भर्खरै :

सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रूपान्तरणको माक्र्सवादी सिद्धान्त –१

  • असार १, २०८३
  • हो चि मिन्ह
  • विचार
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रूपान्तरणको माक्र्सवादी सिद्धान्त –१

आफ्नो अस्तित्वको सुरुवातदेखि नै मानव जातिले अस्तित्व रक्षाका लागि प्रकृति – जङ्गली जनावरहरू, मौसम, इत्यादिका विरुद्ध सङ्घर्ष गर्नुपरेको छ । यस सङ्घर्षमा सफल हुन प्रत्येक व्यक्तिले ठुलो सङ्ख्यामा रहेका मानिसहरूको शक्ति, समष्टि र समाजमा भर पर्नुपर्छ । एक्लै उसले प्रकृतिमाथि विजय प्राप्त गर्न र जीवन निर्वाह गर्न सक्दैन ।
अस्तित्व रक्षाका लागि मानिसले गाँस र बास प्राप्त गर्न उत्पादन पनि गर्नुपर्छ । उत्पादन पनि समष्टि र समाजमा नै भर पर्नुपर्छ । एक्लै व्यक्तिले उत्पादन गर्न सक्दैन ।
हाम्रो युग एक सभ्य, क्रान्तिकारी युग भएकोले सबै कार्यहरूमा समष्टि र समाजको शक्तिमा अझ बढी भर पर्नुपर्छ । पहिलेभन्दा अहिले व्यक्ति अलग बस्न सक्दैन बल्कि समष्टिमा सामेल हुनैपर्छ, समाजमा सामेल हुनैपर्छ ।
त्यसकारण, व्यक्तिवाद समष्टिवादको विपरीत जान्छ† समष्टिवाद र समाजवाद पक्कै पनि विजयी हुनेछन् भने व्यक्तिवाद निश्चित रूपमा हराएर जानेछ ।
उत्पादनको पद्धति र शक्तिहरू निरन्तर विकसित र परिवर्तन भइरहन्छन्† त्यसैले मानिसको सोच, सामाजिक व्यवस्था आदि पनि परिवर्तन हुन्छन् । हामी सबैलाई थाहा छ कि विगतदेखि वर्तमानसम्म, उत्पादनको पद्धति रुखका हाँगाहरू र ढुङ्गाका बन्चरोहरूको प्रयोगबाट विकसित भएर मेसिन, बिजुली र आणविक ऊर्जाको प्रयोगसम्म पुगेको छ । सामाजिक व्यवस्थाहरू पनि आदिम साम्यवादबाट दास–स्वामित्व र सामन्तवाद हुँदै पुँजीवादसम्म विकसित भएका छन् । आज लगभग आधा मानव जाति समाजवाद र साम्यवादतर्फ अघि बढिरहेको छ ।
कसैले पनि यस विकास र प्रगतिलाई रोक्न सक्दैन ।
निजी स्वामित्वको सुरुवातसँगै समाज वर्गहरूमा – शोषकवर्ग र शोषितवर्गमा – विभाजित भएको छ, जसले गर्दा सामाजिक अन्तर्विरोध र वर्गसङ्घर्षको उदय भएको छ । जुनसुकै व्यक्ति पनि अनिवार्य रूपमा कुनै न कुनै वर्गमा पर्दछ र कोही पनि वर्गभन्दा बाहिर रहन सक्दैन । साथै, प्रत्येक व्यक्तिले आफ्नै वर्गको विचारको प्रतिनिधित्व गर्दछ ।
पुरानो समाजमा सामन्ती जमिनदार, पुँजीपति र साम्राज्यवादीहरूले अन्य सामाजिक तप्काहरू, विशेषगरी मजदुर र किसानहरूलाई निर्दयीपूर्वक दमन र शोषण गरे । उनीहरूले समाजद्वारा उत्पादित साझा सम्पत्ति लुटे, त्यसलाई आफ्नो निजी सम्पत्तिमा परिणत गरे र मोजमस्तीमा बाँचे । तर, उनीहरूले ‘सद्गुण’, ‘स्वतन्त्रता’, ‘लोकतन्त्र’… का बारेमा भाषण छाँटिरहे ।
यस दमन र शोषणलाई सधैँभरि सहन अस्वीकार गर्दै मजदुर, किसान र अन्य श्रमजीवी जनताले आफ्नो मुक्तिका लागि र दुष्ट पुरानो समाजलाई एक राम्रो नयाँ समाजमा रूपान्तरण गर्नका लागि क्रान्ति सुरु गरेका छन्, जसमा सबै श्रमजीवी मानिसहरू खुसीसाथ बस्नेछन् र जहाँ मानिसद्वारा मानिसको शोषण निषेध गरिनेछ ।
सफल हुनका लागि, क्रान्तिको नेतृत्व मजदुरवर्ग (सबैभन्दा उन्नत, सचेत, दृढ, अनुशासित र सबैभन्दा व्यवस्थित वर्ग) ले यसको हेडक्वार्टरको रूपमा सर्वहारा पार्टीसँगै गर्नुपर्छ । यो कुरा सोभियत सङ्घ र अन्य समाजवादी देशहरूमा भएको क्रान्तिले अकाट्य रूपमा प्रमाणित गरिसकेको छ ।
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा रूपान्तरण गर्नु निकै गौरवशाली तर अत्यन्तै भारी कार्य, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । पिठ्युँमा भारी बोकेर लामो दुरी तय गर्न बलियो मानिसले मात्र सक्छ । एक क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी कार्य पूरा गर्नका लागि क्रान्तिकारी नैतिकताको बलियो जग बसाल्नुपर्छ ।
पुरानो समाजमा जन्मिएको र हुर्किएको हुनाले, हामी सबैले आफ्नो सोच र बानीबेहोरामा फरक–फरक मात्रामा त्यस समाजका अवशेषहरू बोकेका हुन्छौँ । पुरानो समाजको सबैभन्दा खराब र खतरनाक अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत जान्छ । यसको थोरै मात्र बाँकी रहेको अंशले पनि पहिलो अवसर पाउनासाथ आफ्नो विकास गर्छ, क्रान्तिकारी सद्गुणहरूलाई दबाउँछ र हामीलाई क्रान्तिकारी उद्देश्यका लागि पूर्ण हृदयले सङ्घर्ष गर्नबाट रोक्छ ।
व्यक्तिवाद निकै छली र धोकेबाज कुरा हो, यसले मानिसलाई चलाखीपूर्वक पतनतर्फ लाग्न प्रेरित गर्छ । अनि सबैलाई थाहा छ कि प्रगति गर्नुभन्दा पतन हुनु सजिलो हुन्छ । त्यसैले, यो निकै खतरनाक छ ।
पुरानो समाजका खराब अवशेषहरूलाई त्याग्न र क्रान्तिकारी सद्गुणहरूको विकास गर्नका लागि, हामीले निरन्तर प्रगति गर्न कडा अध्ययन गर्नुपर्छ तथा आफूलाई शिक्षित र परिमार्जित गर्नुपर्छ । अन्यथा, हामी पछाडि हट्ने छौँ र पछि पर्ने छौँ । अन्ततः अगाडि बढिरहेको समाजद्वारा तिरस्कृत हुने छौँ ।
हामीले विद्यालय गएर वा प्रशिक्षण कक्षाहरूमा भाग लिएर मात्र अध्ययन, शिक्षा र आफूलाई परिमार्जित गर्न सक्छौँ भन्ने होइन । प्रत्येक क्रान्तिकारी गतिविधिमा हामीले यो गर्न सक्छौँ र गर्नैपर्छ । भूमिगत क्रान्तिकारी गतिविधिहरू, जनविद्रोह, प्रतिरोधको युद्ध, उत्तरमा समाजवादको वर्तमान निर्माण र राष्ट्रिय पुनःएकीकरणको सङ्घर्ष निकै राम्रा विद्यालयहरू हुन् जहाँ हामी क्रान्तिकारी सद्गुणहरू प्राप्त गर्न सक्छौँ ।
क्रान्तिकारी सद्गुण भएका मानिसहरू न त कठिनाइ, कष्ट वा असफलतासँग डराउँछन्† न त उनीहरू हिचकिचाउँछन् वा पछि हट्छन् । पार्टी, क्रान्ति, वर्ग, राष्ट्र र मानव जातिको हितका लागि उनीहरू आफ्नो व्यक्तिगत स्वार्थ र आवश्यक परेमा आफ्नो ज्यानसमेत बलिदान दिन कहिल्यै हिच्किचाउँदैनन् । यो क्रान्तिकारी नैतिकताको निकै स्पष्ट र उच्च अभिव्यक्ति हो ।
हाम्रो पार्टीमा, कमरेडहरू ट्रान फु, न्गो जिया तु, ले होङ फोङ, नुयेन भान कु, होआङ भान थु, नुयेन थि मिन्ह खाई र अन्य धेरैले जनता र पार्टीको हितका लागि आफ्नो ज्यान उत्सर्ग गर्नुभएको छ, जसले सार्वजनिक हितप्रति पूर्ण समर्पण र पूर्ण निःस्वार्थताको शानदार उदाहरण प्रस्तुत गरेको छ ।
क्रान्तिकारी सद्गुण भएका मानिसहरू सरल र विनम्र रहन्छन् । अझ बढी कष्टहरूको सामना गर्न तयार हुन्छन्† कार्य क्षेत्रमा रहँदा कसरी सबैभन्दा ठुलो पुरस्कार प्राप्त गर्ने भन्ने कुरा सोच्नुको सट्टा आफ्नो कार्यलाई कसरी उत्कृष्ट रूपमा पूरा गर्ने भन्नेबारे सोच्दछन् । हामीले विगतका उपलब्धिहरूको घमण्ड गर्ने र विशेष सुविधाहरू दाबी गर्ने वा नोकरशाही, अहङ्कार र भ्रष्टतामा लिप्त हुने कुराबाट बच्नैपर्छ । यो पनि क्रान्तिकारी नैतिकताकै अभिव्यक्ति हो ।
सङ्क्षेपमा, क्रान्तिकारी नैतिकतामा निम्न कुराहरू समावेश हुन्छन् ः
आफ्नो जीवन पार्टी र क्रान्तिका लागि सङ्घर्ष गर्नमा समर्पित गर्नु । यो सबैभन्दा आवश्यक बुँदा हो ।
पार्टीका लागि कडा परिश्रम गर्नु, पार्टी अनुशासनको पालना गर्नु र पार्टीका नीति तथा कार्यरेखाहरू लागू गर्नु ।
पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा अगाडि र माथि राख्नु । पूर्ण हृदयले जनताको सेवा गर्नु । पार्टी र जनताका लागि निःस्वार्थ रूपमा सङ्घर्ष गर्नु र हरेक दृष्टिकोणबाट अनुकरणीय बन्नु ।
माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न प्रयास गर्नु र आफ्नो वैचारिक स्तर बढाउन, आफ्नो काममा सुधार गर्न र आफ्ना कमरेडहरूसँगै मिलेर प्रगति गर्न निरन्तर आत्म–आलोचना र आलोचनाको प्रयोग गर्नु ।
प्रत्येक क्रान्तिकारीले यो गहिरो गरी महसुस गर्नुपर्छ कि हाम्रो पार्टी मजदुरवर्गको सबैभन्दा उन्नत र सुदृढ सङ्गठन हो । यसले मजदुरवर्ग तथा आम श्रमजीवी जनताको नेतृत्व गर्दछ । वर्तमान समयमा, हाम्रो मजदुरवर्ग सङ्ख्यात्मक रूपमा अझै धेरै नभए तापनि दिनप्रतिदिन विकसित भइरहेको छ । भविष्यमा, जताततै कृषि सहकारीहरू सङ्गठन गरिनेछन्, ग्रामीण भेगमा मेसिनहरूको व्यापक प्रयोग हुनेछ र किसानहरू मजदुर बन्नेछन् । बुद्धिजीवीहरू शारीरिक श्रमसँग राम्ररी परिचित हुनेछन् र मानसिक तथा शारीरिक श्रम गर्नेहरूबिचको भिन्नता बिस्तारै मेटिँदै जानेछ । हाम्रो देशको उद्योग दिनप्रतिदिन विकसित हुनेछ । त्यसैले, मजदुरहरूको सङ्ख्या अझ बढ्दै जानेछ, उनीहरूको शक्ति वृद्धि हुनेछ र मजदुरवर्गको भविष्य महान् तथा गौरवशाली छ ।
यसले संसारलाई र आफूलाई पनि परिमार्जित गर्नेछ ।
क्रान्तिकारीले यो कुरा स्पष्टसँग महसुस गर्नुपर्छ र मजदुरवर्गको दृष्टिकोणमा दृढतापूर्वक अडिग रहनुपर्छ, ताकि समाजवाद र साम्यवादका लागि, मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका लागि पूर्ण हृदयले सङ्घर्ष गर्न सकियोस् । क्रान्तिकारी नैतिकता भनेको पार्टी र जनताप्रतिको पूर्ण बफादारी हो ।
हाम्रो पार्टीले मजदुरवर्ग र श्रमजीवी जनताको हितबाहेक अन्य कुनै स्वार्थ बोक्दैन । त्यसैले, यसको तत्कालीन उद्देश्य उत्तरमा समाजवादको क्रमिक निर्माण र देशको पुनःएकीकरणका लागि सङ्घर्ष गर्नु हो ।
पार्टीको नेतृत्वमा हाम्रा जनताले वीरतापूर्वक लडे, औपनिवेशिक र सामन्ती शासनलाई ढाले र हाम्रो देशको उत्तर भागलाई पूर्ण रूपमा मुक्त गरे । यो एउटा ठुलो सफलता थियो । तर, क्रान्ति अझै पूर्ण रूपमा विजयी भइसकेको छैन । पार्टीको वर्तमान लक्ष्य राष्ट्रिय पुनःएकीकरणका लागि सङ्घर्ष गर्नु हो, ताकि एक शान्त, पुनःएकीकृत, स्वतन्त्र, लोकतान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्न सकियोस्, देशभरि मानिसद्वारा मानिसको शोषणको अन्त्य गर्न सकियोस् र सबैका लागि खुसी तथा प्रचुरतायुक्त नयाँ समाजको निर्माण गर्न सकियोस् ।
यद्यपि, हाम्रो उद्योग अझै पनि पिछडिएको छ । भ्रातृ देशहरू, विशेषगरी सोभियत सङ्घ र चीनको भ्रातृपूर्ण सहयोगका कारण यो विकसित भइरहेको छ । हाम्रो प्रयास सफल हुनका लागि, हाम्रा मजदुरहरूले एकापसमा प्रतिस्पर्धा गर्नुपर्छ र अझ बढी, छिटो, राम्रो र कम खर्चिलो रूपमा उत्पादन गर्न प्रयास गर्नुपर्छ, श्रम अनुशासनको पालना गर्नुपर्छ र आफ्ना उद्योगहरूको व्यवस्थापनमा सक्रिय रूपमा सहभागी हुनुपर्छ : हामीले फजुल खर्च र हिनामिनाको विरोध गर्नुपर्छ । हाम्रा कार्यकर्ताहरू साँच्चिकै मेहनती, मितव्ययी, इमानदार तथा सदाचारी हुनुपर्छ र मजदुरहरूसँगै श्रममा जोडिनुपर्छ ।
हाम्रा किसानहरूलाई जमिन बाँडिएको छ, जसले गर्दा उनीहरूको जीवनमा आंशिक सुधार आएको छ । तर, उत्पादनको पद्धति अझै छरिएको र पिछडिएको छ† त्यसैले उत्पादन अझै धेरै बढ्न सकेको छैन र जीवनस्तरमा सामान्य मात्र सुधार भएको छ । उत्पादनमा ठोस वृद्धि ल्याउनका लागि हाम्रा ग्रामीण भेगहरूमा श्रम–आदानप्रदान टोलीहरू (काम सघाउने समूहहरू) र सहकारीहरू स्थापना गर्ने अभियानलाई व्यापक र दृढतापूर्वक अगाडि बढाउनुपर्छ; तब मात्र हाम्रा किसानहरू गरिबीबाट मुक्त हुन सक्छन् र उनीहरूको अवस्थामा सुधार आउन सक्छ ।
त्यसकारण, क्रान्तिकारी नैतिकता भनेको पार्टीको उद्देश्य प्राप्त गर्न प्रयास गर्नु, मजदुरवर्ग र श्रमजीवी जनताको इमानदारीपूर्वक सेवा गर्नु र कहिल्यै विचलित नहुनु हो ।
पार्टी र श्रमजीवी युवा सङ्घका अधिकांश सदस्य तथा अधिकांश कार्यकर्ताहरूले यसै गरेका छन् तर केहीले भने गरेका छैनन् । उनीहरू गलत ढङ्गले सोच्छन् कि अब उत्तरबाट औपनिवेशिक र सामन्तीहरूलाई धपाइसकिएको हुनाले क्रान्ति सफलतापूर्वक सम्पन्न भइसकेको छ । यही कारणले गर्दा उनीहरूले आफूभित्र व्यक्तिवादलाई बढ्न दिन्छन्, सुखसुविधा र आरामको माग गर्छन् । सङ्गठनद्वारा सुम्पिएको जिम्मेवारी पूरा गर्नुको सट्टा आफ्नो रुचिअनुसारको काम रोज्न चाहन्छन् । उनीहरू उच्च पद त चाहन्छन् तर जिम्मेवारीबाट पन्छिन्छन् । उनीहरूको सङ्घर्षशीलता र ऊर्जा बिस्तारै कमजोर हुँदै जान्छ र उनीहरूको क्रान्तिकारी साहस तथा उदात्त सद्गुणहरू पनि घट्दै जान्छन् । उनीहरू बिर्सन्छन् कि एक क्रान्तिकारीको प्रमुख कसि भनेको पार्टी र क्रान्तिका लागि आफ्नो सम्पूर्ण जीवन सङ्घर्ष गर्ने दृढ सङ्कल्प हो ।
स्रोत : httpsM//en.prolewiki.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *