राजनीतिक पार्टीहरू देशभक्त हुनुपर्नेमा जोड
- आश्विन १६, २०८३
सुर्खेत, १७ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शनिबार वीरेन्द्रनगरमा नेपाल मजदुर किसान पार्टीको दोस्रो नगर सम्मेलनको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सचिव सुवालले भन्नुभयो, “राजनीति सबै नीतिको मुख्य नीति हो । यस अर्थमा मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी सबै राजनीतिमा लाग्नु स्वाभाविक हुन्छ । शासक दलहरूले शिक्षक, कर्मचारी, प्राध्यापक, विद्यार्थीलाई राजनीतिमा लाग्नु हुँदैन भन्नु देशलाई भ्रष्टाचार र पक्षपातमा लानु भन्नु हो । देश र जनताको निःस्वार्थ सेवा हुने राजनीतिमा शिक्षक, कर्मचारी, प्राध्यापक, विद्यार्थी सबै लाग्नु जरूरी हुन्छ ।”
नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू पार्टीको विधान र अनुशासनलाई पालना गर्ने अडानमा दृढ भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्मका शासक पार्टी र तिनका नेताहरूले सर्वसाधारण जनतालाई झूटा आश्वासन दिई पालैपालो सरकार चलाउँदै आएको हो । नेमकिपा नै नेपालको देशभक्त पार्टी हो ।”
सचिव सुवालले भन्नुभयो, “नेका, एमाले, माओवादी (हाल नेकपा) का नेताहरूकै असफलताको कारण गत वर्ष भदौ २३ र २४ गते उपद्रो गर्नेहरूलाई मौका मिलेको हो । नेपालका बहुमत जनतालाई यो यथार्थबारे सचेत र सङ्गठित पार्न नसकिएसम्म आमूल परिवर्तन आउनेछैन । अर्थात् जनता सचेत नभई पुरानो राज्य व्यवस्था खारेज हुँदैन ।”
नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईंले दसैँजस्तो सांस्कृतिक पर्वलाई जनताको चेतनास्तर उठाउन सिर्जनात्मक र रचनात्मक उपयोग गर्नुपर्छ भन्नुभयो ।
कर्णालीमा नेमकिपाको सक्रियता र जनसमर्थनबाट अत्तालिएका पञ्चायत र प्रजातान्त्रिक एवम् कथित वामपन्थी शक्तिहरूले नेमकिपाका कार्यकर्ताहरूलाई जेलनेल र यातना दिएको बताउँदै संयोजक गोसाईंले नेपालको अर्थतन्त्रको लागि भारतीय एकाधिकार पुँजी बाधक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सल्लाहकार नर्मा गुरूङले महिलाहरूलाई राजनीतिक रूपमा बुझाउन सके समाज अगाडि बढ्न सहज हुने बताउँदै धनी परिवारमा जन्मिएको भए पनि फिडेल क्यास्ट्रोले कामदार जनताको निम्ति सङ्घर्ष गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले नवउदारवादी प्रभावबाट जोगिन वर्गसङ्घर्ष उठाउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखतबहादुर थापाले कामदार जनतालाई वैचारिक रूपमा बुझाउन सके जनताको सहयोग र समर्थन प्राप्त हुन्छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले महिला हिंसा गर्ने पीडकलाई कारबाही गर्न र पीडितलाई न्याय दिन शासकहरूले चासो दिएका छैनन् भन्नुभयो ।
नेमकिपा वीरेन्द्रनगर नगर सम्मेलन तयारी समितिका संयोजक शेरबहादुर शाहीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा हरिबहादुर बोहरा, धनेन्द्र बिक, गणेश खड्का, रामप्रसाद तिमिल्सिना, मनबहादुर बिक, रमा गिरि, बिजुकला रोकाया, छत्रिका बिक, कल्पना सिजापति, यमुना सुनार, सर्मिला बिक, हस्त गुरूङ र अङ्गबहादुर शाहीले शुभकामना मन्तव्य तथा गीत नृत्य प्रस्तुत गर्नुभयो ।
Leave a Reply