भर्खरै :

भक्तपुर नपाको नगरसभा चालु : बजेटमाथि छलफल

भक्तपुर नपाको नगरसभा चालु : बजेटमाथि छलफल

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौँ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । उक्त बैठकमा भक्तपुर नपाको आ.व. २०८३/८४ को बजेटमाथि छलफल भयो ।
शुक्रबारको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेटमाथि भएको दफावार छलफलमा सभासद्हरू हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, श्यामसुन्दर मातां, पुरुषोत्तम तमखू, नारायणप्रसाद त्वानाबासु र रामसुन्दर बासीले प्रस्तावित कर तथा दस्तुरमा पुल हाउसलाई करको दायरामा ल्याउनुको सट्टा पूर्ण रूपमा बन्द गराउनुपर्ने, सफाइ शुल्क वृद्धि गरी शुल्क सङ्कलनका लागि अनलाइन वा घरदैलोमार्फत सङ्कलन गर्ने व्यवस्था गर्नुपर्ने, आदर निकेतनको शुल्क समयसापेक्ष बनाउन ध्यान दिनुपर्ने, ब्रह्मायणी मन्दिरलाई मौलिक शैलीमै पुनःनिर्माण गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने, अस्पताल तथा विद्यालय परिसरमा ट्राफिक बत्ती (ट्राफिक लाइट) जडान गर्नुपर्ने, व्यवस्थित वधशाला निर्माणका लागि बजेट व्यवस्था गर्नुपर्ने, कृषि अनुसन्धान केन्द्र स्थापना तथा निर्माणका लागि बजेट छुट्याउनुपर्ने, प्रदेश सरकारबाट प्राप्त हुने बजेटको पूर्ण रूपमा सदुपयोग सुनिश्चित गर्नुपर्ने, जग्गा खरिद शीर्षकमा विनियोजित बजेट न्यून भएकाले बजेट वृद्धि गर्नुपर्ने, स्वास्थ्य केन्द्रहरूमा छुट्टाछुट्टै बजेट विनियोजन गर्नुको सट्टा ख्वप अस्पताललाई थप सुविधासम्पन्न बनाउन आवश्यक बजेट व्यवस्था गर्नुपर्नेलगायतका धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, सभाको विशेष समयमा सभासद्हरू रामसुन्दर बासी, जितेन्द्र मुनंकर्मी, रीता फसिकव, सीतादेवी नेपाली, कल्पना शिल्पकार, सुमित्रा बोहजु, विष्णुकेशरी दुवाल, मन्जुमैंया लाखा, कृष्णनारायण दुमरु, सिद्धिराम अवाल, ज्ञानबहादुर मानन्धर, इन्द्रबहादुर प्याठ, कृष्णलाल किसी, हरिरत्न गोर्खाली, सूर्यप्रसाद श्रेष्ठ, कृष्णसुन्दर प्रजापति, श्यामसुन्दर मातां र गोविन्द दुवालले स्थानीय समस्याहरू र समसामयिक विषयहरूमा आ–आफ्नो धारणा राख्नुभयो ।
सभामा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ मा तेस्रो संशोधन विधेयक छलफलको लागि प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको अर्को बैठक २०८३ साल असार १२ गते सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *