नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि मजदुर, डकर्मी र सिकर्मीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २६, २०८३
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा सञ्चालित एकदिने उद्घोषक (पब्लिक स्पिकिङ) तालिम सम्पन्न भयो ।
समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले राम्रो वक्ता बन्नका लागि सफल र असल व्यक्तिहरूको अध्ययन गर्नुपर्ने तथा निरन्तर अभ्यास अपरिहार्य रहेको बताउनुभयो । उहाँले कुनै पनि व्यक्ति एकैचोटि सफल नहुने उल्लेख गर्दै निरन्तर प्रयास, लगनशीलता र आत्मविश्वासले मात्र सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो ।
“यो तालिम एउटा दबु मात्र हो । अबको लक्ष्य र गन्तव्य सहभागीहरूले आफैं निर्धारण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले वक्ता बन्नका लागि अध्ययन, अनुसन्धान र विषयवस्तुको गहिरो जानकारी आवश्यक पर्ने बताउँदै ज्ञान र सीपको संयोजनबाट मात्र प्रभावकारी वक्तृत्वकला विकास हुने उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरमा भएका राम्रा कामहरूको प्रचार–प्रसार स्थानीय नागरिक र युवाहरूले नै गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले शिक्षाको विकासका लागि कलेज सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्दै युवा पुस्तालाई अगाडि बढाउन पठन संस्कृतिको विकासमा विशेष जोड दिइएको बताउनुभयो ।
उहाँले पठन संस्कृति विकासको लागि जनज्योति पुस्तकालय सञ्चालनमा ल्याइएको जानकारी दिँदै त्यहाँ आधुनिक ई–लाइब्रेरीको समेत व्यवस्था गरिएको बताउनुभयो । पुस्तकालय र ई–लाइब्रेरीले युवाहरूलाई अध्ययन, अनुसन्धान तथा ज्ञान अभिवृद्धिमा महत्वपूर्ण सहयोग पु¥याइरहेको उहाँको भनाइ थियो ।
नगर प्रमुख सुनिल प्रजापतिले केवल युवा व्यक्ति प्रधानमन्त्री वा नेतृत्वमा पुगेकै आधारमा सबै काम राम्रो हुन्छ भन्ने नठान्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्वमा पुगेपछि जिम्मेवारी, जवाफदेहिता, अनुशासन र राष्ट्रप्रतिको प्रतिबद्धता सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले संसद्मा नियमित उपस्थिति नजनाउने, जनताप्रति जवाफदेही नहुने तथा अनुशासनहीन गतिविधि देखिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्र हितविपरीत अभिव्यक्ति र गतिविधिले देशको अन्तर्राष्ट्रिय छवि तथा राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने भएकोले सार्वजनिक पदमा रहेका व्यक्तिहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजुले उद्घोषक तथा पब्लिक स्पिकिङ तालिमले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रभावकारी सञ्चार कला आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक रूपमा आफ्ना विचार स्पष्ट र व्यवस्थित ढङ्गले प्रस्तुत गर्न सक्ने क्षमता विकासका लागि यस्ता तालिम उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष महेन्द्र खायमलीले नयाँ पुस्तालाई समाजको प्रतिबिम्बका रूपमा प्रस्तुत गर्न र सक्षम नागरिकका रूपमा विकास गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो । उहाँले व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा प्रभावकारी सञ्चार सीप अभिवृद्धिका लागि उद्घोषक तथा पब्लिक स्पिकिङ तालिम आवश्यक रहेको बताउनुभयो ।
वडा सदस्य रामसुन्दर बासीले स्पष्ट उच्चारण, सरल भाषा र आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न सक्ने क्षमता विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक रूपमा बोल्ने सीपले व्यक्तित्व विकासको साथै सामाजिक तथा व्यावसायिक जीवनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
तालिमका प्रशिक्षक किरण सुवालले सहभागीहरूको नियमित उपस्थिति र अनुशासनको प्रशंसा गर्दै बोल्ने कला हरेक व्यक्तिका लागि आवश्यक सीप भएको बताउनुभयो । “बोल्ने कला नभएका व्यक्तिहरू धेरै क्षेत्रमा पछाडि पर्न सक्छन् । त्यसैले यो तालिम सबैका लागि र हरेक क्षेत्रमा उपयोगी छ,” उहाँले बताउनुभयो ।
तालिमका सहभागी वैविक लक्ष्मी बाला, अञ्जली श्रेष्ठ, रीजा कपाली, राजल जाकिबन्जार, प्रनिशा दुवाल र वर्षना सुवाललगायतले तालिम अत्यन्त उपलब्धिमूलक रहेको अनुभव सुनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले तालिम सफलतापूर्वक सम्पन्न गरेका चार जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply