भर्खरै :

वागीश्वरी कलेजका विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण ठिमीमा

वागीश्वरी कलेजका विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण ठिमीमा

भक्तपुर, २४ जेठ । वागीश्वरी कलेजको मानविकी सङ्कायअन्तर्गत स्नातक तहमा प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम मध्यपुर ठिमी नगरपालिकाको वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार नर्थ प्वाइन्ट हलमा सम्पन्न भयो ।
समापन समारोहमा वडा अध्यक्ष श्रेष्ठले सामुदायिक कलेजको प्रत्यक्ष सिकाइ र व्यावहारिक सिकाइले विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो हुनेमा विश्वास प्रकट गर्नुभयो । उहाँले वडागत परिवेशसँगै आफ्नो ठाउँ आफै विकास गर्ने भावना राखी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक मङ्गलेश्वर ध्वजूले वागीश्वरी कलेजको समुदायबाट सिक्ने मौलिक अभ्यासको दौरानमा हालसम्म ११ जिल्लामा सिकाइ अध्ययन भ्रमण गराएर विद्यार्थीहरूले परियोजना कार्य गर्दै आएको प्रकाश पार्नुभयो ।
स्नातक दोस्रो वर्ष सामाजिक कार्यका विद्यार्थी विन खाइजु र समाजशास्त्र प्रथम वर्षका विद्यार्थी कञ्चन तिमिल्सिनाले सिकाइ र अध्ययन भ्रमणको अनुभव बाँड्नुभयो । विद्यार्थीहरू भक्तकुमारी लामिछाने, शोभा लागेजु, विपिन कुसाथा, जेनिस बाडे र प्रतीक राईले पनि प्रमुख अतिथिसँगको साक्षात्कार कार्यक्रममा प्रश्नहरू राख्नुभएको थियो ।
शिक्षक अम्बर दलीश्रेष्ठले सहजीकरण गर्नुभएको सो कार्यक्रम अन्तर्गत बिहान सबेरै सो टोलीले ठिमी सेरामिक्स, धार्मिक क्षेत्र नीलबाराहीबाट अध्ययन भ्रमण गरेको थियो । तत्पश्चात् ठिमी सेरामिक्स बहाखा बजार, बालकुमारी, चपाचोलगायतका ठिमीको मुख्य बजारमा पुगेर नगदेशमा विभिन्न समूह बनाएर तरकारी खेतीबारे स्थानीय किसानहरूसँग सर्वेक्षण गरेका थिए । समापन समारोहपछि विद्यार्थीहरूले कमलपोखरीमा पुग्दा ताजगीको अनुभव गरेका थिए ।
समाजशास्त्र, सामाजिक कार्य, ग्रामीण विकास र पत्रकारिताका ३१ जना विद्यार्थीहरू र ६ जना शिक्षकहरूको सहभागितामा सो कार्यक्रम भएको थियो ।
लड्केश्वरमा अध्ययन भ्रमण
साथै सोही दिन स्नातक तह व्यवस्थापन सङ्कायमा अध्ययनरत २० जना विद्यार्थीहरूको अध्ययन भ्रमण काभ्रेपलाञ्चोकस्थित लड्केश्वरमा सम्पन्न भयो । ५ जना शिक्षकहरूको पनि सहभागिता रहेको सो भ्रमण पनौती स्थित रेशम खेती, जलविद्युत्को जलाशय, बल्थली हुँदै लड्केश्वर महादेव स्थानमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *