भर्खरै :

बाल विकास सहजकर्ता सङ्घर्ष समितिद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

बाल विकास सहजकर्ता सङ्घर्ष समितिद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

भक्तपुर, २९ जेठ । बाल विकास सहजकर्ता सङ्घर्ष समिति भक्तपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुर, शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुर र नगर शिक्षा शाखामा बाल विकास सहजकर्तालाई पूर्वप्राथमिक विद्यालय शिक्षक भनी सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझायो ।
२०८२ साल फागुन २१ गते संसदीय निर्वाचनपछि गठित रा.स्व.पा.को नेतृत्वमा बनेको सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दा सम्बोधन हुन नसकेका विभिन्न माग यथाशीघ्र पुनःविचार गरियोस् भनी सङ्घर्ष समितिले सो ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरमार्फत शिक्षामन्त्रीको ध्यानाकर्षण गर्दै बुझाइएको सो ज्ञापनपत्रमा बाल विकास सहजकर्ता शिक्षकहरू श्रम ऐनले तोकेको न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक अर्थात् मासिक १२ हजार दिएको, महँगी भत्ता, प्रोत्साहन भत्ता कुनै किसिमको सुविधा नदिएको र विद्यालयमा अन्य शिक्षकसरह नै बस्नुपर्ने बाध्यता रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा पूर्वप्रावि शिक्षाको पारिश्रमिक कम्तीमा बहिदार तहको निजामती कर्मचारीसरह हुनुपर्ने, पूर्वप्रावि तहका शिक्षकहरूलाई अन्य राष्ट्रसेवक कर्मचारी सरह महँगी भत्ता र प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्ने माग उल्लेख गरिएको छ ।
पूर्वप्रावि शिक्षकहरूको स्मामित्वको साथै सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, पूर्वप्रावि शिक्षक दरबन्दी सरकारले प्रवेश गर्ने न्यूनतम शैक्षिक योग्यता एसईई गर्न र स्थानीय तहको सरकारले आफ्नो पालिकाभित्र माग व्यवस्था गर्ने हुँदा स्थानीय पालिकाहरूलाई पनि निश्चित प्रतिशत बजेट रकम पूर्व प्रा.वि. तहको लागि विनियोजन गर्नुपर्ने निर्देशन जारी गर्न सङ्घर्ष समितिले शिक्षामन्त्रीको ध्यानाकर्षण गरेको छ ।
बाल विकास सहजकर्ता सङ्घर्ष समितिका अध्यक्ष सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा गएको सो टोलीमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतु, सङ्घका जिल्ला अध्यक्ष गणेशराम थुसा, सङ्घका नगर अध्यक्ष विष्णुप्रसाद दुमरु, नगर सदस्य रोसनराज तुईतुईसमेत संलग्न हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *