भर्खरै :

सिद्धि गणेश साकोसको आयोजनामा हाडजोर्नी तथा नसा रोगसम्बन्धी स्वास्थ्य शिविर

सिद्धि गणेश साकोसको आयोजनामा हाडजोर्नी तथा नसा रोगसम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, २२ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा विश्व वातावरण दिवसको अवसरमा हाडजोर्नी तथा नसा रोगसम्बन्धी स्वास्थ्य शिविर र डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम यातु गणेश मन्दिर परिसर, कमलविनायकमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक क्षेत्रको सेवाका निम्ति निरन्तर लागिरहेको र विभिन्न शिविर, सीपमूलक, आयमूलक तथा क्षमता अभिवृद्धिका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले सहकारी क्षेत्रको नियमन गर्न स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएका निर्देशनहरूबारे जानकारी दिँदै सहकारी ऐन २०७४ मा उल्लेख भएको एक सदस्य एक संस्थाको व्यवस्थालाई हाल कडाइका साथ लागू गर्न निर्देशन भएको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य तुल्सीदास दुमरुले व्यक्ति स्वस्थ भए मात्र आय आर्जनका कार्य गर्न सकिने भन्दै संस्थाले सदस्यहरूको स्वास्थ्यलाई मध्यनजर गरी सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ मुटुरोगसम्बन्धी सेवा, फिजियोथेरापी सेवा, डेन्टल सेवा र जनरल स्वास्थ्य सेवा न्यून शल्कबाट प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
ख्वप अस्पतालका डा. श्रीकृष्ण अवालले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले पहिले धेरै गर्मी हुने तराई क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमण भएका लामखुट्टे देखापर्नेमा हाल पहाडी क्षेत्रहरूमा पनि सो लामखुट्टेहरू देखापर्न थालेको बताउँदै पत्रु खानपान गर्मी मौसममा विभिन्न रोगको कारण हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँले आफूले सेवन गर्ने खानपानमा ध्यान दिए ८० प्रतिशत रोग लाग्ने सम्भावना कम हुने जानकारी दिनुभयो । उहाँले महिलाहरूको महिनावारी रोकिएपछि हाडजोर्नीका समस्याहरू देखापर्नेबारे प्रस्ट पार्दै हाडजोर्नीसम्बन्धी उपचार स्वास्थ्य बीमाअन्तर्गत पर्ने भएकोले स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्नेमा जोेड दिनुभयो ।
उहाँले हात खुट्टा भाचिएको अवस्थामा बिरामीको हात खुट्टा चलाउँदा भित्री चोटपटक लाग्न सक्ने र धेरै कसिएर ब्यान्डेजहरू लगाउँदा नसाले काम नगर्ने सम्भावना हुने बताउँदै चिकित्सकको सल्लाहबिना उपचार र औषधि सेवन गर्नु घातक हुने उल्लेख गर्नुभयोे ।
ख्वप अस्पतालका नर्सिङ अधिकृत रचना सुवालले डेङ्गु रोग पोठी लामखुट्टेको टोकाइबाट हुने जानकारी दिँदै स्थिर जलस्रोतमा लामखुट्टेले एकपटकमा २० देखि २०० वटासम्म अण्डा दिने हुँदा डेङ्गु रोगको सङ्क्रमणबाट बच्न नियमित सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डेङ्गु रोगको रोकथामका लागि सुत्दा झुलको प्रयोग, घरको झ्यालमा जालीको प्रयोग तथा नियमित घर वरपर सरसफाइ गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको स्वास्थ्य बचतको विशेषताबारे जानकारी दिँदै सदस्यहरूलाई कम्तीमा ६ महिनाको खर्च धान्न आवश्यक रकम अनिवार्य बचत गर्न सचेत गर्नुभयो ।
कार्यक्रममा उपसमितिका सदस्य कमल कोजु र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । शिविरमा ८२ जनाले स्वास्थ्य सेवाको लाभ लिनुभएको थियो । शिविरमा सामान्य औषधि पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *