यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ज्यान मार्ने फौजदारी मुद्दाका दोषी बालकृष्ण ढुङ्गेल मङ्गलबार जेलमुक्त गरिएका छन् । ‘असल चालचलन’ को कानुनी चोरबाटो दुरुपयोग गरेर उनी रिहा भएका हुन् । ढुङ्गेल राजनीतिक संरक्षणका आधारमा जेलमुक्त भएको कुरा घाम जत्तिकै छर्लाङ्ग छ । तेल के हेर्नु, तेलको धारा हेर्नु भन्ने उखानजस्तै अहिलेको सरकार कस्तो सरकार हो, बुझ्न यो घटना आफैमा मनग्य छ । यो सरकार ‘वामपन्थी’ को नक्कली खोलभित्र लुकेको अपराधीहरुको सरकार हो भन्ने कुरा ढुङ्गेलको रिहाईले प्रष्ट बनाएको छ ।
गणतन्त्र दिवसको दिन अदालतले हत्यारा करार गरेको एक जना अपराधीलाई थुनामुक्त गरेर सरकारले हजारौं योद्धाको बलिदान र समर्पणबाट प्राप्त भएको गणतन्त्रको उच्चतामाथि खिल्ली उडाएको छ । ढुङ्गेलको मुद्दा राजनीतिक मुद्दा होइन । यो फौजदारी मुद्दा हो । द्वन्द्वकालमा भएका फौजदारी अपराध र जघन्य अपराधीलाई कानुनबमोजिम कार्वाही गर्नु नै संक्रमणकालीन न्यायको ओज हो । तर आज ढुङ्गेलले राजनीतिक संरक्षण लिएको दल सरकारमा गएको मौका पारेर उनलाई उनले गरेको अपराधको पापबाट मुक्त गरिएको छ । सरकारले बालकृष्ण ढुङ्गेल दोषी थिएनन्, उनले कुनै अपराध गरेका थिएनन् भन्न हिम्मत गर्न सकेन, बरु आफू सत्तासीन भएको मौका पारेर ‘कानुनी’ दुलोबाट उनलाई कैदमुक्त गरेको छ ।
ढुङ्गेलको मुद्दा यहाँसम्म पु¥याउन केही विदेशी शक्ति केन्द्र र गैरसरकारी संस्थाहरुले पनि भूमिका खेलेकोमा कुनै विवाद छैन । विभिन्न कालखण्डमा बालकृष्ण ढुङ्गेलको मुद्दालाई माओवादी इत्तरका राजनीतिक दलहरु तात्कालीन एमाले र काङ्ग्रेसले आ–आफ्नो अनुकूलतामा प्रयोग गरेका हुन् । तर सम्मानित अदालतले ढुङ्गेललाई दोषी ठहर गरी जेल चलान गरिसकेको अवस्थामा उनलाई दोषमुक्त कसैले भन्न मिल्दैन । कसैले कुनै राजनीतिक परिवर्तनको लागि लड्दैमा उसले गरेका सबै गल्ती कमजोरी र अपराधलाई माफी दिनु तर्कसंगत होइन । ढुङ्गेल माओवादी कार्यकर्ता भएकाले उनी राजनीतिक आन्दोलनमा सहभागी बनेका हुनसक्छन् । तर त्यही कारणले उनले गरेका सबै अपराधलाई उन्मक्ति दिनु कानुनीशासनको उपहास हो ।
तात्कालीन एमालेले आज एकीकृत पार्टीको नाममा आफूले पनि अपराधी भन्दै आएको व्यक्तिलाई जेलमुक्त गर्न भूमिका खेलेको छ । अर्थात् हिजो एमालेले माओवादीमाथि लगाएको दोषारोपण पानीमाथिको ओभानो बन्ने र जनताको आँखामा छारो फाल्ने खेल मात्र भएको पुष्टि भएको छ । आफूलाई ‘वामपन्थी’ भन्ने यो सरकारले यसप्रकार फौजदारी मुद्दाका दोषीलाई ‘चालचलन असल भएको’ भन्दै कैदमुक्त गरी वास्तवमा वामपन्थी शब्दकै बेइज्जत गरेको छ, अपमान गरेको छ ।
राजनीतिक संरक्षण भए मान्छे मारे पनि कुनै पनि बेला असल आचरणको नाममा सजायमुक्त हुने नजीर यो घटनाले बसाल्नेछ ।
ढुङ्गेलको मुद्दाबारे अदालतमा चालु बहस पैरवीसमेत बीचमा रोकेर कैदमुक्त गर्नुले सम्मानित न्यायपालिकाको प्रक्रियामाथि कार्यपालिकाले हस्तक्षेप गरेको छ । ढुङ्गेलको रिहाईले प्रष्टतः वर्तमान सरकारको जग के हो देखाएको छ । ‘वामपन्थी’ शब्दको दुरुपयोग गरी बनेको यो सरकार अपराधी र भ्रष्टाचारीको जगमा उभिएको ढुङ्गेलको रिहाईले प्रतिविम्बित गरेको छ ।
अनिल सुवाल, व्यासी भक्तपुर
Leave a Reply