विचार
- बैशाख ११, २०८३
विज्ञान र प्रविधिको विकासको यो चरमोत्कर्ष । मानौँ हामी त अब स्वर्गकै छेउछाउ पुगिसक्यौँ र भगवानलाई पनि ‘साइड’ लगाएर आफैँ ‘क्रिएटर’ बन्ने दौड जितिसक्यौँ ! हाम्रो विकास त ‘रकेट’ जस्तो आकाशतिर उड्दै छ, तर हाम्रो धैर्य र दिमाग भने ‘रबर’ जस्तो तन्किँदै–तन्किँदै एक दिन च्वाट्ट चुँडिने र ‘क्लाउड’ मा मिल्ने अवस्थामा आइपुगेको जस्तो लाग्छ । हामीलाई चाहिएको छ—छोटो, छिटो, र अति नै सजिलो । यति सजिलो कि, सकिन्छ भने हामी ‘सास’ फेर्ने र ‘खाना’ पचाउने काम पनि अरू नै कसैलाई ‘आउटसोर्स’ गरिदिऊँ ! आफू त बस, ‘इन्टरनेट’ को अतल गहिराइमा ‘डुबुल्की’ मारेर, ‘लाइक’ र ‘शेयर’ को खेती गर्दै बाँचिरहूँ ! हाम्रो यो नयाँ युगको सबैन्दा ठुलो ‘मन्त्र’ र ‘तन्त्र’ भनेकै ‘डाउनलोड’ हो । हामीलाई लाग्छ, यो संसार एउटा विशाल ‘सर्भर’ हो र हामी चाहिँ यसका ‘प्रिभिलेज्ड युजर’ । केही चाहियो ? बस, ‘सर्च’ गर र ‘डाउनलोड’ गरिहाल ! यो मानसिकताले हामीलाई कस्तो बनाइदिएको छ भने, अब हामी ‘सृष्टि’ होइन, बस ‘सिर्जना’ को ‘नक्कल’ र ‘डाउनलोड’ मा रम्न थालेका छौँ ।
कपडा धुन मेसिनमा हालिदियो, आफू भने मोबाइलको स्क्रिनमा ‘बरालियो’ । ट्याबमा ‘ट्याप–ट्याप’, हातमा कुनै ‘ग्याप’ छैन, तर दिमागमा भने ठुलै ‘खाडल’ परिसक्यो । मेसिन आफैँ बन्द हुन्छ, ‘काम’ सकिएपछि ‘धुन’ बज्छ । हामी त बस्, ‘नोटिफिकेसन’ को तालमा नाच्ने, ‘अपडेट’ को पर्खाइमा बस्ने र बेलाबेलामा ‘रिफ्रेस’ गरिरहने डिजिटल कठपुतली भइसक्यौँ । उड्ने, गुड्ने त पहिलेदेखि नै छँदै थिए, अब त कृत्रिम बुद्धिमत्ताको यस्तो बाढी आयो कि, हाम्रो ‘प्राकृतिक बुद्धिमत्ता’ त कुना पसेर, ‘घुँडा धसेर’ रोइरहेको छ । यो एआई पनि कस्तो ‘अजीब’ को चीज ! युद्ध गर्ने, सल्लाह दिने, लेख लेखिदिने, जे सोधे पनि ‘भनिदिने’ । यसरी हामीले हाम्रो दिमागलाई त मेसिनको ‘जिम्मा’ लगाइसक्यौँ । अब हामीले गर्ने चाहिँ के त ? सायद, हामी अब ‘दिमाग’ को ‘डेथ वारेन्ट’ मा हस्ताक्षर गरेर, ‘मेसिन’ को ‘मस्ती’ हेरेर बस्ने ‘दर्शक’ मात्र हौँ । हाम्रो दिमाग त अब ‘डाटा’ को ‘डम्पिङ साइट’ मात्र भएको छ, जहाँ नयाँ कुरा ‘उब्जाउने’ होइन, पुरानो कुरा ‘उजाड’ बनाउने र ‘रिसाइकल’ गर्ने काम भइरहेको छ ।
हामीलाई लाग्छ, हरेक कुरा ‘नेट’ बाटै ‘डाउनलोड’ गर्न सकिन्छ । ज्ञान चाहियो ? गुगलबाट ‘डाउनलोड’ ! सीप चाहियो ? युट्युबबाट ‘डाउनलोड’ ! भावना चाहियो ? इमोजी ‘डाउनलोड’ ¤ सम्बन्ध चाहियो ? डेटिङ एपबाट ‘प्रोफाइल’ ‘डाउनलोड’ ! हुँदा हुँदा, अब त मानिसहरू ‘खुसी’ र ‘शान्ति’ पनि ‘डाउनलोड’ गर्न खोज्दै छन् । एउटा ‘मेडिटेसन एप’ ‘डाउनलोड’ गरेर पाँच मिनेट ‘आँखा चिम्लेपछि’ लाग्छ–‘मोक्ष’ त मेरै ‘डाउनलोड फोल्डर’ मा आइपुग्यो ! कतिपयलाई त लाग्छ, सायद ‘खाना’ र ‘पानी’ पनि एक दिन ‘डाउनलोड’ गर्न मिल्नेछ । ‘भर्चुअल रियालिटी’ को चस्मा लाएर, ‘बिरयानी’ को ‘थ्रीडी मोडल’ ‘डाउनलोड’ गरेर, त्यसको ‘गन्ध’ सुँघेरै पेट भर्ने दिन धेरै टाढा छैन । आखिर, हामीलाई त ‘पचाउनु’ भन्दा ‘हेर्नु’ र ‘देखाउनु’ मा बढी रस छ । ‘इन्स्टाग्राम’ मा ‘खाएको’ फोटो हालेपछि पेट नभरे पनि ‘मन’ त भरिन्छ नि, हैन र ? यो ‘डाउनलोड’ को लतले हामीलाई ‘कर्मवीर’ होइन, ‘डाउनलोडवीर’ बनाएको छ । हामीलाई ‘मेहनत’ र ‘प्रतीक्षा’ को ‘बीउ’ रोप्न मनै लाग्दैन । हामी त कम्युटर/मोबाइलमा बसीबसी ‘तयारी फसल’ को ‘डाउनलोड लिङ्क’ खोजिरहन्छौँ । कसैले राम्रो ‘लेख’ लेख्न भन्यो, ‘डाउनलोड’ र ‘कपी–पेस्ट’ ! कसैले राम्रो ‘पेन्टिङ’ बनाउनु छ, ‘डाउनलोड’ र ‘प्रिन्ट’ ! हाम्रो आफ्नो ‘सिर्जनशीलता’ त अब ‘रिसाइकल बिन’ मा कुहिएर बसेको छ ।
हामीलाई लामो समय र प्रतीक्षा त मनै पर्दैन । खेतबारीमा अन्न उब्जन पाँच छ महिना लाग्छ रे ! लौ, कस्तो ‘झन्झट’ ! यतिन्जेल पर्खने हामीसँग समय कहाँ छ र ? हामी त ‘क्षणभर’ मै ‘रणवीर’ बन्न चाहने र ‘एक क्लिक’ मै ‘धनी’ बन्न खोज्ने जमात प¥यौँ । हामीलाई बोरामा चामल किचेनमै ‘फलाइदिने’ मानिस चाहिन्छ, तर खेतमा गएर धानको ‘बीउ’ रोप्ने, ‘पानी’ लाउने र ‘गोडमेल’ गर्ने कुरा त हाम्रो ‘शान’ र ‘मान’ को विरुद्ध भइहा्रल्छ नि ! दाउरा र चुलाको जमाना त ‘डायनासोर’ जस्तै भइसक्यो । ग्याँस पनि अब ‘अलि पुरानो’ भएर ‘बिस्तारै’ घरबाट ’विस्थापित’ हुँदै छ, किनकि अब ‘इन्डक्सन’ आइसक्यो, जसले एक ‘क्लिक’ मै ‘कराही’ तात्छ र अर्को ‘क्लिक’ मा ‘भातै’ पाक्छ । बारीमा उब्जाएको तरकारी पनि घामपानीमा ‘टिपेर’ र ‘चिमोटेर’ आफूले ल्याउनुभन्दा ‘अनलाइन’ बाट घरमै कसैलाई ‘ल्याइमाग्नु’ कता हो कता उत्तम ! आखिर, हामी त ‘अर्डर’ का ‘दास’, ’डेलिभरी’ का ‘आस’ न प¥यौँ ! अझ आधुनिक बुहारी परिन् भने त कुरा अर्कै छ ! “आज त सबै जना होटलमै गएर खाऊँ न है ! म माइतीलाई पैसा तिराउँछु” भन्न बेर छैन । यहाँ बुहारीलाई मात्र के दोष दिनु, घरका हरेक सदस्य ‘होम डेलिभरी’ को ‘लत’ मा परेका छन् । माइतीको त कुरै छाडौँ, अब त ‘बरु इन्द्रको बाउ चन्द्र’ लाई नै पनि पैसा तिराउनु परोस्, तर घरमा कहिले पनि रोटी नबेलियोस्, दुःख नझेलियोस् । सबैले रमाइलो गरून्, दुःख नगरून् । हाम्रो जिब्रोले नै अब ‘पोषण’ होइन, ‘स्वाद’, ‘सहजता’ र ‘देखावटी’ मात्र खोजिरहेको छ त !
विद्यार्थीलाई त झन् लामो प्रश्न होइन, ‘छोटो उत्तर’ र ‘मल्टिपल च्वाइस’ चाहिएको छ । ‘ज्ञान’ को ‘गहिराइ’ भन्दा ‘जानकारी’ को ‘सतह’ मा पौडिन हामीलाई आनन्द आउँछ । ‘रट्ने’ काम हामीलाई ‘राक्षस’ जस्तो लाग्छ तर ‘बुझ्न’ भने तुरुन्तै मन लाग्छ । परीक्षाको अघिल्लो रात ‘नेट’ बाट ‘गेस पेपर’ र ‘सोलुसन’ ‘डाउनलोड’ गरेर, ‘पास’ हुने ‘जुगाड’ लगाउनु नै हाम्रो शिक्षाको ‘परम लक्ष्य’ भएको छ । कर्मचारीलाई कागज, कलमै होइन, ‘कम्प्युटर’ ले काम गर्ने दिन आए । ‘फाइल’ को ‘चाङ’ भन्दा ‘फोल्डर’ को ‘भण्डार’ मा हराउन सजिलो छ । ‘बोस’ को ‘गाली’ खानुभन्दा ‘इमेल’ को ‘रिप्लाइ’ दिन सजिलो छ । विकसित देशमा कृषिका कठिन कार्य पनि मेसिनले गर्ने दिन आइसके । मानिस त बस्, ‘बटन’ दबाउने र ‘स्क्रिन’ हेर्ने ‘बाहुबली’ मात्र भएका छन् । माटोमा त अब कोही पनि काम नगर्ने भएपछि अवस्था कस्तो होला, कल्पना गर्नुहोस् त ! एक दिन ‘गहुँ’ र ‘धान’ को ’थ्रीडी मोडल’ ‘डाउनलोड’ गरेर, ‘फ्याक्ट्री’ मा ‘प्रिन्ट’ गरेर खाने दिन नआउला भन्न सकिएन ।
हुँदा हुँदा अब कुनै दिन यस्तो पनि आउला जहाँ खानेकुरा खान पनि, संसारमा खाने कुरा पर्याप्त नभएर वा खान समय लाग्ने भएर यसो गन्ध लिएका भरमा वा ‘भर्चुअल’ स्वाद चाखेका भरमा ‘अघाउँजी’ भइएला । ‘सुँघेर’ अघाउने, ‘हेरेर’ पेट भर्ने, र ‘पोस्ट’ गरेर ‘मन’ शान्त पार्ने भएपछि हाम्रो जीवन कस्तो होला त ? सायद, एक दिन हामी यस्ता ‘मेसिन’ र ‘रोबोट’ बन्नेछौँ, जसको ‘उठेको ठुलो भाग्य’ त हुनेछ, तर ‘सोच्ने दिमाग’ र ‘भावुक मन’ भने हुने छैन ।
यतिन्जेल यो लामो ‘आत्मपुराण’ अर्थात् आफ्नै पुराण सुनेर तपाईंलाई हतार भयो होला । तर, तपाईंले यो लेख ‘पढ्नुभयो’ होइन, बस यसो ‘हेर्नुभयो’ मात्र होला वा सायद, कसैले ‘पढेको’ ‘अडियो’ ‘डाउनलोड’ गरेर ‘सुन्नुभयो’ होला ¤ किनकि अचेल कसैसँग ‘पढ्ने’ र ‘सोच्ने’ समय कहाँ छ र ? बस, ‘स्क्रोल’ गर्ने, ‘लाइक’ गर्ने, ‘शेयर’ गर्ने, र ‘बिर्सने’ ! हाम्रो दिमाग त अब अन्तै कताकता ‘अपलोड’ भइसक्यो, अब त हामी ‘शरीर’ मात्र हौँ, जो ‘मोबाइल चार्ज’ हुँदा ‘हाँस्छ’ र ‘डिस्चार्ज’ हुँदा ‘रिसाउँछ’ । विकासको यो ‘दौड’ र ‘डाउनलोड’ को ‘हैरानी’ मा हामीले ‘दिमाग’ र ‘मानवीयता’ लाई त गुमायौँ नै । सायद अब ‘शरीर’ र ‘अस्तित्व’ पनि ‘गुमाउने’ पालो आउँदै छ । तर के भन्नु, आखिर हामीलाई ‘सजिलो’ र ‘छिटो’ न चाहिएको हो !
जय होस् यो ‘डिजिटल दासता’ र ‘डाउनलोड’ को व्यस्तता । जय होस् हाम्रो यो ‘फुटेको दिमाग’ को सोच–जसलाई ‘मेसिन’ ले चलाउँछ, ‘नेट’ ले नचाउँछ र ‘इन्टरनेट’ ले नै बचाउँछ (भनेर हामी भ्रममा छौँ) !
Leave a Reply