भर्खरै :

उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी

उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी

भक्तपुर, १ जेठ । सरस्वती विद्यागृह मा.वि.ले एसईई उत्तीर्ण सफल विद्यार्थीहरूको लागि बधाई, नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईईपछि अध्ययन गर्ने विषय सबै भक्तपुर नगरमा रहेको स्पष्ट पार्दै उत्तीर्ण विद्यार्थीलाई भक्तपुरमै पढ्न सुझाव दिनुभयो ।
आफू के बन्न लक्ष्य लिएको हो सोहीअनुसारको विषय चयन गर्नुपर्ने र उद्देश्य प्राप्तिको लागि निरन्तर मेहनत गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
विषय चयन गर्दा आफ्नो रूचि, क्षमता र आर्थिक अवस्था हेरेर गर्न सकेपछि पछुटाउन नपर्ने र रहरले मात्र अध्ययन गर्न नहुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाले उच्च शिक्षाको लागि विभिन्न कलेज सञ्चालन गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गरिरहेको छ ।”
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले सार्वजनिक विद्यालयको गुणस्तर कायम गर्ने उद्देश्यसहित दत्तात्रय आधारभूत विद्यालय, सरस्वती विद्यागृह मावि र वागीश्वरी माविले सहकार्य गर्दै आएको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रअ गनुराज राईले स्वागत गर्दै विद्यार्थी र शिक्षकहरूको मेहनतकै कारण विद्यालयको एसईईको नतिजा राम्रो हुँदै आएको र आगामी वर्षमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी सबिता श्रेष्ठले विद्यालयमा अध्ययन गर्दाको अनुभव राख्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूले एसईई उत्तीर्ण विद्यार्थीलाई खादा, मायाको चिनोसहित सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *