विद्यार्थीले आफ्नो क्षमता, सिर्जनशीलता, नेतृत्व पहिचान गरेर उच्च शिक्षा अध्ययन गर्नुपर्ने
- जेष्ठ १७, २०८३
मध्यपुर, १७ जेठ । नगदेश सामुदायिक सिकाइ केन्द्रको आयोजनामा २०८२ सालमा माध्यमिक शिक्षा परीक्षा एसईई दिई २०८३ सालमा उत्तीर्ण मध्यपुर नपा वडा नं. ७ नगदेश क्षेत्रका बसोबास गर्ने सबै विद्यार्थी र बैठक निर्णय माइन्यूट लेखन तालिममा सहभागी मध्यपुर नगरका महिला समूहका सहभागीहरूलाई बधाई पत्र तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संविधानसभाका सदस्य अनुराधा थापामगरले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आफूले ग्रहण गरेको शिक्षा आफ्नो समाज र राष्ट्रको हित हुने काममा लगाउनुपर्ने बताउनुभयो । विद्यार्थी तथा प्रवुद्धवर्गले देशप्रति जिम्मेवार भएर नसोच्ने हो भने देशको भविष्य अनिश्चय हुने पनि उहाँले औँल्याउनुभयो ।
मध्यपुर नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आफू ख्वप कलेजको विद्यार्थी भएको स्मरण गर्दै भक्तपुर नपामा जस्तै मध्यपुरमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा विकास गर्न भरमग्दुर लागिपरेको बताउनुभयो ।
सिकाइ केन्द्रका अध्यक्ष विक्रम वैद्यको सभापतित्वमा भएको कार्यक्रममा गणेश माध्यमिक विद्यालयका निवृत्त प्रधानाध्यापक रञ्जनादेवी प्रधानाङ्ग, सोही विद्यालयका प्रधानाध्यापक विजयचरण श्रेष्ठ, निवृत्त शिक्षा अधिकृत नेत्रप्रसाद दाहाल, जन्मभूमि बोदे पुस्तकालयका संरक्षक सजीव श्रेष्ठ, वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का सदस्य कृष्णगोविन्द लाखाजु र शिक्षिका रश्मी तकोले पनि उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै पढाइको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा अतिथि थापामगरले उत्कृष्ट अङ्कका साथ उत्तीर्ण विद्यालयहरूमध्ये सामुदायिक विद्यालयबाट उत्तीर्ण दिया गिरी, संस्थागत विद्यालयबाट उत्तीर्ण लुमु कालु र जसिस हाँय्जुलाई विशेष कदर पत्रबाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा गणेश माध्यमिक विद्यालय, हिमचुली एकेडेमी, लर्डबुद्ध इङलिस स्कूल, ग्लाडस्टोन एकेडेमी, सुप्रिम एकेडेमी, विनायक शिक्षा निकेतन, क्रिएटिभ लनर्स एकेडेमी र रोजबड स्कूलबाट उत्तीर्ण ५५ जना विद्यार्थी सम्मानित भएका थिए ।
Leave a Reply