भर्खरै :

चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्न नहुने

चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्न नहुने

भक्तपुर, २५ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खाने शैलीको वैज्ञानिक प्रयोगले शरीरलाई स्वस्थ र निरोगी बनाउने बताउँदै शरीरलाई निरोगी बनाउने खानेकुरा सेवनमा जोड दिनुपर्ने बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा भएको ‘भान्साघर औषधालय कार्यक्रम’ को अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भान्सा घरलाई औषधालय बनाउन सकिन्छ भन्दै चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्न नहुने बताउनुभयो ।
उहाँले स्वास्थ्य नै ठुलो धन हो भन्दै स्वस्थ जीवनशैलीको लागि शारीरिक व्यायाम र आफ्नो भान्सालाई नै औषधालयको रूपमा प्रयोग गर्न सकिए उपयुक्त हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले नसर्ने रोगको जोखिम बढेसँगै नागरिकहरू आफ्नो स्वास्थ्यप्रति सजग र संवेदनशील बनिरहेको सन्दर्भमा भान्साघरलाई औषधालयको रूपमा ग्रहण गरी स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका कार्यालय प्रमुख डा. नदन कँडेलले ‘भान्साघर औषधालय’ विषयमा प्रस्तुतीकरण दिई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
नगरभित्रका आमा समूह र स्वास्थ्य स्वयम्सेविकाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका कविराज रवीन्द्रप्रसाद भट्टले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *