के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
लामो समयदेखि इतिहास र संस्कृतिको अध्ययन र अनुसन्धान गर्दै आउनुभएका प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ हालै इतिहास रत्न सम्मानबाट सम्मानित हुनुभएको छ । ललितपुरस्थित जोशी रिसर्च इन्स्टीच्युटले उहाँलाई सो सम्मानबाट विभूषित गरेको हो । दर्जनभन्दा बढी इतिहास र संस्कृतिबारेका पुस्तकका लेखक डा.श्रेष्ठसँग अनलाइन मजदुरले गरेको संवाद प्रस्तुत छ ः
–इतिहास रत्न सम्मान पाउनुभयो । कस्तो लाग्यो त्यो क्षण ?
भावनात्मक दृष्टिले समेत मेरो जीवनको सबैभन्दा सुखद् एवं चरम सम्मानित क्षण थियो–त्यो । विगत तीन दशकभन्दा लामो समयदेखि इतिहास, संस्कृति र पुरातत्वका बारेमा नूतन कुराहरू प्रकाशमा ल्याएको मात्र नभएर खासगरी अग्रणी खोजहरू गरेकै कारण पनि मलाई यो सम्मान दिइएको हो भन्ने लागेको छ । नेपालको इतिहास र संस्कृतिका बारेमा मात्र नभएर अन्य विधामा समेत विदेशी विद्वान्हरूको भूमिका अग्रणी रहिआएको छ । नेपालको इतिहास लेख्ने पहिलो विद्वान् स्वदेशी नभएर विदेशी नै थिए । वैज्ञानिक, प्रामाणिक इतिहासलेखनको मूलस्रोत सामग्री पुरातात्विक महत्वका अभिलेख हुन् । अभिलेख पनि अनेक प्रकारका छन् । शिलालेख, चट्टानलेख, गुहालेख, स्तम्भलेख पाटीलेख लगायत काठ, धातु आदिमा कुँदिएका अभिलेख आदि उदाहरणस्वरूप छन् । लुम्बिनीको अशोकस्तम्भ अभिलेख होस् वा चाँगुको मानदेव प्रथमको गरुडस्तम्भ अभिलेखलगायत लिच्छविकालका अन्य अभिलेखहरू प्रकाशमा ल्याउने प्रथम विद्वान पनि विदेशी नै थिए । यसरी नेपालमा अभिलेख–खोजको इतिहास पनि आजभन्दा १४० वर्ष पुरानो भइसकेको छ । र, यसरी एउटा युग बितेर अर्को युगको थालनी भइसकेको चार दशक बितिसक्दा पनि नितान्त दुर्लभ मानिने चट्टानलेख, गुहालेख एवं अन्य सम्पदाहरू भने यस अघि पत्ता लागेको थिएन वा भनौं हाम्रा विद्वान्हरूको ध्यान त्यतातिर गएन । चाँगुको नाकैमुनि रहेको कालिका गुफातिर पनि गएन । मेरा लागि किताबका पाना भन्दा पनि यत्रतत्र छरिएर रहेका सम्पदा खुला आकाशमुनिका खुला किताबका खुला पाना हुन् । ती पानाहरू पढ्न स्थलगत अध्ययन नगरी सुखै छैन । कहिलेकाहीँ मेरा साथमा मेरा विद्यार्थीहरू पनि पछि लागेर आउँछन् । यसरी दुर्लभ कुराहरू वा भनौं अग्रणी महत्वका कुरा पत्ता लाग्छन् । कोठाभित्रको अध्ययनले यी विश्व–सम्पदा पत्ता लाग्दैनन् । यसरी यस अघि पत्ता नलागेका अग्रणी महत्वका दुर्लभ सम्पदा पत्ता लगाएर मैले चट्टान अभिलेख र अन्य सम्पदा (२०६७) र त्यसैगरी हालै गुहा, गुहालेख, गुहाचित्र र अन्य सम्पदा नामक अन्वेषणात्मक ग्रन्थ लेखेका कारण जोशी रिसर्च इन्स्टिच्यूट,ललितपुरले मलाई इतिहास–रत्नको सम्मान प्रदान गरेको हो । म त एक प्रतिनिधि–पात्र मात्र हुँ । यो सम्मान सारा भक्तपुरबासीले पाएको आजसम्मकै पहिलो र उच्च सम्मान हो भन्ने मलाई लाग्छ । नेपाली संस्कृतिलाई भित्री मनले माया गरी यसको संरक्षण एवं संरक्षणमा लागेर सर्वत्र फैलाउने सबैप्रति यो सम्मान समर्पित गर्न चाहन्छु ।
इतिहास निष्पक्ष हुनुपर्छ । कसैको बारेमा लेखिएको तथाकथित चाकडी, स्तुति वा गुनगान वा सत्ता वा शक्तिको सामुन्ने घुँडा टेकेर लेखिएका कुराले निष्पक्ष इतिहास निर्माण हुन्न । दुःखको कुरा छ, हिजो यहाँ यस्तै भए, त्यस्तै लेखिए ।
–इतिहास अध्ययनप्रति रुचि कहाँबाट आरम्भ भयो ?
घरमा, बा आमाबाट । नेपाल किंवदन्तीहरूको पनि देश हो । देशको उत्पत्तिदेखि लिएर यहाँका जात्रा चाडपर्वहरू एवं विगतमा घटेका राष्ट्रिय महत्वका उल्लेख्य घटनाहरूका बारेमा समेत अनेक रोचक किंवदन्तीहरू लोकजीवनमा चलिआएका
छन् । बा–आमाले बेलाबखतमा, चाडपर्वका बेलामा सुनाउने किंवदन्तीहरूले पुराना कुरा जान्ने उत्सुकता बढेर आयो । एस.एल.सी परीक्षा उतीर्ण भएपछि, घरमा बा–आमासित सल्लाह गरेर इतिहास मूल विषय लिई कलेजमा भर्ना भएँ । इतिहासमै स्नातकोत्तर गरेपछि यही विषय लिएर आजसम्म अध्यापन गर्दै आइरहेको छु । र, वि.सं.२०४३ सालतिर मित्र डा. भद्ररत्न बज्राचार्यको संगतमा लागेपछि भने इतिहास–अन्वेषणतिर लागें । उहाँकै सल्लाह–सुझावमा प्रसिद्ध इतिहासकार धनबज्र बज्राचार्यलाई गुरु थापेर इतिहास–संस्कृति विषयमा विद्यावारिधि गरें । त्यसबेलादेखि आजसम्म अध्ययन–अध्यापनको अतिरिक्त वैज्ञानिक ढङ्गले अन्वेषण कार्य गर्दै आइरहेको छु ।
–अध्येताहरु नेपालको इतिहासको वैज्ञानिक अध्ययन नभएको, भएका जति पनि या त विदेशीहरुले आफ्नो आग्रह मिसाएर नेपालको इतिहास अध्ययन लेखेका अथवा नेपालका केही इतिहासकारहरु दरबारको तलब खाएर चाकडीको इतिहास लेखेको भन्ने गर्छन् । तपाईको धारणा के हो ?
कुरा सही हो । वैज्ञानिक ढङ्गले लेखिएको छैन भने त्यो इतिहास होइन, कथा मात्र
हो । प्रमाणका आधारमा ज्ञात हुने विगतको सत्य घटनाको यथार्थ विवरण वा प्रस्तुति इतिहास हो । इतिहास निष्पक्ष हुनुपर्छ । कसैको बारेमा लेखिएको तथाकथित चाकडी, स्तुति वा गुनगान वा सत्ता वा शक्तिको सामुन्ने घुँडा टेकेर लेखिएका कुराले निष्पक्ष इतिहास निर्माण हुन्न । दुःखको कुरा छ, हिजो यहाँ यस्तै भए, त्यस्तै लेखिए । त्यस्ता कुराले कसरी सही इतिहास जान्न सकिन्छ र ? देश र जनतालाई भ्रममा पार्ने इतिहास लेखिए । हिजो राजा महाराजाहरूका मात्र एकोहोरो इतिहास लेखियो । इतिहास जनताहरूको पनि हो । आखिर शासक पनि त जनताकै अंश न हो । अब जन–इतिहास लेखनको युग आएको छ । अर्को शब्दमा भन्ने हो भने निर्धक्कले निष्पक्ष इतिहास लेखनको युग आरम्भ भएको छ । इतिहासले वर्तमान चल्छ । वर्तमानले भविष्य सुनिश्चित र समृद्ध हुन्छ भन्ने कुरालाई बिर्सनु हुन्न ।

अनुसन्धानमा आफ्ना विद्यार्थीहरुसँग डा. श्रेष्ठ
सरकारले इतिहासलाई बुझेकै छैन, यसको महत्वलाई जानेकै छैन भन्ने प्रतीत भइरहेको छ । यदि गम्भीर भइदिएको भए हामी जस्ता अन्वेषकहरूले आङ्खनै मेहनत र पसिनाको लगानीले मात्र यसमा लाग्नुपर्ने थिएन । कुनै सरकारी निकायबाट अध्ययन–अनुसन्धान गर्नेलाई प्रोत्साहित गरेको आभास पनि छैन । सरकार यस विषयमा गम्भीर भइदिएको भए आज इतिहास र संस्कृति विषयका विद्यार्थीहरू सुक्ने पनि थिएन ।
–इतिहास पढ्छु भन्ने विद्यार्थीहरु त विश्वविद्यालयहरुमा घटिरहेका छन् नि । एक जना इतिहासकारको रुपमा यसलाई कसरी हेर्नुहुन्छ ?
पक्कै हो । यसो किन भयो भन्ने कुराको उत्तर प्रष्टै छ र यसको उत्तर माथि पनि आइसकेको छ । इतिहास पढेकाहरूले काम वा विषयअनुसारको रोजगार पाइरहेका छैनन् । सरकारले यो गम्भीरतालाई बुझेर बेलैमा यथोचित कदम चालेन भने भोलि राष्ट्रिय संकट आउने छ । इतिहासको महत्वलाई त्यतिबेला मात्र बुझनेछ ।
–अन्त्यमा इतिहासको व्याख्या कसरी गर्नुहुन्छ ?
यसको केही उत्तर त प्रकारान्तरमा माथि पनि परिसकेको छ । समग्रमा भन्ने हो भने विगतको सत्य,तथ्य विवरण इतिहास हो । वर्तमानको ऐना हो–इतिहास । इतिहासरूपी ऐना हेरेर वर्तमान व्यवस्थित हुन्छ । व्यवस्थित वर्तमानले मात्र समृद्ध संभव हुन्छ ।
Leave a Reply