महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
कुनै पनि राजनीतिक दलको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ, हुनुपर्छ । सिद्धान्त र विचार नमिले पनि निर्वाचनमा जित्न, ठुलो दल बनाउन पार्टी एकता गर्ने होइन; पद र नेतृत्वमा पुग्नको निम्ति पार्टी एकता गर्ने होइन । संसद्मा अधिक सङ्ख्या हारेको र अब हुने स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी जनप्रतिनिधिहरू निर्वाचित गर्न र गराउनको निम्ति हुने पार्टी एकता सैद्धान्तिक र वैचारिक एकता हुनेछैन । वाम भनिने नेताहरू कुनै एउटा कार्यक्रममा सरिक हुँदैमा वाम एकता हुने होइन । कुनै मञ्चमा वाम एकताको प्रसङ्ग उठाउँदैमा तत्कालै एकता हुने होइन । एकातिर नेपाल कम्युनिस्ट पार्टी वा संयोजक पुष्पकमल दाहाल जीवनकै अन्तिम क्रम भङ्ग गरेर पनि वाम एकता अघि बढाउँछु भनी खोकिरहेका छन् भने अर्काेतिर सोही पार्टीका सहसंयोजक माधवकुमार नेपाल हाल एमालेसँग कुनै हालतमा एकीकरण हुनेछैन भनी बखान गरिरहेका छन् ।
केही वर्षअघि एउटै पार्टीबाट विभाजित भएका एमाले र नेकपाबिच फेरि कार्यगत एकता केको आधारमा हुने हो ? हिजो पार्टी फुट्दा समाजवादी क्रान्तिको निम्ति एक्लै अघि बढ्ने उद्घोष गर्ने नेताहरू आज तिनै दलका शीर्ष’ नेतासँग एकताको कुरा फुक्दै छन् । विगतमा एमालेबाटै माओवादी र एकीकृत समाजवादी पार्टी फुटेको थियो । त्यसबेला किन फुट्नुप¥यो र अहिले किन जुट्नुप¥यो ? जुट्ने–फुट्ने र फुट्ने–जुट्ने बारम्बार भएपछि कम्युनिस्ट भनिने पार्टीलाई जनताले कसरी विश्वास गर्छन् ? विश्व सर्वहारावर्गका नेता माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ त्यसै भनेका होइनन् । अहिले प्रतिनिधिसभामा नेकाको ३८, एमालेको २५ र नेकपाको १७ सांसद निर्वाचित भएका थिए । यो सङ्ख्या विगतको तुलनामा धेरै कम हो । २०७४ सालमा ओली र दाहालबिच सहकार्य भएको थियो । त्यसबेला निर्वाचनमा सो पक्षले करिब दुईतिहाइ मत पाएको थियो । तर, त्यो गठजोड २ वर्ष १० महिनामात्र टिक्यो । पछि पार्टी तीन फ्याक भयो ।
असार १३ गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा लेखियो, फेरि किन नजिकिँदै छन् ओली र दाहाल ? ‘नयाँ पत्रिकामा लेखियो, ‘कार्यगत एकतातर्फ नजिकिँदै एमाले–नेका’, ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा लेखियो, ‘एउटै मञ्चमा देखिँदै छन् ओली–दाहाल ।’ मूल कुरा वाम भनिने दलहरू साँच्चै कम्युनिस्ट हुनुप¥यो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार अँगाल्नुप¥यो । त्यो सिद्धान्त र विचारअनुसार राजनीति गर्नुप¥यो । नाम मात्रको कम्युनिस्ट भएर देशमा परिवर्तन हुँदैन । परिवर्तन गर्न दल अघि सर्दैन भने त्यो कम्युनिस्ट पार्टीको एकताको के अर्थ रह्यो ? एकता गरेर दल ठुलो भएरै के गर्ने ? के एकता भनेको निर्वाचनमा बढी सीट जित्नको लागि मात्र हो ? एकता या सहकार्य भएर विगतमा झण्डै दुईतिहाइ मत प्राप्त भएको थियो । तर त्यो एकता टिकेन ।
कम्युनिस्ट पार्टीको बदनाम हुनुको कारण वास्तवमा एमाले र माओवादीको गलत कार्यशैली हो; कम्युनिस्ट भएर राजनीति नगर्नु हो । सिद्धान्त र विचारको एकता हुनुपर्छ । साँच्चै दिलैदेखि एकता हुनुपर्छ । एकताभित्र देश र जनताको हितमा परिवर्तनभन्दा अर्कै अर्कै रहस्यको उद्घाटन हुन्छ । एकताभित्र पद, भागबन्डा, नेतृत्वमा पुग्ने स्वार्थ लुकेको हुन्छ । एक दुई वटा निर्वाचनमा हारेर थाक्ने, निरास हुने, हारेकै निहुँमा कहिले कार्यगत एकता र कहिले पार्टी एकताको कुरा गरेर राजनीति गर्ने विचार कसरी सही हुन्छ ? सत्तारुढ दलले देश चिनेन, जनता चिनेन; चिनेर अघि बढेन । जहिल्यै दल ठुलो बनाउने, सरकारको नेतृत्व गर्ने र बढीभन्दा बढी दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने, पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउने या अनियमितता, भ्रष्टाचार गर्ने या देशको सम्पत्तिमा रजाइँ गर्नेतर्फ सरकारको ध्यान गयो । यसले जनतामा असन्तोष बढ्यो । जनतामा देखिएको त्यही असन्तोषकै कारण नचाहेर पनि, नचिनेर पनि जनताले गएको निर्वाचनमा अर्काे विकल्प रोजे ।
जनताले विकल्प त रोजे तर त्यो रोजेको दलमा पनि शक्तिको घमण्डको उन्माद चढ्यो । त्यही दम्भमा उभेर भारतले मिचेको नेपाली भूमि फिर्ता लिने प्रक्रिया अघि बढाउनुभन्दा नेपालले पनि भारतको भूमि मिचेको छ भनी नेपाल र नेपालीमा ठेस पुग्ने विचार प्रधानमन्त्री बालेन साहले व्यक्त गरे । देशविरोधी त्यो विचारलाई प्रम साहले फिर्ता लिएनन्; रास्वपाको दलले त्यो बोली सच्याउने काम गरेन । त्यसको अर्थ ठुलो दल या सत्तारुढ दलले जे गरे पनि मान्य हुन्छ; सही मान्नुपर्छ भन्ने कुरालाई संस्थागत गर्न खोज्यो । विगतको सरकारले पनि यस्तै गलत काम गरेको थियो । त्यसलाई नयाँ सरकारको दलले पनि निरन्तरता दिने काम ग¥यो । दल पुरानो र नयाँ जे भए पनि सरकारले गर्ने काम एउटै हुन्छ भने फरक के ? अतः जनताले कुन दल श्रमजीवीवर्गको पक्षमा छ, श्रमजीवीवर्गको हितमा काम गर्छ भन्नेतर्फ हाम्रो ध्यान पुग्नुपर्छ ।
Leave a Reply