भर्खरै :

कम्युनिष्टहरू आमूल परिवर्तन चाहन्छन्

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूूँजीवादी दलको अन्तिम उद्देश्य हुनसक्छ तर कम्युनिष्टको होइन, हुँदैन । कम्युनिष्ट र काङ्ग्रेस मिलेर गरेको सङ्घर्षले देशमा राजतन्त्र अन्त्य भयो । तर राजतन्त्र अन्त्य हुनु नै आमूल परिवर्तन होइन । आफूलाई कम्युनिष्ट पार्टी दाबी गर्ने एमालेले यही व्यवस्थालाई व्यवहारतः अन्तिम उद्देश्य ठानेको छ । सत्तारुढ दलका नेताहरू अब देशमा कुनै सङ्घर्ष गर्न नपरेको र यही व्यवस्थाबाट मुलुक समृद्ध बनाउने उद्घोष गर्दै छन् । जनताका आधारभूत आवश्यकता पूर्ति नभइकन, रोजीरोटीको बन्दोबस्तसहितको आत्मनिर्भर नभएसम्म देश समृद्ध बन्दैन । दुई चार किलोमिटर पीच गरेर, दुई चार वटा पुल बनेर देश समृद्ध हुँदैन । समृद्ध देश बनाउन देशको अर्थतन्त्र मजबुत बनाउनुपर्छ । जनताको जीवन स्तर उठाउनुपर्छ । विज्ञान र प्रविधिको विकास हुनुपर्छ । तर देशमा अहिले त्यस्तो कुनै प्रगति भइरहेको छैन । व्यापक जनताको पक्षमा न ऐन कानुन बनेको छ न त सेवा नै भइरहेको छ ।
विदेशी सहयोग र पराधीन बजेटले पनि देश समृद्ध बन्दैन । समाजवादउन्मुख देशमा समाजवादउन्मुख संविधान बन्नुपर्ने हो, समाजवादउन्मुख बजेटको बन्दोबस्त हुनुपर्छ । सरकारले समाजवादउन्मुख बजेट बनाउने बताएको छ । सरकारले कस्तोखाले समाजवादउन्मुख बजेट ल्याउने हो ? सरकारको नजरमा कस्तो बजेट समाजवाद उन्मुख हुने हो ? सांसद र राजनीतिक विश्लेषकहरूबीच चर्चाको विषय बनेको छ । एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धन कम्युनिष्ट गठबन्धन होइन भन्ने एमाले अध्यक्ष ओलीले देशमा आमूल परिवर्तनको बाटो रोज्दैन भन्ने कुरा छर्लङ्ग छ । उनीहरूको उद्देश्य देश र जनताको हित होइन पद र पैसामा भुल्नु हो, लामो समयसम्म सरकारको नेतृत्व गरेर राज्यकोषबाट सेवा सुविधा लिनु हो ।
सच्चा कम्युनिष्ट पार्टीले कम्युनिष्टको नाउँमा पूँजीवादी राजनीति गर्ने दलको आलोचना गर्नुपर्छ, खोटो विचारको खण्डन गर्नुपर्छ । यसमा नेमकिपा सचेत छ । एमाले र माओवादी केन्द्रले पनि साँच्चै श्रमजीवी जनताको पक्षमा राजनीति गरुन् भन्ने चाहना असल कम्युनिष्टहरूको हुन्छ । एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू सच्चा कम्युनिष्टहरू हुन्, क्रान्तिकारीहरू हुन् भने देशमा आमूल परिवर्तनको निम्ति अघि बढ्नुपर्छ, परिवर्तन गर्न गाउँ–गाउँ र बस्तीबस्तीबाट सङ्गठन विस्तार गरेर जनतालाई कम्युनिष्ट बनाउनुपर्छ, कम्युनिष्टको सिद्धान्त र विचारप्रति निष्ठा बनाउनुपर्छ । तर ठूला दलका नेताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन्, गर्न चाहंदैनन् । पद र पैसाको लोभ देखाएर, धाक–धम्की दिएर, झूटको खेती गरेर परिर्वतन सम्भव छैन, देश समृद्ध बन्दैन । कम्युनिष्टको सिद्धान्त, विचार र समाजवादबारे बहुमत जनतालाई सचेत र सङ्गठित गरिनुपर्छ । नेमकिपाजस्तै अरु कम्युनिष्ट दलहरू पनि आमूल परिवर्तनको निम्ति अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *