शिक्षकहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २७, २०८३
भक्तपुर, २७ जेठ । गःपली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ४ को लागि आर्थिक वर्ष २०८३/०८४ को लागि योजना छनौट तथा बजेट तर्जुमा कार्यक्रम वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यमा गःपली साइनिङ स्टुडेन्ट एकेडेमीमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ तालिममा जोड दिइरहेको उल्लेख गर्दै विकास निर्माणमा जनताको सहभागिता भएकोमा वडावासीहरूलाई धन्यवाद दिनुभयो ।
उहाँले गःपली क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ पसलले गर्दा सवारी जामको समस्या देखिएकोले सो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजग कोरियाली (उत्तर कोरिया) जनता एकजुट भएकै कारण गरिब भनिएको देशले अभतपूर्व विकास गर्दै आणविक हतियारसमेत उत्पादन गरी विश्वमा साम्राज्य फैलाइरहेका अमेरिकालाई समेत हाँक दिन सक्ने गरी आफ्नै खुट्टामा उभिन सफल भएको बताउनुभयो ।
गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले वडा नं ४ को योजना छनौट तर्जुमा नगरस्तरीय योजनामा सूर्यविनायक चोकदेखि रामदेवी कम्पलेक्सबाट बाराही पुलसम्मको बाटोमा रहेको बिजुलीको नाङ्गो तार हटाई बाटोको बिचबिचमा परेको बिजुलीका खम्बाहरू हटाउनुपर्ने बताउनुभयो । उहाँले सूर्यविनायक चोकदेखि डोकाफल्चासम्मको राजमार्गको उत्तरतर्फको सबट्राय्क खोली सो बाटो पिच गर्न सडक विभागलाई ताकेता गर्नुपर्ने, सूर्यविनायक चोकदेखि राममन्दिर पुलसम्मको पिच बाटो खाल्डाखुल्डी भएको गर्नुपर्ने, राममन्दिर र बाराहीमा वर्षामा बर्सेनि बाढीले डुवान हुने भएकोले खोला सुधार कार्यक्रम ल्याई नापीनक्साअनुसार खोला सुधार गरी खोलाको दुईतिर हरियाली व्यवस्थापन र करिडोर निर्माण गर्नुपर्ने, सूर्यविनायक चोकदेखि राममन्दिर पुलसम्मको पिच बाटो, सूर्यविनायक चोकदेखि रामदेवी कम्पलेक्सबाट बाराही पुलसम्मको बाटो र गपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको बाटोमा सडकबत्तीको व्यवस्थापन र सीसी क्यामेराको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रविन छुस्याकी, रवीन्द्र श्रेष्ठ र पूर्वजिल्ला शिक्षा अधिकारी ध्रुवनारायण जोन्छेले पनि टोल विकासमा नगरपालिका र वडाको योगदान भावी योजना र विकास निर्माणबारे बोल्नुभयो ।
कार्यक्रममा दिनेशबहादुर धौबञ्जार, अष्टलक्ष्मी श्रेष्ठ, तुल्सीमाया नागा, संगिता शुद्धकार, रमेश मानन्धर, सुमन मानन्धर र सरोज शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply