भर्खरै :

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा, १५ जेठ (रासस) ः विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ ।
सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
“विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो” विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले भन्नुभयो, “यस्तो समस्या देखिएपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।”
आइतबार पनि दुई÷तीन जना विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको विद्यालयले जनाएको छ । “यो यौवनावस्थामा प्रवेश गर्न लागेका विशेष गरी किशोर किशोरीमा देखा पर्ने एक प्रकारको मनोवैज्ञानिक समस्या हो”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव देवेन्द्रप्रसाद भट्टराईले भन्नुभयो ।
उहाँले भन्नुभयो, “एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास हिस्टेरिया फेरि पनि देखिन सक्ने भएकाले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई परामर्श दिएका छौँ ।”
आज पनि विद्यालयमा मास हिस्टेरियासम्बन्धी समस्या नदेखियोस् भन्नका लागि एकदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *