भर्खरै :

भक्तपुर नगरपालिका वडा नं. १ मा १० दिने उद्घोषण (एमसी) तालिम सुरु

भक्तपुर नगरपालिका वडा नं. १ मा १० दिने उद्घोषण (एमसी) तालिम सुरु

भक्तपुर, वैशाख २५ । भक्तपुर नगरपालिका वडा नं. १ मा बिहीबारदेखि १० दिने उद्घोषण (एमसी) तालिम सुरु भएको छ । युवाहरूको सार्वजनिक बोल्ने कला, आत्मविश्वास तथा सञ्चार क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त कार्यक्रममा उहाँले कार्यक्रम सफल बनाउने महत्वपूर्ण जिम्मेवारी उद्घोषकको हुने बताउनुभयो । “कार्यक्रममा जति नै राम्रो वक्ता भए पनि कार्यक्रमलाई प्रभावकारी बनाउने वा नबनाउने भूमिका उद्घोषकमै निर्भर हुन्छ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय उद्घोषण क्षेत्र व्यवसायिक बन्दै गएको उल्लेख गर्दै उहाँले तालिममा सहभागी युवाहरूले भविष्यमा यसलाई पेसाका रूपमा अघि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले युवामैत्री तथा सीपमूलक विभिन्न व्यवसायिक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले प्रशासनिक सेवा मात्र नभई वडावासीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले १० दिने उक्त तालिमले सहभागी युवाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै प्रभावकारी बोल्ने कला विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा रेडियो कान्तिपुरका सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता किरण सुवाल प्रशिक्षकको रूपमा रहनुभएको छ । तालिममार्फत सहभागीहरूलाई मञ्च सञ्चालन, प्रभावकारी प्रस्तुति कला, स्रोतासँगको अन्तरक्रिया तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा वडा नं. १ शिक्षा समितिका सदस्य लक्ष्मीसुन्दर सुवाल र वडा सचिव विजय लोहलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *