लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम
- असार ६, २०८३
भक्तपुर, ६ असार । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसरमा ब्यासी टोल क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
सफाइ कार्यक्रम ब्यासी टोलका दुईवटा पोखरी, चारवटा ढुङ्गेधारा (सोधला हिटी ढुङ्गेधारा, दाफा फल्चा ढुङ्गेधारा, नगरकोट सडकसँगैको ढुङ्गेधारा तथा ठुलो ब्यासी टोलको ढुङ्गेधारा), जालाँचा, सहरी जनस्वास्थ्य केन्द्र सानो ब्यासी, भिन्तुना साकोससँगैको बाटो तथा ननिप्वाल इनार वरपर सरसफाइ गरी झार–घाँस उखेल्ने र चुन छर्ने कार्य सम्पन्न गरिएको थियो ।
सरसफाइ कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, संस्थापक सदस्य, विभिन्न समिति तथा उपसमितिका सदस्यहरू, टोलवासी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता थियो ।
संस्थाका अध्यक्ष राजकुमार लघुले सरसफाइ सभ्यताको चिह्न भएको उल्लेख गर्दै टोलका इनार, पोखरी तथा ढुङ्गेधाराहरूको सरसफाइ गर्नु हरेक नागरिकको परिचय भएको बताउनुभयो । उहाँले बचत गर्दा आफ्नै टोलका दाजुभाइ तथा स्थानीय नेतृत्व रहेको संस्थामा बचत गर्न आग्रह गर्दै ब्याजको लोभमा बजारमुखी संस्थाहरूमा बचत गर्दा बचतको सुरक्षा जोखिममा पर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै ख्वप साकोसको आयोजनामा असार ७ गतेदेखि सांस्कृतिक गतिविधिअन्तर्गत भ्वाइलेन तथा बाँसुरी बाजा प्रशिक्षण सञ्चालन हुने जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले भक्तपुर नगरपालिकाको अनुरोधअनुसार सञ्चालक समितिको आयोजनामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले टोल–टोलमा रहेका पानीका स्रोत, पोखरी, इनार तथा ढुङ्गेधाराहरू सफा राख्न सके रोगव्याधिबाट बच्न सकिने बताउनुभयो ।
Leave a Reply