भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३८

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३८

आन्दोलनमा संलग्न सहयोगी ऋषि थापाको कागज व्यहोरा
म पनि जेनजेड पुस्तामा पर्ने हुँदा रक्षा बमको समूहमा आबद्ध भई सामाजिक सञ्जालमार्फत आन्दोलनको आह्वान गरिरहेको थिएँ । आन्दोलनको लागि मैले ‘पृथ्वी सुब्बा गुरुङ कमिसनको बाटो, जनताको भविष्य कहिले खोल्ने गाँठो’, ‘रमेश लेखक मान्छे बेच्ने काम, जनताको अधिकार भयो बदनाम’, ‘युवा अघि बढ्छ, देश अघि सर्छ, भ्रष्टाचारी ढल्छ’, ‘साहस नभए स्वतन्त्रता आउँदैन, सङ्घर्ष नगरे विजय पाउँदैन’, ‘जनताको पसिना देउवाको खानामा, जयवीर हुर्कियो लुटको दानामा’ जस्ता नारा तयार गरी २०८२ भदौ २२ गते राति भाइबरमार्फत आदित्य कर्ण नामको साथीलाई पठाएँ ।
२०८२ भदौ २३ गते म अन्दाजी ११ः३० बजे बानेश्वर चोकमा पुगेको थिएँ । त्यहाँ छिरिङ तामाङ र म माइतीघरतर्फ बानेश्वर सडकको लेन हुँदै अगाडि बढ्यौँ । प्रदर्शनकारीहरूले व्यारिकेड तोडी अगाडि बढिसकेका रहेछन् । हामी सोही भिडमा सहभागी भई संसद् भवन बानेश्वरको दक्षिणगेटमा पुग्यौँ । प्रदर्शनकारीहरूलाई This is not our Motive, Please Sit-down भन्दै संसद् भवनको गेटअगाडि बसाल्यौँ र Youth against Corruption को व्यानर राखी ‘रातो र चन्द्र सूर्य’ बोलको गीत गाउन थाल्यौँ ।
भिड बढ्दै गएपछि एकजना यादव थरका प्रदर्शनकारी दक्षिण गेटको दाहिनेतर्फ चढे । निजलाई पछ्याउदै अन्य १०÷१५ जना साथीहरू पनि चढे । प्रदर्शनकारीहरूले दक्षिणगेटको बायाँतर्फ लगाएको सिसासमेत फुटाई दिए । सुरक्षाकर्मीबाट अश्रुग्याँसका साथै रबरका गोली समेत फायर हुन थाल्यो । प्रदर्शनकारीहरूलाई कम्मरभन्दा माथि टाउकोसम्मको भागमा गोली लाग्न थाल्यो ।
घटनास्थलमा गोलीले हातबाट मासु नै छुट्टिई हड्डीमात्र देखिएको, गोलीले पेटमा प्वाल पारेर करङसमेत देखिएको, कसैको खुट्टाको तल्लो भागमा मासु नै छुट्टिएको, एकजनाको दाहिने आँखाबाट गोलीले छेडेर गएको, कसैको घुँडामा गोली लागेर तल्लो भाग लत्रिएको, एकजनाको गोलीले टाउको नै फुटेको, २ जनाको घाँटीमा गोलीले छेडेकोलगायतका करिब २०÷२२ जना घाइतेलाई अस्पतालतर्फ पठाएको थिएँ । साँझको करिब १८ः०० बजे मेरो दाइ नाताका रोशन थापासँग भेट भएपछि निजकै मोटरसाइकलमा म घर गएको हुँ ।
भदौ २३ र २४ गतेको घटनाका नेतृत्वकर्ताको रूपमा हामी नेपालका सुधन गुरुङको ग्रुप, रक्षा वमको ग्रुप मुख्य रूपमा थिए, अन्य जेनजेड ग्रुप आन्दोलनपछि खडा भएका हुन् ।
भदौ २३ गते संसद् भवन वरिपरि रहेका सडकमा एकाएक त्इद्य लेखिएको ज्याकेट लगाएका, मुर्कुट्टा भएको कालो झन्डा बोकी बुलेट बाइकमा आएका प्रदर्शनकारीहरूको उपस्थितिले भिडमा उत्तेजना थपेको जस्तो लाग्छ । निजहरूको उपस्थितिले भिडमा घुसपैठ भएजस्तो लाग्छ । भदौ २४ गतेको आन्दोलनमा व्यवस्था (लोकतन्त्र) विरोधी समूहहरूले देशमा अराजकता फैलाउन घुसपैठ गरी गलत अवसर छोपेको जस्तो लाग्छ ।
पुरुषोत्तम सुभप्रभात यादवको कागज व्यहोरा
भदौ २३ गते भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्नको निम्ति म र सबल गौतमले जिल्ला प्रशाशन कार्यालय काठमाडौँबाट लिखित अनुमति माग गरेका थियौँ । सुधन गुरुङ, खेमराज साउदलगायतसँग मेरो पूर्व चिनजान र सो विषयमा कुनै सर–सल्लाह भएको थिएन ।
२०८२ भदौ २३ गते बिहान अन्दाजी ८ः०० बजे माइतीघरमा करिब ४०/५० जनाको उपस्थिति थियो । सोही कार्यक्रममा सुधन गुरुङ र बब्लु गुप्तालगायतसँग चिनाजानी भएको हो । कार्यक्रम कसरी गर्ने, के गर्ने भन्नेबारे केही योजना थिएन । प्रदर्शनमा Wake Up Nepal, Stop Corruption, Say no to Corruption लगायतका प्लेकार्ड बोकेका थियौँ । ‘ओली तेरो पाराले, दुःख पाए साराले’ नारा लगाउँदै शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । एभरेस्ट होटलअगाडि निषेधित क्षेत्रमा प्रदर्शनकारीहरूसँग सामान्य ठेलाठेल हुँदै प्रहरीले सो स्थान छाडेर ब्याक भए ।
भिड नियन्त्रण बाहिर गएपछि म र के.पी. खनाल रैलीबाट पछाडि हटी नजिकै रहेको एउटा कलेजको भवनभित्र बसेका हौँ । केहीबेरमा जथाभावी गोली चलेको आवाज सुनियो । त्यसपछि मैले नै प्रेस विज्ञप्ति जारी गरी ‘शान्तिपूर्ण प्रदर्शनमा घूसपैठ भयो, अब आन्दोलन छाडेर सबैजना घर फर्कनुहोस्’ भनी सामाजिक सञ्जालबाट आह्वान गरेको हुँ ।
भोलिपल्ट अन्दाजी १२/१ बजे हामी दुवै जना थापागाउँमा रहेको एकजना दाइको डेरामा गई बसेका हाँै । उक्त दिनको आन्दोलनमा हामीहरूको कुनै सहभागिता भएको होइन । भदौ २३ र २४ गते हाम्रो शान्तिपूर्ण आन्दोलनमा स्वार्थ समूहका व्यक्तिहरूको घूसपैठ भएर उक्त घटना घटेको जस्तो लाग्छ ।
नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुङ्गेलको कागज व्यहोरा
२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मैले बोलेको भिडियोको अंशलाई युट्युबरहरूले अतिरञ्जित र भ्रामक रूपमा प्रचार गरे । सोही भिडियोको आधारमा मलाई २०८२ मङ्सिर १० गते पक्राउ गरी १८ दिनसम्म हिरासतमा राखेपछि २०८२ मङ्सिर २८ मा हाजिर जमानीमा छोडेका हुन् । मैले न्यायालयमा रहेको भ्रष्टाचारको सन्दर्भमा व्यक्त गरेको विचारलाई अदालतमा भएको आगजनीसँग जोडेर प्रचार गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *