हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
भक्तपुर, १ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ‘उपसमितिका सदस्यहरूको क्षमता विकास तालिम’ सम्पन्न भयो ।
भक्तपुरको आदर्शस्थित क्लव वाग्मतीमा जेठ ३० गते आयोजित उक्त तालिममा सहकारी संस्थाहरूमा उपसमितिहरूको सक्रियता, भूमिका र उत्तरदायित्वबारे विस्तृत छलफल तथा प्रयोगात्मक सिकाइ भएको छ । तालिमको समापन समारोहमा सहकारी नेतृत्वले हालै जारी अध्यादेशका प्रावधानहरू अव्यावहारिक रहेको र यसले सहकारी क्षेत्रमा बचत फिर्ताको चाप अझ बढाउने खतरा औँल्याएका छन् ।
सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूलाई सक्रिय र सबल बनाउन उपसमितिहरू नै मुख्य रूपमा सक्रिय रहनुपर्ने बताउनुभयो । उहाँले उपसमितिका सदस्यहरू सदैव नयाँ ज्ञान र सीप सिक्न जागरुक हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो ।
सहकारी संस्थाहरूले आफ्नै आवश्यकता अनुभूति गरेर सङ्घ स्थापना गरेको स्मरण गराउँदै उहाँले हालै जारी सहकारी अध्यादेशले सङ्घलाई तीन वर्षभित्र कारोबार बन्द गरी बचत फिर्ता गर्न दिएको आदेश व्यावहारिक नभएको टिप्पणी गर्नुभयो । यस व्यवस्थाले बजारमा बचत फिर्ताको चाप झन् बढेर सहकारीमा थप समस्या सिर्जना हुने देखिएकोले अध्यादेश तत्काल संशोधन हुनुपर्ने उहाँको भनाइ थियो ।
सङ्घका सचिव एवं उपसमिति संयोजक कान्छाभक्त घजुले संस्थालाई सही दिशामा लैजान उपसमितिको ठुलो भूमिका हुने भन्दै संस्था र सदस्यहरूलाई सबल एवं जागरुक बनाउनुपर्ने विचार राख्नुभयो ।
तालिमका मुख्य प्रशिक्षक एवं नेफ्स्कुन (NEFSCUN) का विभागीय प्रमुख बल्लभ तिमिल्सिनाले संस्थालाई अनुशासित बनाउन र सही मार्ग देखाउन उपसमितिको मुख्य भूमिका रहने प्रस्ट पार्नुभयो । उहाँले तालिमको क्रममा उपसमितिको कार्यक्षेत्र र जिम्मेवारीबारे समूहगत रूपमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
सङ्घका शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिका सदस्य बालमुकुन्द उपाध्यायले व्यस्त समयका बाबजुद सहभागी भई सिकाइप्रति उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा आयोजना हुने यस्ता कार्यक्रममा पनि सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभयो ।
सङ्घका उपसमिति सदस्य प्रकाश बास्तोलाले समापन समारोह सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply