सम्पदा संरक्षण र पुनःनिर्माण आउँदो पुस्ताको निम्ति हो, सम्पदा भनेको विदेशीको निम्ति होइन
- बैशाख ३, २०८३
भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा सरक्षणलगायत आप्mनै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मानिने हुँदा ख्वप अस्पताल निजीमा नभई प्रादेशिक अस्पताल सरह मान्यता दिन कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले प्राचीन सभ्यतासँग जोडेर यहाँको मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षण गर्दै आएकोमा खुसी व्यक्त गर्दै वाग्मती प्रदेशका ११९ वटा स्थानीय तहमध्ये जनताप्रति उत्तरदायी भएर कार्य गर्ने भक्तपुर नगरपालिका अग्रणी रहेको चर्चा गर्नुभयो ।
भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोगको लागि सधैँ तत्पर रहेको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरूले गरिबमुखी, आयमुखी र जिम्मेवारीपूर्वक सेवा गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले अघि सारेका सम्पदा पुनःनिर्माणलगायत विकास निर्माणको लागि सशर्त, समानीकरण वा समपूरक अनुदानको व्यवस्थाको लागि प्रदेशबाट आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर अवलोकन गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र ख्वप तिलगङ्गा आँखा अस्पतालको सेवा प्रवाह र सम्पदा संरक्षणबारे अवगत गराउँदै ख्वप अस्पतालमा दैनिक १२०० भन्दा बढी बिरामीहरूले उपचार सेवा प्राप्त गरिरहेको तथा ११ घण्टा ओपीडी सेवासहित ३६५ दिन खुल्ने एकमात्र अस्पताल भएको भए तापनि एमआरआई
मेसिनको अभावमा सेवाग्राहीहरूलाई उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवनलगायत महत्वपूर्ण आयोजनाहरूको बजेट व्यवस्थापनमा प्रदेश सरकारबाट थप आर्थिक अनुदानको व्यवस्था भएमा जनताको सेवा हुनेमा जोड दिनुभयो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षणलाई अगाडि बढाउँदै नगरवासीहरूको शिक्षा र स्वास्थ्यलाई ध्यान दिँंदै व्यापक जनताको हितको निम्ति काम गरिरहेको हुँदा यस अभियानलाई टेवा पु¥याउन प्रदेश स्तरबाट आगामी वार्षिक बजेटमा भक्तपुर नगरपालिकालाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले देशलाई विकासमा अग्रगति दिन वाग्मती प्रदेशबाट उल्लेखनीय र स्मरणीय कार्यहरू हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमपश्चात् नगर प्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नपाको तर्पmबाट प्रसिद्ध मयुर झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले आजै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, ख्वप कलेज अफ ल र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन पनि गर्नुभएको थियो ।
Leave a Reply