भर्खरै :

भक्तपुरमा तीनमहिने साङ्केतिक भाषा तालिम शुभारम्भ

भक्तपुरमा तीनमहिने साङ्केतिक भाषा तालिम शुभारम्भ

भक्तपुर, १ असार । भक्तपुर नगरपालिकाको आयोजनामा तीनमहिने साङ्केतिक भाषा तालिम सोमबारदेखि सुरू भएको छ ।
तालिमको शुभारम्भ गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अपाङ्गता भएका व्यक्तिहरूसँगको सञ्चारलाई प्रभावकारी र सहज बनाउन साङ्केतिक भाषा तालिम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले ख्वप अस्पताल, नगरपालिकाका विभिन्न शाखा, वडा कार्यालयका कर्मचारी तथा अभिभावकहरूको सहभागितामा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सहभागिता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै साङ्केतिक भाषाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर बहिरा सङ्घका अध्यक्ष जयराम पकानेवारले नगरपालिकाले आयोजना गरेको तालिम समावेशी समाज निर्माणका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले आधारभूत तहको तालिमसँगै आगामी दिनमा उन्नत (एड्भान्स) साङ्केतिक भाषा तालिमसमेत सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
तालिममा सहभागीहरूलाई साङ्केतिक भाषाका आधारभूत सीप तथा बहिरा समुदायसँग प्रभावकारी सञ्चार गर्न आवश्यक ज्ञान प्रदान गरिने जनाइएको छ ।
बहिरा सङ्घको तर्फबाट टीकाराम लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा तालिम सहजकर्ता श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *