भर्खरै :

इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास

इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास

वासिङटन, २५ वैशाख (एएफपी) । हर्मुज जलडमरु क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबिच फेरि गोलाबारी भएपछि केही साताअघि कायम गरिएको युद्धविराममाथि गम्भीर प्रश्न उठेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गरे पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाएका छन् । यसले मध्यपूर्वमा फेरि ठुलो द्वन्द्व भड्किने चिन्ता बढाएको छ ।
इरानी सैन्य बलले हर्मुज जलडमरु क्षेत्रमा गस्तीमा रहेका तीन अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गर्दै मिसाइल, ड्रोन तथा साना डुङ्गामार्फत आक्रमण गरेको थियो । अमेरिकी सेनाले सबै आक्रमण विफल पारिएको दाबी गर्दै त्यसको जवाफमा इरानका सैन्य संरचना र सुविधामाथि कारबाही गरिएको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा अमेरिकी जहाजमा कुनै क्षति नभएको उल्लेख गरिएको छ ।
सेन्टकमले आफूहरू तनाव बढाउने पक्षमा नरहेको तर अमेरिकी सैनिक र सामरिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य भएको भनी सफाइ दिएको छ । यद्यपि तेहरानले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गरेको स्पष्ट पारेको छ । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी पक्षले तेल ट्याङ्कर तथा अन्य जहाजमाथि आक्रमण गरेपछि प्रतिशोधस्वरूप अमेरिकी युद्धपोतलाई निशाना बनाइएको जनाएको छ ।
अप्रिल ८ देखि लागू भएको युद्धविरामले केही समयका लागि अमेरिका–इजरायल र इरानबिचको प्रत्यक्ष तनावलाई रोक्ने आशा जगाएको थियो । तर, पछिल्लो भिडन्तले त्यो सहमति अत्यन्त कमजोर अवस्थामा पुगेको सङ्केत दिएको विश्लेषण गरिएको छ । युद्धविरामअघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा आणविक पूर्वाधारमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि इरानले रणनीतिक महत्व बोकेको हर्मुज जलडमरु क्षेत्रमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणलाई रोक्ने प्रयास गरिरहेको जनाएको छ । यस घटनाले खाडी क्षेत्रका अन्य मुलुकहरू पनि प्रत्यक्ष रूपमा द्वन्द्वको प्रभावमा पर्न थालेको देखिएको छ ।
यसबिच इरानले अझै अन्तिम निर्णय नगरेको सङ्केत दिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानले आफ्नो धारणा अन्तिम रूप दिएपछि मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानलाई आधिकारिक जानकारी गराइने बताए । पाकिस्तानले अमेरिका र इरानबिचको तनाव कम गर्न केही सातायता सक्रिय पहल गर्दै आएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियामा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गरे । तर, त्यसको केही घण्टामै समुद्री क्षेत्रमा फेरि भिडन्त सुरु भएपछि कूटनीतिक प्रयास कमजोर बनेको देखिएको छ ।
इरान–अमेरिका तनावको असर लेबनानसम्म फैलिएको छ । दक्षिणी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएपछि त्यहाँको युद्धविराम पनि फेरि सङ्कटमा परेको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायल र लेबनानबिच नयाँ चरणको वार्ता मे १४ र १५ मा हुने पुष्टि गरेका छन् । पछिल्ला महिनाहरूमा ती दुई देशबिच हुने यो तेस्रो औपचारिक वार्ता हो ।
युद्धविराम विस्तार गरिए पनि इजरायलले दक्षिणी लेबनानका केही क्षेत्रमा सैन्य उपस्थिति कायम राख्दै आएको छ । इजरायली सेनाले आफ्ना सैनिकमाथि आक्रमण गरेको आरोप लगाउँदै हिजबुल्लाहका संरचनामाथि आक्रमण जारी राखेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबिचको युद्धपछि हर्मुज जलघाँटी क्षेत्र विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिका लागि सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा परिणत भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार द्वन्द्वका कारण करिब एक हजार ५०० जहाज र २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय चालक दल खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *