भर्खरै :

अनुसन्धानसम्बन्धी तालिम तथा पुनर्ताजगी कार्यक्रम

अनुसन्धानसम्बन्धी तालिम तथा पुनर्ताजगी कार्यक्रम

भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा गत वैशाख १३ गतेदेखि १५ गतेसम्म कलेजमा सञ्चालन भएको तीनदिने अनुसन्धानसम्बन्धी तालिम तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गत वैशाख २१ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको तीनदिने पुनर्ताजगी कार्यक्रम सहभागी शिक्षक तथा कर्मचारीहरूलाई आइतबार एक समारोहबिच प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले तालिमबाट प्राप्त ज्ञान र सीपको प्रभावकारी उपयोग गर्दै अनुसन्धानसँगै नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा अन्य विकासका गतिविधिहरूमा भक्तपुर नगरपालिका अन्य स्थानीय तहभन्दा अग्रणी रहेको चर्चा गर्दै नगरपालिकाका कार्यप्रणाली तथा उपलब्धिहरू अध्ययन गर्न विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भक्तपुर आउने गरेको उहाँले बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई आत्मसात् गर्दै नयाँ पुस्तालाई योग्य, सक्षम तथा देश र जनताप्रति जिम्मेवार नागरिकका रूपमा विकास गर्नु अहिलेको आवश्यकता हो ।”
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनुसन्धानसँगै नवप्रवर्तनलाई पनि संस्थागत रूपमा अगाडि बढाउन सुझाव दिँदै उहाँले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन प्राप्त भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयन तथा नवप्रवर्तनात्मक गतिविधिमा अझ सक्रिय हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको प्राविधिक सहयोगमा २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त करिब १७८ वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माण, जीर्णोद्धार तथा मर्मत कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
कलेजका प्राचार्य ई. सुनिल दुवालले अध्ययन–अध्यापनसँगै अनुसन्धान र नवप्रवर्तनको सोचलाई संस्थागत रूपमा अघि बढाउने सोचसहित कलेजको कार्य गर्दै आएको बताउनुभयो ।
कलेजको रिसर्च एन्ड डेभलपमेन्ट युनिटका संयोजक प्रा. डा. राजुभाइ त्यातले सम्पन्न दुवै तालिमको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रशासन शाखा प्रमुख सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *