म नेमकिपा न परेँ
- आश्विन १९, २०८३
अरूको भलाइ नै आफ्नो स्वार्थ सम्झने
देश र जनताको कार्यमा आफूलाई बिर्सिदिने
ए, मेरा साथीहरू
होस् गर –
देखावटी सहानुभूति र
दुई–चार छाकले तिमीहरूलाई किन्न खोज्ने
परिवारको यहाँ कमी छैन,
आफ्नो कार्य नसिद्धिएसम्म तिमीहरूलाई
ज्वाइँ सम्झी टाउकोमा राख्ने
राक्षसनीहरूको यहाँ कमी छैन ।
याद गर मेरा साथीहरू
आफ्नो काम पटाउना साथ तिनीहरूले
दूधको झिंगा जस्तै तिमीहरूलाई फाल्नेछन् ।
अरूको काममा आफूलाई बिर्सने साथीहरू
अरूकै कामको निम्ति
विश्वविद्यालयलाई बिचमै छोड्ने तिमीहरू
अरूको जागिरको निम्ति लड्न
आफ्नो जागिरलाई गुमाउने तिमीहरू
यही देशको निम्ति
आफ्नो घरको बन्धनलाई चुँडालेर फाल्नेहरू
आफ्ना सबै आफन्त र जाल–झेललाई छोड्नेहरू
साझा उद्देश्यकै निम्ति
आफ्ना सबै झिटी–मिटीलाई
च्यातचुत पारेर मिल्काउने तिमीहरू
तर ध्यान दिएर सुन
मेरा प्यारा साथीहरू
गोबरमा स्याउँ–स्याउँती परेका कीराहरू
तिमीहरूबारे के भन्दै छन् –
यिनीहरूको कुनै घर–बार छैनन्,
यिनीहरूसँग विश्वविद्यालयका
प्रमाणपत्रका मालाहरू पनि छैनन्
एक मोटो रकम आउने
कमाइ यिनीहरूको छैन
हेर्दैनन् आफन्तहरूले पनि यिनीहरूलाई,
घर–खेत र जात–पात नभएका यिनीहरू
बङ्गला र मोटरकार बनाउने कामहरू
गर्दैनन् यिनीहरू,
हल्ला मचाउनुबाहेक यिनीहरू
केही गर्न सक्दैनन्
छोरी दिने कुरो आउँदैन यिनीहरूलाई ।
आफूलाई बिर्सने मेरा साथीहरू
पैसामा आफूलाई बेचिएका
यी कुहेका नोकर र चाकर्नीहरूको
यी घीनलाग्दा वाक्यहरूबाट तिमीहरू
पटक्कै विचलित नहुनू,
घर–खेत र पैसालाई
आफ्ना छोरीहरू बेच्ने पातकीहरूको
हेलामा तिमीहरूले चित्त नदुखाउनू,
नाफाको निम्ति, मात्र नाफाको निम्ति
आफू र आफ्ना छोरीहरूलाई
बजार र अड्डामा बेच्न तयार
ती खान्दानी महिलाहरूको
नीचतापूर्ण अपमानबाट तिमीहरू
दिक्क नमान,
महिनाको २–४ सयको निम्ति
छोरीलाई अरूको पिछलग्गू बनाउने
२–४ हजार पैसाको निम्ति
आफ्नो कला, संस्कृति र देशलाई बेच्न तयार
ती ‘भलादमी’ हरूको होचोहरूबाट तिमीहरूले
आफ्नो धैर्यलाई कहिल्यै नटुटाऊ ।
जात–पात र ईश्वर पुजेर
आफ्नो नाङ्गो नाच हेरेर अघाएका,
अरूको पसिनाको भरमा घमण्डले
दिनभर घर बसी
अरूको निन्दा र चर्चामै बाँचेका
कुहेका विचारले ग्रस्त पिसाचनीहरूको
कटू वचनले तिमीहरू
अलिकति पनि नडग्नू,
बरु तिमीहरू
अझ जोश र रिसले
समाजका कुरीतिहरूको विरोधमा
आफ्नो घृणालाई झन् फैलाउनु,
भित्रभित्रै समाजलाई बिगार्ने
बोक्सी र वैद्यहरूका चरित्रहरूलाई
निर्ममतापूर्वक
स्वार्थको गोबरमा स्याउँ–स्याउँती
उम्रेका ती कीराहरू र
नालीको फोहरमा उडिरहने
ती सेता कीराहरूको गाली–सराप
घमण्ड र जाल–झेललाई
खुट्टाले कुल्चिँदै अगाडि बढ्नू
समाजका शत्रुहरूको सेखी झार्ने तिमीहरू
झन् जोश र साहसले
गौरवपूर्ण बाटोमा लम्किरहनू
आफ्नो आजुतिर बढिरहनू
आफूलाई बिर्सने मेरा साथीहरू !
आकाश बाँधिएको छैन (कविता सङ्ग्रह)
Leave a Reply