भर्खरै :

सिंहावलोकन राजनीतिमा एक शिक्षा हो

सिंहावलोकन राजनीतिमा एक शिक्षा हो

काठमाडौँ, १३ असार । अन्तर्राष्ट्रिय सहयोगी देशहरूको अनुकम्पा र जनतालाई राजनैतिक चेतना जगाएर नेपाललाई एक आत्मनिर्भर देश बनाउनुको सट्टा आफ्ना छोराछोरी र दिदीबहिनीहरू एवं युवाहरूलाई पढाइको नाममा अरर्बाैँ डलर दिएर विदेशी बहुराष्ट्रिय कम्पनीहरूको शोषण र अन्याय र अत्याचारबाट पीडित बनाउने काम गरियो । अन्तर्राष्ट्रिय ज्यामी बेच्ने कम्पनीहरूमार्फत देशको कृषि अर्थतन्त्र र मित्रराष्ट्रहरूले दिएका कलकारखाना र सेवालाई कौडीको मोलमा निजीकरण गर्दै विदेशमा बेच्ने नीति लिइयो । विदेशी पुँजीका एजेन्ट, अर्थशास्त्री र अर्थमन्त्रीहरू अनि ‘संवैधानिक समाजवाद’ र ‘प्रजातन्त्र’ का हिमायती सरकारहरूले नेपाली जनतालाई टुहुरा–टुहुरी बनाउने काम गरे । साम्राज्यवादी र विस्तारवादीहरूको षड्यन्त्रलाई नेपाललाई सबै रोगको उपचार भन्दै पहिले भारतबाट ल्याएर बेचिने ‘दर्दशान्ति तेल’ जस्तै नेपालको बेचबिखनलाई सबै समस्याको समाधान बताइयो ।
नेपाली हरेक विषयमा परनिर्भर बन्दै गएको परिणामले देखायो – देशमै विदेशी विश्वविद्यालयका कलेजहरूलाई स्वीकृति दिँदै नेपाली विश्वविद्यालयका सबै शिक्षाविद् र प्राध्यापकहरूलाई विदेशी शिक्षाको लाचार छाया बनाइयो ।
प्रजातन्त्रको पुनःस्थापना र गणतान्त्रिक आन्दोलनबाट आएका सबै उपलब्धिहरूलाई राणा शासनकै बाँकी रहेका सामन्तहरूको सहयोगमा एक एक गरी भ्रष्टाचार र अनियमितता गरियो । ठुलो भड्खालोमा देशलाई डुबाउँदै जाँदा विदेशबाट जेन्जीको नाममा ‘नयाँ पुस्ता’ निर्यात गर्ने परिस्थिति तयार गर्दै हामी बहुमतको लोकप्रिय दलहरूको ठुलठुला धरोहर सम्झिने नेताहरूलाई २०८२ भदौ २३ र २४ को आगलागी र विध्वंशको अगुल्टोले मुर्छिँदै ‘नेपाली सेनाको शरणमा पुग्यौँ । जुन कुरो ‘प्रजातन्त्र’, ‘जनयुद्ध’ र ‘विद्रोहहरू’ का दावेदार आजसम्म मानसिकरूपले राजनैतिक मुर्छामा छन् । अब के गर्ने भनी जङ्गलमा राति बाटो बिराएका बटुवाहरूझैँ पुराना दलहरूका नेता र कार्यकर्ताहरू रणभुल्लमा छन् !
अरूको बन्दोबस्तबाट विजयी बनाइएका रास्वपाको प्रथम महाधिवेशनको भद्रगोल र गञ्जागोलले सबैको आँखा खोल्ने काम ग¥यो । शासनको घोडा चढ्नेहरू आफै रणभुल्लमा छन् – सिद्धान्त र सरकारको नाम के हो, थाहा छैन । नेपालभाषाको भनाइअनुसार भोजको भण्डार कोठामा भोकाएको कुकुर पस्दा खानेकुराको परिकार छान्दाछान्दै रित्तिँदै जाँड बनाउने भेगोटमा पुगी एकैछिनमा जाँड बनाउने ‘पोको’ खाँदै त्यहीँ थल्ला प¥यो भनेजस्तै रवि लामिछाने र बालेन साहलाई अर्थमन्त्रीले बिगार्नुबाहेक जोगाउनु धेरै टाढाको विषय हो ।
भन्ने गरिन्छ, बैङ्कको रकम र पुस्तकको ज्ञान तत्काललाई काम आउँदैन । विदेशमा पढेको अर्थशास्त्र नेपालमा उल्टो हुन्छ । अर्थमन्त्रीले हिजोका अर्थमन्त्रीले जस्तै देशलाई एकपछि अर्काे पासोमा पार्नेछन् । यस रास्वपाको सरकारलाई पतन गराउन अर्थमन्त्री एक जना नै पर्याप्त छ ।

xxx

रास्वपाको पाइला गल्तीले पनि सही ठाउँमा टेक्ने छैन । जसरी नेका, नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड, माधव, झलनाथ आदि), एमाले, राप्रपा र मधेशवादी दलहरूले देशको डुङ्गा किनारा ल्याउन सकेनन् । किन ?
जात जाति र धर्म राम्रा विषय हुन् तर पक्षपात वा विभेदले सबभन्दा ठुलो विषालु परिणाम भोग्नुपर्ने हुन्छ ।
युरोपमा मध्यपूर्व र पूर्वी एसियामा पनि धर्मयुद्धले धेरै जनधनको क्षति भयो । अझ पनि धर्मयुद्धले र जातीय भेदले क्षति हुने सम्भावना छ ।
हाम्रो शरीरभित्रै हाम्रा रोग छन् । विकार बाहिर खोज्नुपर्दैन ।
सभ्यता र धर्मको अर्थ नै सहिष्णुता र समानताको भावना हो । हाम्रा शासक दलहरूमा सभ्यता र समानताको अभावकै कारण देश झन्झन् तल झर्दै छ र अरुले खेलाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *