भर्खरै :

साम्राज्यवादीहरूको “छद्म युद्ध” अध्ययन ४०

साम्राज्यवादीहरूको “छद्म युद्ध” अध्ययन ४०

सन्दर्भ : माडागास्करको जेनजी आन्दोलन
माडागास्कर पूर्वी अफ्रिकाको तटबाट करिब ४०० किलोमिटर (२५० माइल) टाढा हिन्द महासागरमा रहेको विश्वको दोस्रो ठूलो टापु देश हो । यसको क्षेत्रफल ५,८७, २९५ वर्गकिलोमिटर छ भने Worldometer का अनुसार २०२६ को मध्यसम्ममा जनसङ्ख्या करिब ३ करोड ३५ लाख २२ हजार ५२ पुगेको छ । माडागास्करको सबभन्दा ठूलो शहर तथा राजधानी एन्टानानारिभो (Antananarivo) हो ।
माडागास्करका बासिन्दालाई ‘मालागासी’ भनिन्छ । मालागासीहरूले आफूलाई अफ्रिकी मान्दैनन् । मालागासीहरूको संस्कृति इन्डोनेसियालीहरूसँग मिल्दोजुल्दो मानिन्छ । अधिकांश मालागासीहरू ग्रामिण क्षेत्रमा बसोबास गर्छन् । माडागास्करका ८० प्रतिशत जनता खेतीपाती गरेर जीविकोपार्जन गर्छन् । विश्व बैङ्कको अनुसार माडागास्करका तीनचौथाइ जनता गरिबीको रेखामुनि छन् । यहाँको प्रति व्यक्ति आय करिब ५२९ डलर छ । माडागास्करका एकतिहाइ (करिब ३६ प्रतिशत) जनताले मात्र बिजुली उपभोग गर्न पाएका छन् । यहाँ पानी र बिजुलीको ज्यादै समस्या रहेको छ ।
माडागास्कर लामो समयसम्म फ्रान्सको उपनिवेश रहेको थियो । सन् १८९६ मा फ्रान्सले माडागास्करलाई आफ्नो कब्जामा लिएर अर्को वर्ष उपनिवेश घोषणा गरेको थियो । औपनिवेशीकताकै कारण प्रथम विश्वयुद्धमा मालागासी सेनाले फ्रान्सको लागि लडेको थियो । सन् १९४७ तिर माडागास्करमा स्वतन्त्रताको माग गर्दै विद्रोह सुरु भयो । स्वतन्त्रता आन्दोलन अगाडि बढ्दै गएपछि सन् १९५८ जून २६ मा माडागास्करलाई फ्रान्सेली समुदायभित्र एक स्वायत्त राज्यको रूपमा घोषणा गरिएको थियो । सन् १९५९ मा माडागास्करको संविधान लागु भएपछि सन् १९६० जुन २६ मा फ्रान्सबाट पूर्ण स्वतन्त्र भएको हो । फ्रान्सबाट स्वतन्त्र भए पनि माडागास्करमा फ्रान्सको औपनिवेशिक प्रभाव भने अझै बाँकी छ । यहाँ मालागासी र फ्रान्सेली भाषालाई आधिकारिक भाषा मानिन्छ ।
जेनजी आन्दोलन
नेपालमा जेनजीको नाममा भएको नयाँ पुस्ताको आन्दोलनको १ महिनापछि नै उस्तै ढङ्गमा माडागास्करमा पनि जेनजी आन्दोलन भयो । सन् २०२५सेप्टेम्बर २५ देखि अक्टोबर १४ सम्म जेनजीको नाममा भएको नयाँ पुस्ताको आन्दोलनले माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना (andry Rajoelina) देश छोडेर भाग्न बाध्य भए ।
माडागास्कर विश्वव्यापी भोकमरी सूचकाङ्क २०२५ मा विश्वको १२३ मध्ये १२० औँ र मानव विकास सूचकाङ्कमा १९३ मध्ये १८३ औँ स्थानमा रहेको छ । माडागास्करमा युवा बेरोजगारीको दर उच्च छ भने भ्रष्टाचार पनि बढ्दो छ । सरकारी संयन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । माडागास्करका जनतालाई पर्याप्त बिजुली र पानी उपलब्ध छैन । त्यहाँका शहरी क्षेत्रका जनताले समेत १२ घण्टासम्मको बिजुली कटौतीको सास्ती भोग्नुपरिरहेको छ । वाटरएड नामक गैरसरकारी संस्थाका अनुसार सन् २०२१ मा लगभग १ करोड २० लाख मालागासीहरू स्वच्छ पिउने पानीबाट वञ्चित भए । सन् २०२५ सम्ममा गरिबीले माडागास्करका ८० प्रतिशत जनता प्रभावित भए । हप्तौँसम्म लोडसेडिङ र खानेपानीको चरम अभाव भएपछि जेनजीको नाममा जनता सडकमा उत्रिएको विश्लेषकहरू बताउँछन् ।
आर्थिक चुनौतीको बाबजुदमा डागास्करमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ । प्रदर्शनको क्रममा फेसबुक, टिकटक, डिस्कर्डलगायतका सामाजिक सञ्जालका प्लेटफर्महरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नयाँ पुस्ताका प्रदर्शनकारीहरूमा डिजिटल दक्षता त थियो तर राजनीतिक एजेन्डा तथा सुझबुझको अभाव थियो । माडागास्करको जेनजी आन्दोलन पनि स्पष्ट रूपमा कुनै एउटा राजनीतिक दल वा समूहले नेतृत्व गरेको थिएन । आन्दोलन नेतृत्वविहीन नै थियो । सामाजिक सञ्जालहरूले नै आन्दोलनलाई गति दिएको देखिन्छ । माडागास्करका युवाहरू द्रुत गतिमा बिग्रँदै गएको जीवनयापनको विरोध गर्न सडकमा उत्रिएका थिए । आन्दोलनको मुख्य नारा नै “हामी बाँच्नको लागि मात्र होइन, हामी जीवन जिउन चाहन्छौँ” भन्ने थियो ।
विरोध प्रदर्शनको सुरुमा शहरी युवाहरूको बाहुल्यता थियो भने पछि अन्य क्षेत्रका मानिसहरू पनि संलग्न भए । आन्दोलनको क्रममा ‘मित्सांगना रे तानोरा’ (Mitsangana ry tanora)बोलको राष्ट्रवादी गीत गाउँदै प्रदर्शनकारीहरू सडकमा देखिए । ‘एन्ड्री राजोएलिना मासोसोपोरी’ ‘We Don’t Want A French President For Madagascar!!!’ जस्ता नारा र प्लेकार्ड बोकेर विद्यार्थीहरूले सडकमा प्रदर्शन गरे । प्रदर्शनकारीहरूले माडागास्करका राष्ट्रपति राजोयलिनासँग फ्रान्सको नागरिकता रहेको आरोप पनि लगाए ।
शान्तिपूर्ण जेनजी आन्दोलन भनिए पनि प्रदर्शनको क्रममा अन्तानानारिभोमा भएका विभिन्न बैङ्क र प्रतिष्ठानहरूमा लुटपाट भयो । प्रदर्शनकारीहरूले एनोसिबेमा रेलवे स्टेशन, केबल कार प्रणालीको होटल, बैङ्क र स्टेशनहरूमा आगो लगाए । उनीहरूले राजोएलिना नजिक मानिएका राजनीतिज्ञहरू सिनेटर ललाटियाना राकोटोन्ड्राजाफी र सांसद नाते राहोल्डिना लगायतका घर पनि जलाइदिए । उक्त आन्दोलनमा प्रदर्शनकारी र नागरिकहरूसहित कम्तीमा २२ जनाको मृत्यु भयो भने सयौँ घाइते भए ।
आन्दोलनले चरम रूप लिएपछि सेनाको एक विशेष युनिट ‘CAPSAT’ -Corps d’Administration du Personnel des Services Administratifs et Techniques_) ले आन्दोलनकारीलाई साथ दियो । सेना प्रदर्शनकारीहरूसँगै सडकमा देखा प¥यो । त्यसपछि राजोएलिना फ्रान्सको सहयोगमा देश छोडेर भागे । २०२५ अक्टोबर १४ मा क्यापस्याटले माडागास्करको सत्ता आफ्नो हातमा लिएको घोषणा ग¥यो । अक्टोबर १७ मा कर्नेल माइकल रान्ड्रियानिरिना (Michel Randrianirina) ले राज्य प्रमुखको रूपमा शपथ लिए । उनले प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्ने र दुई वर्षभित्र चुनाव गराउने वाचा गरे । तर, अहिलेसम्म प्रदर्शनकारीहरूका माग पूरा भएका छैनन् ।
माडागास्करमा सैन्य कब्जापछि प्रत्येक महिना गैरकानूनी तथा मनमानी गिरफ्तारी, सरकारको विरोधमा बोल्नेलाई तर्साउने, धम्काउने गतिविधि बढेको समाचार छ । माइकल रान्ड्रियानिरिना (Michel Randrianirina) ले सत्ता सम्हालेपछि राज्यको कार्यकारी शाखामा लगभग ६०० नियुक्तिहरू भए । तर, त्यस्तो नियुक्तीमा आन्दोलन गरेर सत्ता उल्टाएको दाबी गर्ने जेनजी युवा तथा नागरिक समाजसँग न छलफल गरिएको थियो न उनीहरूको संलग्नता नै थियो । सेनाले सत्ता हातमा लिएपछि पनि पानी र बिजुलीलगायत माडागास्करको कुनै पनि समस्या समाधान भएका छैनन् । विभिन्न मानव अधिकारवादी संस्थाहरूले युवाहरूलाई राजनीतिक प्रक्रियाबाट बाहिरै राखेको भनेर आलोचना गर्दै छन् ।
क्रमश :
२०८३ असोज १८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *