भर्खरै :

सरकारी नीति तथा कार्यक्रम कम्युनिष्ट आचरणको हुनुपर्छ

एमाले र माओवादी केन्द्र विघटन गरी गठित नेपाल कम्युनिष्ट पार्टी ठूलो बनेकोमा ओली र प्रचण्डमा एकाएक अभिमानीको पारो चढेको छ । एसियाको तेस्रो ठूलो र दक्षिण एसियाको पहिलो दल भन्न भ्याएका नेताहरूले ठूला दलको अभिमानी गरेर समाजवादको जग हाल्ने सुर पनि कसे । इतिहासमै शक्तिशाली पार्टी गठन गर्ने नेताहरूको नेतृत्वमा रहेको सरकारको नीति तथा कार्यक्रम र सो कार्यक्रमको आधारमा तयार हुने बजेट कम्युनिष्टको सिद्धान्त र विचारसित कतिको मिल्छ ? ठूलो दलकै तक्मा भिरेर आफूलाई सही र सच्चाइको परिचय दिन पछि नपर्ने नेपाल कम्युनिष्ट पार्टीले श्रमजीवी वर्गको पक्षमा राजनीति गरेन भने उनीहरूको सपना सबै वर्षामा आउने भेलले बगाउन के बेर ?
कम्युनिष्टको सत्मार्गमा नेकपा अघि बढ्नुपर्छ । कम्युनिष्ट पार्टीको सरकार कुनै देशको अगाडि झुक्दैन, झुक्नु हुँदैन । कम्युनिष्ट पार्टीले कम्युनिष्टविरोधी भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्छ । कुनै विस्तारवादी र साम्राज्यवादी देशले अर्को कुनै स्वाधीन तथा सार्वभौम देशमाथि आक्रमण गर्छ, हस्तक्षेप गर्छ या नाकाबन्दी गर्छ भने कम्युनिष्ट पार्टीको सरकारले विरोध गर्छ, गर्नुपर्छ । चीन, क्युवा, प्रजग कोरियालाई दुःख दिने साम्राज्यवादी देश अमेरिकाले नेपाललाई दुःख दिंदैन भन्न सकिंदैन ।
समाजवादउन्मुख सरकारी नीति तथा कार्यक्रम बनाएर देशमा समाजवादको जग तयार गर्ने हो भने मावि तहसम्म अनिवार्य र निःशुल्क शिक्षा तथा उच्च शिक्षासम्म निःशुल्क गरिनुपर्छ । हाल सञ्चालनमा रहेका सरकारी सङ्घ संस्थाहरूलाई सरकारले अझ व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ । खानेपानीको निजीकरणलाई सरकारीकरण गरिनुपर्छ । गाउँपालिका र नगरपालिकाहरूमा शिशुशाला तथा शिशु स्याहार केन्द्र खोलिनुपर्छ । कामको सिलसिलामा विदेशिएका युवायुवतीहरूलाई स्वदेशमै फर्काएर रोजगारीको बन्दोबस्त गरिनुपर्छ । देशभर चलाइएका निजी विद्यालयहरूलाई पनि सरकारीकरण गरी सामुदायिक विद्यालयको रूपमा सञ्चालन गरिनुपर्छ । यस्ता नीति तथा कार्यक्रम ल्याइएमात्र नेपाल समाजवादउन्मुख देश बन्छ अनि समाजवादको जग तयार हुन्छ ।
सरकारले नीति तथा कार्यक्रममा यस्ता कुनै प्रावधानको बन्दोबस्त गर्दैन भने नेकपाले अघि बढाउने भनिएको समाजवादउन्मुख कुरा र समाजवादको जग तयार गर्ने कुरा फुस्रो सावित हुन्छ । कम्युनिष्टको बखान गरेर पुँजीपति वर्गकै पृष्ठपोषण गर्छ भने त्यो सच्चा कम्युनिष्ट पार्टी हुनेछैन । नेकपाको मार्गनिर्देशक माक्र्सवाद–लेनिनवाद देखाउने दाँतमात्र सावित हुन्छ । माक्र्सवाद र लेनिनवादलाई नेपालको माटो सुहाउँदो व्यवहारमा लाने काम नेकपाले गर्नुपर्छ अन्यथा नेकपा कम्युनिष्ट पार्टीविरोधी हुनेछ । कम्युनिष्टले कम्युनिष्टको नाउँमा कम्युनिष्टको सिद्धान्त र विचार तोडमोड गर्ने काम नक्कली कम्युनिष्ट पार्टीले मात्र गर्छ । नेपालमा हाल गठित नेकपा त्यस्तो नहोस् ।
–मेरिना शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *