समाचार शीर्षकहरूकै विश्लेषण गरौँ !
- असार १, २०८३
विगतमा सत्तासीन राजनीतिक दलहरूको राजनीति पद, पैसा, सत्ता र भागबन्डामा बितेको थियो । पदकै निम्ति कहिले पार्टी जुट्यो भने कहिले फुट्यो । हरेक क्षेत्रमा भागबन्डा हुन्थ्यो । भागबन्डाको निम्ति तँछाडमछाड हुन्थ्यो । पार्टी एकता भए पनि पदकै कारण जुटेको पार्टी फुटेको विगतको अनुभव छ । आफ्नै पार्टीभित्रको विवाद झन्डै दुईतिहाइ मत प्राप्त रास्वपामा पनि देखिएको छ । पार्टीको जिल्ला र वडा अधिवेशनमा विवादकै कारण कुटाकुट भएको सञ्चारमाध्यममा आएकै हो । यस्तै विवाद नेका, एमाले, राप्रपामा पनि देखिएको छ । पार्टी विवाद र अन्तरभेदबारे असार १ गते प्रकाशित विभिन्न सञ्चारमाध्यमले बताउँछ । उक्त दिन प्रकाशित विभिन्न पत्रिकामा ‘एमालेभित्र चुलिँदो शक्ति सङ्घर्ष पुनर्गठनको बहानामा नेतृत्व विवाद, कार्यकर्ता पङ्क्ति निरास,’ ‘रास्वपाले गुटगत राजनीतिको नियति नभोगोस्’, ‘आन्तरिक खिचलोको दलदलमा ठुला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा’, काङ्ग्रेसमा रटान एकताको, अभ्यास फरक पार्टीको’ र रास्वपा प्रदेश ÷ जिल्ला अधिवेशन, फाउन्डर्स भर्सेस फ्लोअर्स आदि छापिएको समाचारले देशका सत्तारुढ मात्र होइन अन्य ठुला दलका नेताहरूको विचार र सिद्वान्तभन्दा पदको निम्ति राजनीति चालू रहेको बताउँछ ।
एमालेका अध्यक्ष केपी ओलीका विश्वासपात्रहरू विष्णु पौडेल र शङ्कर पोखरेल नै अहिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नगरे पार्टी फुट्ने कुरा फलाक्दै छन् । पार्टी पुनगर्ठनको नाउँमा आफूलाई हटाउने चेष्टा गरिरहेको ओलीको आरोप छ । तर, ओली कुनै हालतमा पार्टी नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन् । सरकारको नेतृत्व गर्न पुगेको रास्वपाको जिल्ला र प्रादेशिक तहका अधिवेशनमा गुट, उपगुटमात्र देखिएको होइन, कार्यकर्तामाझ झडपहरू भए । पार्टीका सांसद र केन्द्रीय सदस्यहरूले रिसइवि साँध्ने र आफ्ना नजिकका या आसेपासेलाई जिताउन दबाब बढेको र शक्तिको होडबाजी चलेको सञ्चारमा आएको छ । राजनीतिक विश्लेषक विजय गुप्ता भन्छन्, “रास्वपामा संस्थापन पक्षलाई पछि पार्टीमा प्रवेश गरेकाहरूले ‘टेक ओभर’ गर्ने जोखिम छ ।” राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल भन्छन्,“रास्वपाले आफ्नो टाउको (केन्द्र) बनाइसकेपछि प्रवेश र जिल्ला तहमा सङ्गठन (शरीर) बनाउन लागेको छ । हालसम्मको अधिवेशन हेर्दा पुराना दलको झैँ पारा देखिन्छ ।” रास्वपाभित्र विचारभन्दा व्यक्तिलाई, योगदानभन्दा पहुँचलाई र सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति मौलाउँदै गएको हो कि भन्ने आभास विश्लेषकहरूले गर्न थालेका छन् ।
नेकाभित्र पनि आन्तरिक विवाद चर्केको छ । आगामी महाधिवेशनको तयारीकै क्रममा संस्थापक इतर पक्षले ‘प्रदेशस्तरीय एकता भेला’ आयोजना गरिरहेको छ । इतर पक्षले पार्टी नेतृत्वको निरङ्कुश शैली नस्वीकार्ने तर पार्टी कुनै हालतमा फुट्न नदिने प्रतिबद्धता गरेको छ । नेताहरूले पार्टी नफुट्ने दाबी गरे पनि नेताहरूबिच अविश्वास, गुटगत धु्रवीकरण र समानान्तर गतिविधि बढिरहेको यथार्थ हो । हुन त नेकामा गुटबन्दी नयाँ अभ्यास होइन । तर, समानान्तर भेलाले नेका विभाजनउन्मुख देखिएको छ । एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने या पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने विषय तल्लो कमिटीसम्म पुगेको खबर छापामा आएको छ ।
राप्रपा पनि विभाजनको स्थितिमा पुगेको छ । यतिबेला राप्रपाकै नेता धवल शमशेर राणाको छुट्टै भेला आयोजना गरिएको छ । राणा पक्ष अर्को पार्टी गठन गर्ने तयारीमा छ । पार्टीभित्र देखिएका यावत् असन्तोष, अविश्वास आदि पदको निम्ति भएको विश्लेषण छ । देश र जनताको सेवा गर्न स्थापित राजनीतिक दलहरू सत्ता, पद, पैसा, भागबन्डामा लागेकै कारण देशले विकासमा काँचुली फेर्न नसकेको हो । देश ऋणमा डुबेको हो । देश बढी भ्रष्टाचार हुने सूचीमा परेको हो । यही कारण देश परनिर्भर भइरह्यो । देशमा अन्योल र सङ्कट देखिए । यो देशको प्रगतिसूचक होइन ।
Leave a Reply