भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४३

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४३

विलजेस कार्कीको कागज व्यहोरा :
भदौ २३ गते करिब ११ः०० बजे संसद् भवन वरपरको प्रदर्शनमा प्रहरीले पानीको फोहरा, टियर ग्यास, लाठीचार्जलगायतका कारबाही गर्न थाल्यो । सो दिन प्रहरी कारबाहीमा ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू मारिनुका साथै घाइते पनि भएको सञ्चारमाध्यमबाट जानकारी पाएँ।
भदौ २४ गते संसद् भवनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत तैनाथ थिए । करीब ११.०० बजेतिर प्रदर्शनकारीहरूले संसद् भवनको पर्खाल फुटाएर भित्र प्रवेश गर्न थाले । त्यसपछि सेना आफ्नो स्थान छाडी फर्कियो । प्रदर्शनकारीहरूले सुरक्षा पोस्ट, ब्यारेक र संसद् भवनमा आगजनी गर्नुको साथै संसद् भवन नजिकैको सडक विभागमा बसेको सशस्त्र प्रहरी बल नेपालको ब्यारेकसमेत तोडफोड तथा आगजनी गरे ।
सचिन भण्डारीको कागज व्यहोराः
२०८२।५।२३ गते दिउँसो बानेश्वर चोकमा स्कूल–कलेज ड्रेसमा धेरै व्यक्ति उपस्थिति थिए । प्रदर्शनकारीहरूले संसद् भवनको पर्खालका केही भाग भत्काए । प्रहरीले लाठीचार्ज गरी अश्रुग्यास प्रहार ग¥यो । केही समयमा गोली चलेको आवाज सुनियो । भिडले एकजना प्रहरीको आँखा फुटाएको भन्ने पनि सुनेको हो । कालो झन्डा बोकेर मोटरसाइकलमा आएका टीओबी ज्याकेट लगाएका मानिसहरूले उत्तेजना फैलाइरहेका थिए ।
भदौ २४ गते १० बजेतिर म आफ्नो नियमित कामको लागि सस्तो बजार पुगेको हुँ। अन्दाजी १४ः३० बजे संसद् भवनमा आगो लगाइदिए भन्ने सुनेपछि मसमेत संसद् भवनतर्फ गएँ। म पुग्दा संसद् भवन दनदनी जलिरहेको थियो । प्रदर्शनकारीहरूले प्रहरीलाई कुटपिट लछारपछार गर्दै थिए । संसद् भवनभित्र प्रहरीको उपस्थिति थिएन, आर्मी थियो तर मूकदर्शक थिए । आन्दोलनकारीहरू गमला, फर्निचरजस्ता सामान लिएर भाग्दै थिए । केही प्रदर्शनकारी पार्किङ गरिएका सवारी साधनहरूमा आगो लगाउँदै थिए ।
दलराम श्रेष्ठको कागज व्यहोरा :
२०८२।५।२३ गते बानेश्वर चोकमा स्कूल–कलेज ड्रेसका धेरै व्यक्ति उपस्थिति थिए । प्रदर्शनकारीहरूले संसद् भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार ग¥यो । गोली चलेको आवाज पनि सुनियो । टीओबी ज्याकेट लगाएका कालो झन्डा बोकेर मोटरसाइकलमा आएका मानिसहरूले भिडलाई उत्तेजित पारिरहेका थिए । प्रदर्शनकारीहरूले भदौ २४ गते अन्दाजी १४ः३० बजेको समयमा संसद् भवनमा आगो लगाए । संसद् भवनभित्र प्रहरीको उपस्थिति थिएन, आर्मी थियो तर मूकदर्शक थिए ।
लोकराज उपाध्यायको कागज व्यहोरा :
२३ गते बिहान करिब १०ः०० बजेतिर म प्रदर्शनमा सहभागी हुन माइतीघर मण्डलामा पुगेको थिएँ । करीब १२ः०० बजेतिर सङ्घीय संसद् भवन बानेश्वरको दक्षिण गेटअगाडि सडकमा पुगेँ। सुरक्षाकर्मीहरूले अश्रुग्यास, रबरबुलेट प्रयोग गरेर प्रदर्शनकारीहरूलाई संसद् भवन वरपरबाट हटाउन प्रयास गरे । यसै क्रममा संसद् भवनको दक्षिणतर्फबाट भएको फायरले मेरो बायाँ कोखामा घाउ बनायो । तत्कालै सोहीतर्फबाट फायर हुँदा मेरो बायाँ गोडाभन्दा हल्का तल गोली लाग्यो । साथीहरूले मलाई सिभिल अस्पताल बानेश्वरमा लान सहयोग गरे । सोपश्चात् के भयो मलाई थाहा भएन । भोलिपल्ट अस्पतालले मेरो गोडामा अप्रेसन गरी धातुको गोली निकाली दियो । लगभग ५ दिनको उपचारपछि डिस्चार्ज भई हालसम्म अस्पतालको फलोअपमा छु । २४ गते कुनै व्यक्ति वा समूहले प्रदर्शन भड्काउने उद्देश्यका साथ घुसपैठ गरी विध्वंसात्मक कार्य गरेको जस्तो लाग्छ ।
आर्यन अधिकारीको कागज व्यहोरा :
भदौ २४ गते बिहान अन्दाजी १०ः३० बजेतिर नख्खु कारागारबाट रवि लामिछाने छुट्दै छन् भन्ने सुनेर म सोही एरियातिर गएको हुँ। करिब दिनको १५ः०० बजे रवि लामिछाने चढेको गाडी नख्खु दोबाटो रिङ्गरोडसम्म भिडसँगै गयो । त्यसपछि गाडी भिड छाडेर अगाडि बढ्यो । म भिडको पछि लागेर जावलाखेल चोकसम्म पुगेँ । उक्त स्थानमा २/३ जना प्रदर्शनकारी अश्रुग्यास लागेर ढले । मसमेतले निजहरूलाई साइडमा ल्याई पानी छम्केर होसमा ल्याएको हो ।
साँझ प्रदर्शनकारीहरूले लगनखेल चोकबाट सशस्त्र प्रहरीको एउटा भ्यान नियन्त्रणमा लिए । त्यसपछि भ्यानमा अटेसम्मका मान्छे चढेर जाउलाखेल प्रहरीलाई आक्रमण गर्न आए । करिब १९ः००–१९ः३० बजेतिर अचानक बत्ती गएर अन्धकार भएको बेला प्रहरीले गोली चलायो । मेरो दाहिने खुट्टाको तिघ्रा, कम्मरको बिचमा र दाहिने हातको नाडीमा गोली लाग्यो । सञ्जय घिसिङसमेतले मलाई उद्धार गरी एउटा घरको गेटमा पु¥याए । सञ्जय तामाङको हातमा गोली लाग्यो । प्रहरीको गोली लागेर अर्को एक जना साथी पनि भुइँमा ढले । पछि सञ्जयको दाइको मोटरसाइकलबाट अस्पताल पुगेका हौँ। मेरो शरीरमा लात् राउन्ड लागेको रहेछ । म अस्पतालमा ८ दिन उपचार गराएर डिस्चार्ज भएको हो ।
स्मृति राईको कागज व्यहोरा :
२०८२ भदौ २३ गतेको प्रदर्शनमा मेरो पूर्ण सहभागिता थियो । प्रदर्शनको क्रममा हामी संसद् भवन दक्षिणतर्फको गेटमा पुग्यौँ । हामीले “शान्तिपूर्ण धर्ना बस्छौँ स्थान छुट्याई दिनुहोस्” भन्दा प्रशासनबाट सुनुवाइ भएन, उल्टो प्रहरीबाट लाठीचार्ज, अश्रुग्यास प्रहार भयो । संसद् भवनको दक्षिण ढोकासँगै भित्रपट्टिको सानो घरमा करिब १०/१५ जना आन्दोलनकारी चढेर नारा जुलुस गरिरहेको देखेँ । उक्त भवनको छानोमा चढेका एक जना व्यक्तिको शरिरबाट रगत बगिरहेको देखेँ । मैले २/३ जना मानिसको सहयोगमा घाइतेलाई छतबाट तल झारेँ । मैले “सरकार जनताको छोरा छोरीलाई गोली चलाउने आदेश कसले दियो ?” भन्दै गर्दा अचानक मेरो दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा गोली लाग्यो । गोली लागेपछि म आत्तिँदै हारगुहार गर्दा साथीहरूले मलाई एम्बुलेन्समा राखेर नजिकैको सिभिल अस्पताल पु¥याए । त्यसपछि म अस्पतालमा तीन दिनको उपचारपछि डिस्चार्ज भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *