भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
बुर्किनाफासोका राष्ट्रपति इब्राहिम त्राओरेको पछिल्लो अन्तर्वार्ता भाइरल भयो । यसपछि त्यो अन्तर्वार्ताबारे विश्वभरि चर्चा हुँदै छ । पश्चिमा मिडियाहरूले त्राओरेलाई प्रजातन्त्रविरोधी भनेर हेडलाइन लेखे । कतिपयले ‘त्राओरे आजीवन सैन्य शासन थोपर्ने ताकमा छन्’ समेत भने । यी विश्लेषणहरू सनसनीपूर्ण छन्, तर भ्रामक छन् । पश्चिमा मिडियाहरूले त्राओरेको भनाइलाई राजनीतिक, ऐतिहासिक र भौतिक पृष्ठभूमिबाट अलग्याउन खोज्दै छन् । पश्चिम अफ्रिकाको साहेल क्षेत्रको इतिहास नबुझी त्राओरेको भनाइ बुझ्न सकिन्न ।
लोकतन्त्र चाहिन्छ, तर कस्तो लोकतन्त्र ?
त्राओरेको भनाइ हावादारी थिएन । देशको सुरक्षा, सार्वभौमिकता र अस्तित्वको विषयमा छलफल हुँदै गर्दा उनले त्यसो भनेका थिए । साहेल क्षेत्र अनेक सशस्त्र विद्रोहहरूबाट आक्रान्त छ । खासगरी आतङ्ककारी समूह अल–कायदासँग जोडिएका जिहादी समूहहरूले साहेल क्षेत्रलाई धेरै वर्षदेखि अस्थिर बनाउँदै आएका छन् । साहेल देशहरूमा स्थायित्वको सङ्कट छ ।
अन्तर्वार्तामा त्राओरेलाई निर्वाचनको बारेमा प्रश्न गरियो । भर्खरै बनेको क्रान्तिकारी बडापत्रले उनलाई शासन लम्ब्याउन दिन्छ कि दिन्न भनी सोधियो । यहीनिर लोकतन्त्रको प्रश्न उठेको थियो ।
जवाफमा उनले तत्काललाई निर्वाचन चासोको विषय नभएको बताए । बुर्किनाफासो देश अहिले अस्तित्वको सङ्कटमा छ । यी खतराको सामना गर्नु र राज्यको पुनर्निमाण गर्नु नै अहिलेको प्राथमिक कार्य हो । यही पृष्ठभूमिमा रहेर त्राओरेले ‘जनताले अहिले लोकतन्त्रलाई बिर्सनुपर्छ’ भनेका थिए ।
त्राओरेले भने, “हामीले सत्य बोल्नैपर्छ । यस्ता मानिसहरूले देखाउने गरेको लोकतन्त्र हाम्रा लागि होइन । यसमा हाम्रो चासो छैन ।”
हो, त्राओरेले ‘लोकतन्त्र हाम्रो लागि होइन’ भने । यो हावादारी भनाइ होइन । उनले एउटा मोडलको आलोचना गरेका हुन् – पश्चिमा उदारवादी प्रजातन्त्रको मोडल । पश्चिमा देशहरूले यो मोडललाई जबरजस्ती अफ्रिकामाथि थोपरेका थिए । राजनीतिक हस्तक्षेप, बल प्रयोग र आर्थिक सहयोग दिँदा सर्त राखेर अफ्रिकामा यो मोडल लागू गरिएको थियो ।
उनले लिबियाको उदाहरण दिए । नेटो देशहरूले लिबियामा हस्तक्षेप गरे, त्यो देशलाई ध्वस्त पारे । अफ्रिका महादेशभरि नै यो उदाहरण फिट खान्छ । त्राओरेका लागि लिबिया एउटा खतराको घण्टी हो । हो, लिबियाका आफ्नै आन्तरिक अन्तर्विरोधहरू थिए । तर, ‘लोकतन्त्र/प्रजातन्त्र’ को नाममा त्यो देशलाई ध्वस्त पारियो । अहिले लिबिया अराजकता, विस्थापन र मानवीय सङ्कटले आक्रान्त छ ।
त्राओरेले भने, “हामीले काम गर्ने तरिकालाई जरैबाट बदल्न जरुरी छ । तर, त्यो भन्दा महत्वपूर्ण हामीले जनताको मनोदशा बदल्नुपर्छ किनभने जनताले आफ्नो आँखा खोल्न जरुरी छ, संसारलाई आफ्नै आँखाले देख्न जरुरी छ । अनि मात्र हामी फेरिफेरि जालमा पर्नबाट जोगिन सक्छौँ । जनता नायक हुन्, लोकतन्त्र दासत्व हो । संसारमा कहीँ पनि लोकतन्त्र छैन । लोकतन्त्र भएजस्तो नाटक मात्र गर्छन् तिनीहरू । तिनीहरू मनपरी गर्छन् । आफूले भनेजस्तो गराउन तिनीहरूले मान्छे मार्छन् । लोकतन्त्रले मान्छे मार्छ । हामीलाई लोकतन्त्र चाहिन्न । हे भगवान् ! हामीलाई यस्तो लोकतन्त्रबाट बचाऊ । हामी आफ्नै यात्रामा छौँ; देशको पुनर्निमाणमा केन्द्रित छौँ; क्रान्तिमा केन्द्रित छौँ । यो यात्राबाट मात्र विकास सम्भव छ ।”
‘लोकतन्त्रले मान्छे मार्छ’ भन्दै गर्दा त्राओरेले ‘लोकतन्त्र’ लाई प्रयोग गरेर अवैध रूपमा अरु देशमा सत्तापलट गर्ने, तिनलाई तखतमा राख्ने र हिंस्रक उपायबाट राज्यको पुनर्संरचना गर्ने भूराजनीतिक खेलको निन्दा गरेका हुन् । भेनेजुयला र इरानमा अहिले यही खेल खेलिँदै छ । नेताहरू ‘अलोकतान्त्रिक’ भए भन्दै अमेरिकाले आफ्नो हस्तक्षेपलाई उचित ठह¥याउँदै छ ।
त्राओरेको भनाइलाई साहेल क्षेत्रका देशहरूले भोगिरहेको सार्वभौमिकताको सङ्कटसँग जोडेर हेर्नुपर्छ । माली, नाइजर र बुर्किना फासोजस्ता देशले बारम्बार अस्थिरता, देशमा विदेशी सेनाको उपस्थिति र आर्थिक परनिर्भरताको भुमरी भोग्दै आएका छन् ।
यी देशहरूमा अहिले सैन्य नेतृत्वमा सरकार बनेका छन् । यी सरकारका आफ्नै चुनौतीहरू छन् । तर, जनताले नवउदारवादी शासन प्रणालीलाई अस्वीकार गरेको हुनाले यी सरकार बनेका हुन् । साहेल क्षेत्रमा खासगरी पूर्वउपनिवेशवादी देश फ्रान्सको पकड थियो ।
यही राजनीतिक भावभूमिबाट त्राओरे बोलिरहेका थिए । उनले ‘क्रान्ति’, ‘पुनर्निर्माण’ र ‘मनोदशा बदल्नुपर्ने’ मा जोड दिए । यसरी उनले बाहिरबाट थोपरिएको खोक्रो शासन मोडल तोड्न खोजे† पश्चिमा मोडललाई चुनौती दिए ।
साहेल क्षेत्रबारे गलत बुझाइ
त्राओरेको भनाइलाई उदार प्रजातन्त्रवादीहरूले अनेक कोणबाट व्याख्या गरेका छन् । तर, उनीहरूको व्याख्या निकै साँघुरो छ । पाठ्यपुस्तकमा लेखिने लोकतन्त्रको परिभाषा भट्याएर गरिने विश्लेषणको कुनै तुक छैन । जहाँ राज्य नै खतरामा हुन्छ, देशको भूभाग नियन्त्रणमा राख्न हम्मेहम्मे पर्छ, आन्तरिक राजनीतिमा विदेशीहरूको हालिमुहाली हुन्छ, त्यहाँ उनीहरूको व्याख्या र परिभाषाले काम गर्दैन ।
यसले गर्दा गलत व्याख्या र राजनीतिक वक्तव्यबाजी चल्छ । सबथोकलाई जबरजस्ती (अफ्रिकी) तानाशाहीसँग जोडिन्छ । यसरी सार्वभौमिकताको मूल मुद्दालाई ‘अलोकतान्त्रिक’ भन्दै अँध्यारो कुनामा मिल्क्याइन्छ ।
यही प्रवृत्ति अहिले अन्त पनि देखिँदै छ । युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले निर्वाचन पन्छाए । देश युद्धमय हुनाले उनले निर्वाचन नगराउने घोषणा गरे । हुन त युक्रेनको सन्दर्भ एकदम भिन्न छ । तर, सिद्धान्त एउटै हो । सङ्कटको बेला राजनीतिक प्रक्रियालाई पन्छाइएको छ । यहाँनिर पश्चिमा मिडियाले अफ्रिकाको भन्दा उल्टो कुरा गर्दै छन् । उनीहरूको भनाइमा सङ्गति देखिन्न ।
साहेल देशहरूले लिएको बाटो एकदम चुनौतीपूर्ण छ । राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरू छन् । त्राओरेको भनाइलाई खालि प्रजातन्त्रसँग जोड्नु मूल मर्मलाई ओझेल पार्नु हो । यहाँनिर ‘लोकतन्त्रविरुद्ध तानाशाही’ को भाष्य मात्र छैन; सार्वभौमसत्ता, विकास र आफ्नो राजनीतिक बाटो आफै तय गर्ने सामाजिक हकको सङ्घर्ष पनि जोडिएको छ ।
त्राओरेको भनाइलाई बुझ्न साहेल क्षेत्रलाई आजको आकार दिने ऐतिहासिक यथार्थलाई केलाउन जरुरी छ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply