भर्खरै :

भक्तपुर बचतमा सदस्य सम्बन्ध र नेतृत्व विकास तालिम

भक्तपुर बचतमा सदस्य सम्बन्ध र नेतृत्व विकास तालिम

भक्तपुर, २४ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीहरूलाई लक्षित गरी सदस्य सम्बन्ध र नेतृत्व विकास तालिम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार रत्नप्रसाद प्रजापतिले कर्मचारीहरूले सदस्यसँग सरल, सभ्य र नम्र भएर व्यवहार गर्नुपर्नेमा जोड दिँदै तालिमले संस्थाको संस्थागत विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले विभिन्न समयमा दिँदै आएका तालिमहरूले संस्थाको प्रगति सम्भव बनेको यथार्थ चित्रण गर्दै संस्थाको स्थापनाकालमा संस्थाप्रति समाजले हेर्ने दृष्टिकोण नै फरक भएको बताउनुभयो ।
उहाँले हाल राष्ट्रिय सहकारी प्राधिकरणले ल्याएको नीति निर्देशन पहिल्यै आएको भए सहकारीमा त्यति समस्या नहुने स्पष्ट पार्दै खराब र सही नहेरी सहकारीको दर्तालाई सरकारले जोड दिएकोले सहकारीमा समस्या आएको बताउनुभयो । उहाँले सहकारीलाई बैङ्कको जस्तो नीति नियम ल्याउँदा सञ्चालन गर्न कठिन भएको औँल्याउनुभयो ।
उहाँले सरकारले जनतासँग गरेको वाचाभन्दा जनताको ढाड सेक्ने बजेट ल्याएको उल्लेख गर्दै सहकारीकर्मीहरूले देशको राजनीतिबारे बुझ्नु आवश्यक भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले तालिमबाट प्राप्त ज्ञान र सीपलाई संस्थाको प्रगतिका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै संस्थाको कर्मचारीको वृत्ति विकासका लागि सरकारले बाध्यात्मक कानुन ल्याएको भए पनि संस्थाले वार्षिक रूपमा कर्मचारी लक्षित विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले कर्मचारीको जोश र जाँगरलाई उत्प्रेरणा र खुराकका रूपमा प्रयोग गर्न तालिमको महत्व रहेको स्पष्ट पार्दै तालिमले व्यवस्थापनमा सहजता ल्याउने र कर्मचारीमा ऊर्जा थप्ने बताउनुभयो । आफ्नो कर्मथलोलाई आस्था र विश्वासको केन्द्र बनाउनुपर्ने औँल्याउँदै उहाँले दृढ इच्छाशक्ति नै सफलताको प्रस्थान बिन्दु भएको स्मरण गराउनुभयो । उहाँले उत्पादित सेवालाई हरेक सदस्यसम्म वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक डा. ताराप्रसाद गिरीले हरेक संस्थाका कर्मचारीले आफूलाई अरुभन्दा फरक शैली र स्मार्ट बनाए मात्र संस्थाको प्रगति हुने बताउनुभयो । आपूm आफैसँग विश्वस्त नभएसम्म अरुलाई विश्वस्त बनाउन नसक्ने उल्लेख गर्दै उहाँले आफ्नो सोचलाई सकारात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सिकाइ प्रक्रिया कहिल्यै अन्त नहुने विचार व्यक्त गर्दै महत्वपूर्ण व्यक्तिले निरन्तर सिकिराख्ने उहाँको भनाइ छ ।
समय र परिस्थितिअनुसार आफूलाई सधैँ अद्यावधिक गर्दै लानुपर्नेमा जोड दिँदै उहाँले आफूलाई परिवर्तन गर्न सकेमात्र नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।
सहजकर्ता प्रशिक्षक राधिका अधिकारीले समृद्ध सहकारीका लागि प्रभावकारी नेतृत्व नै आवश्यक हुने बताउँदै कर्मचारीसँग प्रभावकारी, तार्किक र बौद्धिक प्रस्तुति गर्ने खुबीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
सकारात्मक सोच र दृढ आत्मविश्वास नै नेतृत्वको पहिलो खुड्किलो भएको प्रस्ट पार्दै उहाँले चरित्र, क्षमता र निरन्तरताको संयोजन नै विश्वास रहेको बताउनुभयो । समयको पालना र योजनाले मान्छेलाई अग्रपङ्क्तिमा ल्याउने उहाँको कथन छ ।
संस्थाका अध्यक्ष प्रजापतिले अतिथि प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान र प्रशिक्षार्थी २३ जना कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ऋण अधिकृत अञ्जना छुस्याबाग, कर्मचारीहरू रामप्रसाद बाग, सुभद्रा बोहजुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *