भर्खरै :

इतिहासको भौतिकवादी अवधारणा के हो ?

  • बैशाख १, २०८३
  • डेनिस टालोन
  • विचार
इतिहासको भौतिकवादी अवधारणा के हो ?

माक्र्सका साथीहरू मनोगत आदर्शवादका पक्षधर थिए । तिनकै खण्डनमा माक्र्सले इतिहासको भौतिकवादी अवधारणा अघि सार्नुभयो । ‘विचारले भौतिक मामिला निर्धारण गर्छ भन्नु’ नै आदर्शवाद हो ।१ यसले ‘इतिहास भनेको महान् व्यक्तिहरूले आफ्ना महान् विचार लागु गर्ने प्रक्रिया हो’ भन्छ । माक्र्सले यसलाई गलत बुझाइ भन्नुभयो । इतिहासको यस्तो बुझाइले इतिहाससम्बन्धी भ्रम मात्र पैदा गर्छ; यसबाट सामाजिक चुनौतीहरूको चिरफार गर्न सकिन्न ।
उहाँले लेख्नुभयो, “चेतनाले जीवन निर्धारण गर्ने होइन । बरू जीवनले चेतना निर्धारण गर्छ ।”
मानव इतिहास एउटा जैविक तथ्यबाट सुरू हुन्छ – “जीवित मानव जाति ।” माक्र्सले ‘जीवित’ को अर्थ यसरी लगाउनुभयो – हामीले सास फेर्छौँ, खाना खान्छौँ र शरीरलाई न्यानो राख्छौँ । जैविक आवश्यकताहरूले हामी प्रकृतिसँग कसरी जोडिने र प्रकृतिले हामीलाई कसरी सीमाबद्ध गर्ने भनी तय गर्छन्; हामीलाई कति क्यालोरी खाना चाहिन्छ र सामाजिक प्रक्रियामार्फत हामीले त्यो कसरी पाउने भनी तय गर्छन् । यो प्राकृतिक आवश्यकताबाट हामीले छुटकारा पाउन सक्दैनौँ । बरू यी आवश्यकता प्राप्त गर्ने भन्ने तरिका निरन्तर विकसित हुँदै जान्छ । यो तरिकालाई माक्र्सले ‘उत्पादन’ भन्नुभयो । माक्र्सले उत्पादनलाई हामी र पृथ्वीबिच हुने ‘मेटाबोलिज्म’ को रूपमा हेर्नुभयो । मेटाबोलिज्मले हामी अन्य पशुभन्दा कसरी फरक छौँ भन्ने छर्लङ्ग पार्छ । मानिस (पशुसुलभ) सहज–ज्ञानको पछाडि लाग्दैन । बरू आफ्नो भौतिक यथार्थले तोकेको सीमाभित्र बसेर मानिसले योजना बनाउँछ र सोही अनुरूप काम गर्छ । तपाइँ भन्नुहोला – योजना वा विचार पहिले आयो त ! तर, फरक छ । विचार कुनै चमत्कारी झिल्को होइन । विचार भनेको हाम्रा भौतिक आवश्यकताहरूकै सुसंगत जवाफ हो ।
उत्पादनका तीन तह हुन्छन् । पहिलो, हामी बाँच्नका लागि आवश्यक चीजबिज उत्पादन गर्छौँ । दोस्रो, यी आवश्यकता पूरा भएपछि हामीले नयाँ आवश्यकता पैदा गर्छौँ । तेस्रो, उत्पादनले हामीलाई परिवार र सामाजिक सम्बन्धहरूमार्फत एकताबद्ध पार्छ । यो चरणबद्ध प्रक्रिया होइन । बरू यी तीन तह सँगसँगै सामाजिक ‘क्षण’ को रूपमा चलिरहन्छन् ।
उत्पादनको काम झन्झन् जटिल हुँदै जाँदा श्रम हाम्रो आफ्नो हुन छोड्छ । हाम्रो श्रम हामीसँगै भिड्न आउँछ । मानिसको क्षमता (श्रमविभाजनमा) छियाछिया हुन्छ । श्रमलाई बाँच्नका लागि भन्दा पनि नाफा कमाउनमा प्रयोग गरिन्छ । कुनै बेला अर्थपूर्ण मानिने श्रमले हाम्रो भूमिकालाई खुम्च्याउँदै लग्छ । हामीलाई मजदुर, म्यानेजर आदिमा सीमित गरिदिन्छ ।
यो बन्दोवस्तमा धेरै मानिसको श्रमले थोरै मानिसको लागि फुर्सद बनाइदिने काम हुन्छ । बहुसङ्ख्यक मानिसको श्रमले मुठ्ठीभर शासक वर्गलाई सोच्ने, व्यवस्थापन गर्ने, सङ्गठित हुने जस्ता मौका दिलाउँछ । बाहिर अनेक विचारधाराका जामा लगाएर यो तथ्यलाई लुकाइन्छ । इतिहासको गतिशील प्रकृति पनि लुक्न पुग्छ । हाम्रै श्रमबाट निर्माण भएको इतिहास ढाकिन्छ । तर, इतिहास निरन्तर परिवर्तन भइरहन्छ र पछि पनि परिवर्तन भइरहनेछ । उत्पादक शक्तिहरू (श्रम, औजार) र उत्पादन सम्बन्ध (वर्ग, नियन्त्रण) बिच अन्तर्विरोध चलिरहन्छ । यी अन्तर्विरोधले ती इतिहासको परिवर्तन निर्धारण गर्छन् ।
यसरी, भौतिक आवश्यकताहरूको उत्पादनलाई कसरी आधारभूत रूपमै व्यवस्थित गर्ने भन्ने कुराले समाजको चरित्र तय गर्छ र ती अन्तर्विरोधलाई चर्काउँछ, जसले समाजको चरित्र नै बदल्छ ।
तर, हामीले उल्टो ढङ्गले सोचिरहेका हुन्छौँ । किन ? यसको व्याख्या गर्न माक्र्सले ‘क्यामेरा’ को अवधारणा प्रयोग गर्नुभयो । क्यामेराले एउटा भ्रम सिर्जना गर्छ† क्यामेरामा यथार्थ पनि उल्टो देखिन्छ । हामी एउटा प्रक्रियाभित्र जन्मिन्छौँ । तर, हामीलाई भौतिक उत्पादनमा भन्दा राजनीति र संस्कृतिको जड ‘विचार’ मा केन्द्रित हुने बानी लाग्छ । माक्र्सले तर्क गर्नुभयो – ‘शासक वर्गका विचारहरू’ समग्र युगको ‘साझा विचार’ बन्न पुग्छ । हामीले विद्यालयमा के सिक्ने भन्ने कुरा उत्पादक शक्तिका मालिकहरूले तय गर्छन् । उनीहरूले मिडिया किन्छन् । सार्वजनिक मञ्चहरूमा हुने बहस उनीहरूको इसारामा चल्छ । आफ्ना निश्चित भौतिक स्वार्थहरूलाई उनीहरूले सनातन सत्यको रूपमा प्रस्तुत गर्छन् । उनीहरूको प्रस्तुति प्रभावकारी पनि हुन्छ ।
यसरी हेर्दा हामी देख्छौँ – इतिहास भनेको विचारहरूको साकार रूप होइन† बरू वर्गसङ्घर्षको ‘वास्तविक चाल’ हो । उत्पादन र विचारको बन्दोवस्तीलाई जगैबाट परिवर्तन गर्नुपर्छ । नत्र हामी सतही सुधारले पालैपालो ल्याइरहने विफलताहरूमा रूमल्लिइरहनेछौँ । हामी आफ्नो जीवनलाई उत्पादन गर्ने प्रक्रियाको मालिक बन्नुपर्छ । नत्र हामीलाई यो प्रक्रियाको मालिक भइबसेका शासकहरूको विचारले शासन गरिरहनेछ† शासकहरूका विचार नै हाम्रा मालिक भइराख्नेछन् ।
टिपोट :
१. विचारले हाम्रो भौतिक यथार्थमा प्रभाव पार्न सक्दैन भनेर माक्र्सले कहिल्यै सोच्नुभएन । (जस्तो, मानिसहरू ईश्वरमा आस्था राख्छन् । यस्ता अनेक विचारले भौतिक रूपमा वास्तवमै प्रभाव पार्छन् !) बरू, माक्र्सले तर्क गर्नुभयो – भौतिक आवश्यकता पूरा गर्नका लागि विचारलाई व्यवहारमा ल्याइन्छ भने मात्र त्यसले सामाजिक यथार्थको रूपमा लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *