भर्खरै :

माक्र्सको ‘स्पिसिज बिइङ’ के हो ?

  • बैशाख २, २०८३
  • डेनिस टालोन
  • विचार
माक्र्सको ‘स्पिसिज बिइङ’ के हो ?

कार्ल माक्र्सले ‘स्पिसिज बिइङ’
(species-being) को अवधारणा अघि सार्नुभयो । यसले मानिस र पृथ्वीको सम्बन्ध बुझ्न सहयोग गर्छ । ‘स्पिसिज बिइङ’ लाई नबुझी यो सम्बन्ध बुझ्न सकिन्न ।
“एउटा पशुले आफू र आफ्ना बालबच्चालाई तत्काल चाहिने चीज मात्र उत्पादन गर्छ । यसले एकतर्फी उत्पादन गर्छ । तर, मान्छेले चौतर्फी ढङ्गले उत्पादन गर्छ ।… मान्छेले सौन्दर्यका लागि पनि वस्तु पैदा गर्छ ।”
मलाई मानव जातिको ‘वास्तविक स्वभाव’ (true nature) बारे गफिन उति रुचि लाग्दैन । ‘मानव स्वभाव’ बारे गरिने दाबी वाहियात हो । हामी यी दाबीलाई प्रमाणित गर्न सक्दैनौँ । सके पनि हामी विकसित (evolve) हुँदै जाँदा त्यो ‘स्वभाव’ फेरिँदै जान्छ । मानिसहरू ‘हामी ‘स्वभाव’ ले नै लोभी हुन्छौँ’ भन्छन् । लौ यो दाबी सही भयो रे । तब मानव अस्तित्व कायम राख्न हामीले त्यो ‘स्वभाव’ लाई बदल्नुपर्छ । यस्ता दाबीहरूभन्दा बरु मलाई माक्र्सको विचार गजब लाग्छ । उहाँले ‘स्पिसिज बिइङ’ को अवधारणा अघि सार्नुभयो । यसको जग भौतिकवादी छ । कुरा यति मात्र छैन । पर्यावरणलाई पनि समेट्ने हुनाले मलाई यो विचार रोचक लाग्छ ।
‘स्पिसिज बिइङ’ भनेको के हो त ? माक्र्सको विचारमा मानिसको मूल
(essence) कुनै जड ‘स्वभाव’ होइन, बरु एक अन्तरनिर्भरता हो । यही अन्तरसम्बन्धले हाम्रो जैविक जीवन तय गर्छ । हामीले खानुपर्छ, सुत्नुपर्छ र बाँच्नलाई न्यानोपन चाहिन्छ । त्यही भएर हामी प्रकृतिका अंश हौँ । हामी प्रकृतिभन्दा माथि पनि होइनौँ, तल पनि होइनौँ । बरु हामी प्रकृतिमै छौँ† प्रकृतिकै हौँ । यो दोहोरो सम्बन्ध हो । (खेतीपाती आदिमार्फत) जमिनलाई बदल्दै गर्दा हामीले आफूलाई पनि बदल्छौँ । बाँच्नका लागि हामीले प्रकृतिसँग अन्तरक्रिया गर्नैपर्छ । हाम्रा भौतिक आवश्यकता छन् । हामी यी आवश्यकता परिपूर्ति गर्ने उपाय सोच्छौँ । त्यसपछि प्राकृतिक स्रोतसाधनबाट आफूलाई आवश्यक चीजबीज तयार गर्छौँ । प्रक्रिया पूरा हुन्छ । यो प्रक्रियालाई हामी ‘उत्पादन’ भन्छौँ । (हामीले प्रकृतिमा उत्पादन गर्छौँ, जवाफमा प्रकृतिले हामीलाई एक सामाजिक प्रणालीको रूपमा उत्पादन गर्छ ।) अर्को भाषामा भन्नुपर्दा प्रकृतिले हामीलाई सामाजिक रूपमा पुनरुत्पादन गर्छ । यही हो मूल–सत्य† यही हो ‘स्पिसिज बिइङ’ । यो अवधारणा कुनै अलौकिक वा आदर्शवादी जगमा उभिएको छैन । सत्य वा न्यायको कसी यहाँ काम लाग्दैन । बरु, यो अवधारणा भौतिक यथार्थको जगमा आधारित छ । यहाँ हाम्रो अस्तित्वको सवाल मात्र छैन । बरु योभन्दा धेरै गहिराइमा जान्छ ‘स्पिसिज बिइङ’ को अवधारणा ।
माक्र्सले तर्क गर्नुभयो – हामी उत्पादनबारे सोच्छौँ, योजना बनाउँछौँ र योजनाअनुसार काम गर्छौँ । यसले नै मानिसलाई अन्य पशुहरूबाट अलग बनाउँछ । पशुहरूले केवल बाँच्नका लागि एकतर्फी उत्पादन गर्छन् । मानिसले एकतर्फी र चौतर्फी उत्पादन गर्छ† आवश्यकता र आनन्दका लागि उत्पादन गर्छ । उत्पादन गर्दै गर्दा मानिसले वस्तुको पुनरुत्पादन मात्र गर्दैन । उसले समग्र समाज र प्रकृति जगतलाई पनि पुनरुत्पादन गर्छ । यो अविरल आदानप्रदानलाई माक्र्सले ‘सामाजिक मेटाबोलिज्म’ भन्नुभयो । यो एक भौतिक प्रक्रिया हो । यसमा मानिस र प्रकृतिले एकअर्कालाई उत्पादन र पुनरुत्पादन गरिरहन्छन् । उत्पादनको सार्वभौम क्षमता हो यो । यसले मानिस र प्रकृति दुवैलाई पुनरुत्पादन गरिरहन्छ । एक सुसङ्गत ‘सामाजिक मेटाबोलिज्म’ (social metabolism) यसरी नै चल्छ ।
यो ‘मेटाबोलिक सम्बन्ध’ उत्पादनभन्दा पनि गहिरो छ । माक्र्सको विचारमा एक अजैविक वस्तुको रूपमा प्रकृतिले जैविक आवश्यकता मात्र परिपूर्ति गर्दैन । प्रकृतिको छाप कला, विज्ञान र संस्कृतिमार्फत हाम्रो चेतनामा पस्छ । प्राकृतिक जगतसँग हाम्रा इन्द्रीयहरूको विशेष लगाव छ । यहीबाट हाम्रो बौद्धिक र सौन्दर्यात्मक अस्तित्व जन्मिन्छ । प्राकृतिक स्रोतसाधनलाई प्रायः अर्थतन्त्रको कच्चा पदार्थको रूपमा हेरिन्छ । खासमा यो मानव चेतनाको भौतिक आधार हो । प्रकृति (उत्पादनका लागि चाहिने) ‘औजारहरूको बाक्सा’ होइन । यो भौतिक र सामाजिक अस्तित्वका लागि चाहिने भौतिक आवश्यकता हो । हामी सोझो तालले औद्योगिक युग अघिको जस्तो प्रकृतिमा फर्किन सक्दैनौँ । तर, हामीले प्रकृतिसँग एकदम सचेत र सुसङ्गत सम्बन्ध कायम गर्ने अर्थतन्त्र निर्माण गर्न सक्छौँ ।
पुँजीवादी समाजमा आएर हामीले प्रकृतिसँगको हाम्रो घनिष्टता घटाएका छौँ† प्रकृतिसँगको आदानप्रदानलाई सामान्य जीवन निर्वाहमा सीमित गरेका छौँ । यसले गर्दा प्रकृति एक औजारमा फेरिएको छ† उत्पादनका लागि चाहिने कच्चा पदार्थमा फेरिएको छ । त्यही भएर माक्र्सले अलगाव (alienation) को चर्चा गर्दा त्यसको पर्यावरणीय आयाम पनि सँगै आउँछ । मानिस र प्रकृतिबिच सन्तुलन बिगार्नुको अर्थ मानिसलाई उसको आधारभूत अस्तित्व–चेतबाट अलग्याउनु पनि हो । समाजशास्त्री जोन बेलमी फोस्टरले यो अलग्याइलाई ‘मेटाबोलिक फाटो’
(metabolic rift) भन्नुभयो । समाज र प्रकृति दुवैलाई जोगाइराख्ने विशेष प्राकृतिक चक्रहरू छन् । यी चक्रमा आउने प्रणालीगत फाटो नै ‘मेटाबोलिक फाटो’ हो । यो फाटो पुँजीवादले पैदा गरेको हो । मेटाबोलिज्म (प्रकृति र मानिसको) आवश्यकताअनुरूप चल्नुपर्ने थियो । तर, पुँजीवादले यसलाई नाफाको दास बनायो ।
स्पिसिज–बिइङ (प्राचीन समाजको) कुनै नोस्टाल्जिक अवधारणा होइन । यो त भौतिकवादी अवधारणा हो । हामीले प्रकृतिलाई कसरी महत्व दिन्छौँ भन्ने प्रश्न गर्दैन यसले । यसले त हामीले प्रकृतिसँगको आफ्नो सम्बन्धलाई कसरी व्यवस्थित गर्छौँ भन्ने प्रश्न गर्छ । पुँजीवादी समाजमा यो व्यवस्थापन नाफाको वरिपरि घुम्छ । नाफाको यो खेलले ‘मेटाबोलिक फाटो’ ल्याउँछ । यसको विकल्प एक सचेत र सुसङ्गत ‘मेटाबोलिज्म’ हो । यसको लागि हामीले एउटा सत्यलाई स्वीकार्नै पर्छ – हामी प्राकृतिक जगतभन्दा माथि छैनौँ बरु भौतिक रूपमा हामी प्रकृतिका अंश हौँ ।
टिपोट :
१. स्पिसिज बिइङलाई ‘परमार्थ’ को रूपमा बुझ्नुहुँदैन । पुँजीवादले ‘मानव मूल–सत्यको अटल आदर्श’ लाई उल्लङ्घन गर्छ, त्यसैले यो गलत छ भन्ने निष्कर्षमा पुग्नुहुँदैन । ‘जर्मन विचारधारा’ नामक कृति लेखेपछि माक्र्सले विशुद्ध दार्शनिक लेखनीबाट आफूलाई टाढै राख्नुभयो । तर, भौतिकवादी सुझबुझ उहाँका पछिका रचनामा पनि कायम रह्यो । त्यो भौतिकवादी सुझबुझ भन्छ – मानव जातिलाई तिनका आवश्यकता र प्रकृतिसँगको तिनको मेटाबोलिक सम्बन्धले परिभाषित गर्छ । स्पिसिज–बिइङलाई दार्शनिक आदर्शका रूपमा हेर्ने होइन । बरु, यसलाई मेटाबोलिक सम्बन्धका आधारमा भौतिकवादी दृष्टिले हेर्नुपर्छ । त्यसरी हेर्दा माक्र्सले जसरी पुँजीवादको गहिरो आलोचना गर्नुभयो, त्यो पूर्णतः तर्कसङ्गत देखिन्छ । यसको अर्थ – पुँजीवाद आदर्शको बाटोमा नहिँडेको हुनाले ‘मेटाबोलिक फाटो’ आउने होइन । बरु, पुँजीवादले आफ्नो अस्तित्वका प्राकृतिक आधारहरूलाई भौतिक रूपमै बिथोल्ने हुनाले ‘मेटाबोलिक फाटो’ आउँछ । (अर्को शब्दमा भन्नुपर्दा ‘यो पुँजीवादको चाहनाको कुरा होइन, बरु पुँजीवादले अर्को चाहना राख्नै सक्दैन’ ।)
२. यो पूर्णतः सत्य होइन भन्ने आजभोलि प्रमाणित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *