सुधारिएको पुँजीवादको भ्रम
- असार १, २०८३
केही हप्ताअघि, डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई भनेका थिए– यसै वर्षको अन्त्यसम्ममा क्युवाली सरकार ढल्ने अपेक्षा गर्छन् । क्युवालाई ‘एक असफल देश भन्दै उनले थपे, “अन्य राष्ट्रपतिहरूले यसलाई ५०–६० वर्षसम्म हेरेर बसे, केही गर्ने प्रयास गरे । लाग्छ, त्यो काम सम्पन्न गर्ने व्यक्ति म नै हुनेछु ।”
विदेशमन्त्री मार्को रूबियोले घोषणा गरेका छन् – “क्युवाले लगातार संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा खडा गरेको छ” । जुन व्यवस्था परिवर्तनका सैन्य कारबाहीहरू अघि भनिने एउटा मानक भूमिका हो ।
न्याय मन्त्रालयले ९५ वर्षीय राउल कास्ट्रोविरूद्ध ३० वर्षअघि घटेका घटनालाई लिएर सङ्घीय अभियोग पत्र सार्वजनिक गरेको छ, जसमा क्युवाले पूर्ण रूपमा कानुनी र न्यायोचित तरिकाले काम गरेको थियो ।
यसैबिच, अमेरिकी नौसेनाको युद्धपोत ‘यूएसएस निमित्ज’ को स्ट्राइक ग्रुप क्यारिबियन सागरमा प्रवेश गरेको छ । क्यारिबियन तथा प्रशान्त क्षेत्रमा, अमेरिकी नौसेनाले विगत केही महिनामा झन्डै २०० जनाको ज्यान लिएको छ र ५७ वटा जलजहाजहरू ध्वस्त पारेको छ; जुन कुनै पनि व्यावहारिक परिभाषाअनुसार अदालत बाहिर गरिएका गैरकानुनी हत्या हुन् ।
अमेरिकाले क्युवाली क्रान्तिलाई सधैँका लागि नामेट पार्ने उद्देश्यका साथ क्युवामाथि आफ्नो आर्थिक, कूटनीतिक र सैन्य दबाबलाई अभूतपूर्व स्तरमा बढाइरहेको छ ।
वासिङटनले क्युवाका लागि कस्तो वैकल्पिक भविष्यको प्रस्ताव गरिरहेको छ ?
यस कुरालाई बुझ्न दिवङ्गत माक्र्सवादी इतिहासकार माइकल प्यारेन्टीद्वारा प्रतिपादित एउटा अवधारणालाई पुनर्जीवित गर्नु उपयोगी हुन्छ ।
आफ्नो १९९७ को पुस्तक ‘ब्ल्याकसट्र्स एन्ड रेड्स’ मा प्यारेन्टीले औँल्याएका थिए कि वास्तवमै अस्तित्वमा रहेको समाजवादको सम्पूर्ण इतिहासमा चाहे त्यो सोभियत सङ्घ, चीन, भियतनाम, क्युवा, कोरिया वा अन्य जहासुकै होस्, समाजवादी परियोजनालाई शान्तिपूर्वक फस्टाउन दिइएको र त्यसलाई आफ्नो विकासको मोडेल पछ्याउन अनुमति दिइएको एउटा पनि उदाहरण छैन ।
प्रत्येक समाजवादी राज्य साम्राज्यवादी घेराबन्दीको सन्दर्भमा अस्तित्वमा रहेका छन् । समाजवादी राज्यहरूले आक्रमण, तोडफोड, नाकाबन्दी, प्रतिबन्ध, हत्याका प्रयासहरू, कूटनीतिक दण्ड र छद्म युद्धहरूको सामना गर्नु परेको छ ।
प्यारेन्टीको तर्क थियो कि यी कुराहरूलाई ध्यानमा नराखी तपाईं यीमध्ये कुनै पनि समाजको मूल्याङ्कन गर्न सक्नुहुन्न ।
वास्तवमै अस्तित्वमा रहेको समाजवादलाई शान्तिपूर्वक विकास हुन दिइने एउटा काल्पनिक र अमूर्त समाजवादसँग तुलना गर्नु बौद्धिक रूपमा बेइमानी हो । वास्तवमा अस्तित्वमा रहेको समाजवाद, उनकै शब्दमा भन्दा, ‘घेराबन्दीग्रस्त समाजवाद’ (siege socialism) हो । यो जुन परिस्थितिहरूमा निर्माण भएको छ, तिनै परिस्थितिहरूद्वारा यसको स्वरूप निर्धारण र विकृत भएको छ ।
आजको क्युवा घेराबन्दीग्रस्त समाजवादको एक सर्वोत्कृष्ट उदाहरण हो । यो शाब्दिक रूपमै घेराबन्दीमा छ । ६४ वर्ष पुगेर पनि अझै जारी रहेको अमेरिकी नाकाबन्दी अहिलेको आधुनिक इतिहासकै सबैभन्दा व्यापक आर्थिक घेराबन्दी हो ।
विगत केही वर्षहरूमा इन्धन आयातमा ९० प्रतिशतले कटौती भएको छ । देशका कतिपय भूभागहरूले अहिले दैनिक २० घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका छन् । अस्पतालहरू आकस्मिक जेनेरेटरको भरमा चलिरहेका छन् ।
औषधि, आधारभूत खाद्यान्न, पार्टपुर्जाहरू, रासायनिक मल यी सबैलाई एउटा यस्तो प्रतिबन्धको चक्रद्वारा सङ्कुचित पारिँदै छ, जसको उद्देश्य जानाजानी भोक र गरिबी निम्त्याउनु र सरकारविरूद्ध असन्तुष्टि पैदा गर्नु हो ।
त्यस्तो घेराबन्दीका बिच पनि समाजवादले क्युवाली जनताका लागि डेलिभरी दिन छोडेको छैन । क्युवाको औसत आयु ७८ वर्ष छ र शिशु मृत्युदर प्रतिहजार झन्डै ५ जना मात्र छ । जुन दुवै सूचक अमेरिकाको भन्दा राम्रो हो । यहाँको साक्षरता दर ९९ प्रतिशतभन्दा माथि छ र शिक्षा प्रणालीले यति प्रचुर मात्रामा डाक्टरहरू उत्पादन गर्छ कि क्युवाले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र ‘मेडेसिन्स सान्स फ्रन्टियर्स’ सबै मिलेर पठाउने भन्दा बढी स्वास्थ्यकर्मीहरू विश्वभर निर्यात गर्दछ ।
जब क्यारिबियन क्षेत्रमा आँधीबेहरी (हुरिकेन) आउँछ, क्युवामा सधैँ त्यस क्षेत्रकै सबैभन्दा कम मृत्युदर हुने गर्छ । गत वर्ष ‘ओस्कर’ आँधीले क्युवालाई पहिले र बढी शक्तिशाली रूपमा हिर्काए तापनि त्यहाँ ७ जनाको मात्र ज्यान गयो, जबकि हाइटीमा २३५ जनाको मृत्यु भयो । नाफाको सट्टा जनताका आवश्यकताहरूप्रतिको आधारभूत झुकावले के गर्न सक्छ भन्ने कुराको प्रमाण यही हो ।
समाजवादपछिको क्युवाका लागि वासिङटनको मानक खाका भनेको एक फस्टाउँदो बजार लोकतन्त्र, पर्यटकहरूका लागि स्वर्ग र उपभोक्तावादी युटोपियाजस्तो केही हो, जहाँ मानिसहरू खुसीसाथ आफ्ना टेस्ला गाडीहरू गुडाउँदै नजिकैको मतदान केन्द्रमा गएर अमेरिका समर्थक थुप्रै नवउदारवादी पार्टीहरूमध्ये कुनै एकलाई भोट हाल्छन् । तर, त्यस किसिमको परिकल्पनाको सान्दर्भिकता वा सम्भाव्यतालाई पुष्टि गर्ने कुनै पनि ऐतिहासिक प्रमाण कतै उपलब्ध छैन ।
क्युवाको तुलना हाइटीसँग गर्नु बढी शिक्षामूलक हुनेछ, जुन एक शताब्दीभन्दा बढी समयदेखि निरन्तर अमेरिकी हस्तक्षेप र घुसपैठको शिकार बन्दै आएको छ र आज लगभग हरेक सूचकका आधारमा एउटा मानवीय सङ्कटको अवस्थामा छ ।
अथवा क्युवाको तुलना डोमिनिकन गणतन्त्र, ग्वाटेमाला वा एल साल्भाडोरसँग गर्नु उपयुक्त हुन्छ । ती देशहरू जसले ट्रम्पले अहिले क्युवालाई धम्की दिइरहेको जस्तै व्यवस्था परिवर्तनको पीडा भोगेका थिए र त्यसपछिका दशकहरू आफ्ना नागरिकलाई उत्तरतर्फ (अमेरिका) निर्यात गर्नमै बिताएका छन्, किनकि उनीहरूको आफ्नो देशमा जीवन जीउनै नसकिने भएको थियो ।
हामी आजको क्युवालाई क्रान्तिपूर्वको क्युवासँग पनि तुलना गर्न सक्छौं । फुल्गेन्सियो बाटिस्टाको क्युवा, जहाँ हवाना माफियाहरूको जुवा खेल्ने राजधानी र उत्तर अमेरिकी पर्यटकहरूका लागि एउटा वेश्यालयजस्तो थियो । जहाँ निरक्षरता र बाल कुपोषण रैथाने समस्याका रूपमा थिए, जहाँ देशको ठुलो हिस्सामा रङ्गभेद थियो, जहाँ अमेरिकी नौसैनिकहरू आफ्नो मर्जीअनुसार आउने–जाने गर्थे र राष्ट्रपतिहरू वासिङटनमा चुनिन्थे ।
यो त्यही क्युवा हो जसलाई अमेरिकाले फिर्ता ल्याउन खोजिरहेको छ । धनीहरूका लागि एउटा खेलमैदान, नाम मात्रको बाहेक हरेक रूपमा एउटा उपनिवेश । ट्रम्पले जब क्यास्ट्रो शासनलाई समाप्त पार्न चाहन्छु भन्छन्, उनले कुरा गरिरहेको क्युवा यही हो ।
त्यसैले क्युवाली समाजवाद बचाउन पूर्ण रूपमा योग्य छ । के यसलाई बचाउन सकिन्छ त ? निश्चित रूपमा सकिन्छ । क्युवाली जनता असाधारण रूपमा लचिला छन् र आफ्नो सार्वभौमसत्ता एवं क्रान्तिको रक्षा गर्न प्रतिबद्ध छन् । यसबाहेक, क्युवा एक्लो छैन ।
चीन अहिले क्युवाको सबैभन्दा ठूलो ऊर्जा र पूर्वाधार साझेदार तथा खाद्यान्न र औषधिको एक प्रमुख स्रोत बनेको छ । यसै हप्ता, चिनियाँ र क्युवाली अधिकारीहरूले पेइचिङमा कृषि सहयोगसम्बन्धी वार्ताका लागि भेटघाट गरे, जसलाई ‘साझा भविष्यको क्युवा–चीन समुदाय’ को रूपमा व्याख्या गरिएको थियो ।
त्यसै दिन, चीनले अनुदानमा दिएको ६०,००० टन चामलमध्ये पहिलो १५,००० टन चामल हवाना आइपुग्यो । जसलाई क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ‘एकता र भ्रातृत्वको नयाँ प्रदर्शन’ भनेका छन् ।
त्यसको शीर्षस्थानमा, चीनले सन् २०२८ सम्ममा टापुभरि ९२ वटा सौर्य पार्कहरूका लागि फाइनान्सिङ गरिरहेको छ । जसले क्युवाको दिउँसोको बिजुली मागको झन्डै आधा हिस्सा धान्ने प्रक्षेपण गरिएको छ ।
एकपटक क्युवाले सूर्यबाट आफ्नै बिजुली उत्पादन गर्न थालेपछि, ऊर्जा नाकाबन्दीको मुख्य हतियार ध्वस्त हुन सुरू हुनेछ ।
चीनको कूटनीतिक समर्थन पनि विशेष उल्लेखनीय छ । चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले यसै हप्ता घोषणा गरिन् कि ‘चीनले क्युवालाई आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ’ । यो एक हप्ताभित्रै आएको यस्तै दोस्रो अभिव्यक्ति हो ।
यसैबिच रुस, भियतनाम, इरान, भेनेजुयला, निकारागुआ, मेक्सिको र ब्राजिल सबैले क्युवालाई व्यावहारिक ऐक्यबद्धता प्रदान गरिरहेका छन् । बेलायतको ‘क्युवा सोलिडारिटी क्याम्पेन’ जस्ता अभियान समूहहरू पनि यसमा जोडिएका छन् । यदि क्युवाले यस कठिन घडीमा आफ्नो मोर्चा सम्हालेर राख्न सक्यो भने, अर्कोतर्फ आकार लिइरहेको बहुध्रुवीय विश्व क्युवाली क्रान्तिजस्ता परियोजनाहरूका लागि धेरै अनुकूल वातावरण साबित हुनेछ ।
त्यसैले पनि क्युवा वर्तमान सङ्कटबाट जोगिनु अनिवार्य छ । यसको विकल्पको स्वतन्त्रता वा लोकतन्त्रसँग कुनै सरोकार छैन ।
यसको विकल्प भनेको मियामी प्रवासमा रहेका क्युवाली सम्भ्रान्तहरूको उदय, पुरानो कुलीनतन्त्रको पुनरागमन र विदेशी पुँजीद्वारा प्रत्येक सार्वजनिक सम्पत्तिको भागबन्डा हुनु मात्र हो । हामीले यल्तसिनको समयको रुसमा वा नेटोको व्यवस्था परिवर्तनको युद्धपछिको लिबियामा यस्तो अवस्था कस्तो हुन्छ भन्ने देखिसकेका छौँ ।
रोजा लक्जमबर्गले सन् १९१६ मा, पहिलो विश्वयुद्धको बिचमा, मानवताको छनोटको बारेमा एक सामान्य भनाइको रूपमा ‘समाजवाद वा बर्बरता’ भन्ने शब्दावली प्रतिपादन गरेकी थिइन् । सन् २०२६ को क्यारिबियन क्षेत्रमा भने यो बहसमा रहेको एक ठोस प्रश्न बनेको छ ।
क्युवा ६७ वर्षदेखि विश्वभरका उत्पीडित र शोषितहरूका लागि आशाको किरणको रूपमा उभिएको छ । यो कार्यकर्ताहरूको पुस्ताका लागि प्रेरणाको स्रोत, साम्राज्यवादविरूद्धको प्रतिरोधको प्रतीक र एउटा भिन्न प्रकारको समाज कस्तो हुन सक्छ भन्ने कुराको नमुना बनेको छ ।
यस सङ्कटको घडीमा सिङ्गंो विश्व क्युवाको पक्षमा उभिनै पर्छ । हामीले नाकाबन्दीको अन्त्य, प्रतिबन्धहरूको अन्त्य र धम्कीहरूको अन्त्यको माग गर्नैपर्छ । हामीले क्युवाको आत्मनिर्णयको अधिकार, सार्वभौमसत्ता र आफ्नै सर्तहरूमा विकास गर्न पाउने अधिकारको समर्थन गर्नैपर्छ ।
स्रोत : मर्निङस्टार अनलाइन
Leave a Reply