भर्खरै :

एक आदर्श नगरको अर्थ के हो ?

एक आदर्श नगरको अर्थ के हो ?

कुनै एक आदर्श नगरको अर्थ कुनै एक अमुक राजनीतिक दल वा संस्थाका सदस्यहरूले हप्ता, दुई हप्ता वा महिनाको एक पटक निश्चित स्वयंसेवकहरूले सफाइ गर्ने र अरू सबै नागरिक तमासे भएर वा मालिक भएर बसेमा ती नगरका बहुमत नागरिकहरू असल नागरिक होइनन् । त्यो नगर पनि एक आदर्श नगरमा गणना हुँदैन भन्ने हो ।
यो कुरो हप्ताको एक पटक कुनै मन्दिर, पोखरी वा कुनै सार्वजनिक स्थलको सफाइको मात्रै विषय होइन, ती नगरका बहुमत नागरिकहरू जहिलेसम्म खानेपानी, ढलको पानी सफा गरी खोला वा नदीमा बगाउने ‘उपचार पोखरी’ बन्दोबस्त, ‘फोहर व्यवस्थापन गर्ने’ व्यवस्था कहाँ–कसरी गरिँदै छ भन्ने चासो नलिएसम्म ती नगरका बहुमत जनतालाई आदर्श नागरिक भन्न लायक हुँदैन ।
ती नागरिकहरूले तरकारी पसल, मासु पसल, साधारण पसलहरूको नाप–तौल, सफाइ र खाद्यान्न मिसावत वा शुद्ध छ छैन, ठुलठुला भारी बोक्ने ट्रक र वाहनहरूले आफ्नो नगरको सडक र ढलले ठेग्न सक्छ–सक्दैन† आफ्नो नगरमा जनसङ्ख्या बढ्यो–बढेन भन्नेबारे टोल–टोल, वडा–वडामा बरोबर बैठकमात्र होइन सम्बन्धित कार्यालयले अखबार वा जनसमुदायलाई सभाबारे सूचना दिएर स–साना जनसभा गरेर बताउने बन्दोबस्त हुनु बढी फलदायी हुन्छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, बजार भाउ, निर्माण, कृषि र अन्य उत्पादनबारे पनि जनतालाई जानकारी दिनुका साथै ट्राफिक अर्थात् बाटाघाटा–चौबाटो आदिको सङ्केत, क्यामेरा र नयाँ साधनको सफलताबारे पनि छलफल र सूचना प्रवाहमार्फत जनतालाई शिक्षित र जानकारी दिन सके दुर्घटना र अपराधको सङ्ख्या पनि घट्दै जानेछ ।
निश्चित नगरका मेयर, उपमेयर, निर्वाचित सदस्यले रात–दिन काम गर्दैमा जनताले त्यसलाई आत्मसात गरे गरेनन् भनी जाँचबुझ नगर्दासम्म मेहनतको प्रतिफलबारे थाहा नहुनु नौलो कुरा होइन । त्यसबारे प्रतिपक्षी दलहरूले तारिफ र प्रशंसा मात्र होइन झूटो आलोचना र टीकाटिप्पणी गर्नेप्रति पनि जनतालाई सचेत पार्नु जरुरी छ ।
के यो पुनः नगर राज्यको कल्पना हो ?
होइन, यो प्राचीन नगर राज्यको कल्पना होइन । सुनिन्छ – ‘मस्को नगरपालिकाको काम भनेकै हिउँदमा सडकबाट हिउँ सफा गर्ने मात्र हो ¤’
समाजवादी व्यवस्थाको बेला गरिएका निर्माणहरूलाई रुसले आज मर्मतबाहेक केही गर्र्नै पर्दैन ¤ नयाँ निर्माण भनेको नाम मात्रको वा नाम फेर्ने काम हो !
निश्चय पनि नेपालका गाउँ, नगर र प्रदेशमा केन्द्रको काम र विकेन्द्रीकरणको सिद्धान्तअनुसार काम सुरू नै भएको छैन – १० वर्षपछि पनि । किन ? केन्द्रमा बस्नेहरूलाई विकेन्द्रीकरणप्रति विरोध छ भने स्थानीय तह र प्रदेश हाँक्नेहरूलाई केन्द्रको कामको अर्थ पनि थाहा छैन – आफ्नो कामसमेत थाहा नभएर सालाखाला २५ प्रतिशत पनि बजेट खर्च नभएको बताइन्छ । केन्द्रलाई नै ताक्ने हो भने के प्रदेश सरकार अञ्चलाधीश कार्यालय हो ? प्रदेशसभा के ‘अञ्चल पञ्चायत’ हो ?
जिल्लास्तरीय कार्यालयहरूले राम्रो काम गरेका भए, जनताको भावना बुझेर काम गर्ने बन्दोबस्त भएका भए प्रदेश सरकार, नगरपालिका र गाउँपालिकाजस्ता जनप्रतिनिधिमूलक संस्था किन चाहियो ? कारण प्रस्ट छ, इतिहासमा निश्चित राज्यले सशस्त्र बलबाट देशका सबै क्षेत्र, राज्य र राष्ट्रहरूलाई विजय प्राप्त ग¥यो । त्यही राज्यले आफ्नो शासन कायम राख्न, बलको भरमा पुस्ताका पुस्ता जनतालाई कज्याएको हुनाले केन्द्रको मातहतको प्रशासन र विभिन्न जातजाति र भाषाभाषीका जनताको भावनामा एकरूपता पलाइसकेको छैन । त्यसमा भाषा, कला–संस्कृति, परम्परा र भावनामा एकरूपता आइनसक्दा केन्द्र र स्थानीय जनतामा दूरी कायम छ । विडम्बना ! शासक दलहरू र केन्द्रको स्वर भने एउटै सुनिन्छ । त्यसको कारण निश्चित जात र भाषाभाषीहरूको प्रभुत्वको आभास दिनु हो ।
यसकारण, केन्द्रको कानुनी मनसाय र स्थानीय जनताको भावनाको माझ समन्वय कायम गर्न शक्तिले होइन स्थानीय समस्यालाई केन्द्रले आत्मसात गर्दै एक एक पाइला गर्दै र समाधान गर्दै जाँदा इतिहासले पारेका घाउहरू पुर्दै जानेछन् । राष्ट्रिय एकताको अर्थ सबै जातजाति र भाषाभाषीहरूको कला, साहित्य र संस्कृतिप्रति समानरूपले आत्मस्वीकृति हो । त्यो राज्य र देशमात्र आजको एक आदर्श समाज साबित हुनेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *