नै छ । संस्कृत साहित्यमा श्रृङ्गार रसका काव्य वा साहित्य वीर रसभन्दा बढी नै होला । यही हाल अन्य भाषाको साहित्यमा पनि देखिन्छ । साहित्य निश्चय पनि तत्कालीन समाजकै तस्बिर हुन् ।
(२) नेपालमा काठमाडौँ उपत्यकासमेत एक भूकम्पीय देश हो । यसकारण, झन्डै ५० वर्षको एकपटक भूकम्प भइरहेको तथ्याङ्कले प्रस्ट छ । घरहरू बलियो बनाउन पहिलो वा छिँडी तला बलियो बनाउनु आवश्यक मानिन्छ र पुराना वास्तुकला त्यस्तै छन् । राजाका दरबारहरूबारे साधारण जनताका घरहरूभन्दा फरक नै हुन्छन् । त्यसो त दरबार शब्द नै नेवारी (नेपालभाषा) र नेपाली भाषा होइन । अरू देशमा पनि दरबारका ढोका ठूला छन् र पालो पहराले सुरक्षा गर्छन् । नेपालकै दरबारमा नेवार पत्नीहरू झण्डै सबै राजाका थिए । हुँदाहुँदा पोखरामा नमिता र सुमिता काण्डमा दरबारियाहरू नै मुछिएको हुँदा कसैमाथि मुद्दै चलेन । त्यसबेला देशभरि चर्चा चलेकै हो ।
(३) जहाँसम्म ‘टिक झ्या’ वा आँखीझ्यालको प्रश्न छ, त्यो पनि भारतका मुगल शासनको प्रभाव देखिन्छ । मुगल बादशाहहरूका दरबारहरूमा गर्मी हावा नपसोस् भनी बनाएका हुन्छन् वा तिनीहरूको ‘पर्दा’ को कारण होला, नेपालमा पनि त्यसबेला माथिल्ला महिलाले टाउको छोप्ने चलन थियो र ओढ्ने त जाडो मौसमले होला भन्ने हो† अहिले पनि दरबारमा बोलिने शब्दहरू र राजनैतिक क्षेत्र एवम् अड्डा–अदालतका धेरै शब्दहरू भारतीय मुगल शासन र संस्कृतिबाटै आएका हुन् – उदाहरणको निम्ति सवारी, बक्सनु कुर्नेस, हजुर, हाजिर, सरकार, दर्खास्त, अदालत, आम, इन्कलाब, उजुर आदि ¤
त्यसको प्रभाव मल्ल राजाहरूमा परेकै हो, मल्ल राजाहरू पनि भारतबाटै आएका हुन् र तिनीहरूले लेखेका साहित्यको भाषा, संस्कृत, मैथली, भोजपुरी र नेवारी भाषामै छन् । यसरी संसारका सबै देशका दास–मालिक, राजा–महाराजा र सामन्तहरूको ऐस–आराम र बहुपत्नी प्रथा चल्यो भने मुसलमानहरूको समाजमा अहिले पनि नेपालका मुसलमान समुदाय र भारतमा यो प्रचलनमा छ । त्यसको प्रभाव नेपाली मल्ल राजाहरूमा प¥यो नेपाली शाह, राणा र आजकाल नेपाली प्रजातान्त्रिक र गणतान्त्रिक नेताहरूका स्वजाति पत्नीबाहेक नेवार पत्नीहरू वा अन्य जातिका पत्नीहरू पनि छन् किनभने ती नेताहरू पनि सामन्ती परिवारबाट आएका र सामन्तवादी समाजकै प्रभाव हो ।
(४) होचो ढोका हुने घरहरू अहिले पनि बजार र गल्लीमा बाँकी छन् । त्यसबेलाका ठुला–ठालुका केही घरहरूमा मात्रै बाहिरी प्रभावले ठुला ढोका देखिन्छन् । त्यहाँ पनि होचो ढोका यत्रतत्र पाइन्छ । कतिका ती होचो ढोकाको परिणाम त केही पत्रकारहरू र विदेशी राजदूतहरूले पनि भोगेका छन् । सम्भवतः दुई/तीन सय वर्ष अगाडि ठुल–ठुला बलिया रूखहरू पहाडमा नपाइने, जाडो मौसममा तल्ला पनि होचो र मूल्यको कारण पनि भएको अनुमान गर्न सकिन्छ । आज डन्डी र सिमेन्टको घर बनाउँदा समेत धेरै ठुलो ढोका काठमाडौँ स्थानीय वास्तुकलासँग मिलाउँदा तुलनात्मक रूपले युरोपेली शैलीका गेट (ढोका) भन्दा होचै देखिन्छन् ।
यी सबै कुरामा ध्यान दिँदा वास्तुकलाको दृष्टिकोणले काठमाडौँ उपत्यकाका घरका ढोकाहरूको उचाइ कम हुनुमा सामाजिक र राजनैतिक कारण नभई भूगोल र वास्तुकलाको कारणले होला भनी अनुमान गर्नु बढी सत्यको नजिक पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *