स्थानीय सरकार स्वायत्त हुनु आवश्यक
- असार १९, २०८३
विश्वमा सबभन्दा धेरै अनुयायीहरू भएको इसाई धर्म हो जुन जेसस क्राइस्ट (Jesus Christ) को शिक्षा, उपदेश र जीवनीमा आधारित छ । कालान्तरमा गएर यो इसाई धर्म तीनवटा प्रमुख सम्प्रदायमा विभाजित भयो । ती तीनवटा सम्प्रदायहरू हुन् – रोमन क्याथोलिक चर्च (Roman Catholic Church), इस्टर्न अर्थाेडक्स चर्च (Eastern Orthodox Church) र प्रोटेस्ट्यान्टिज्म (Protestantism) । यी तीनै सम्प्रदायका अनुयायीहरूलाई इसाई भनिन्छ । यिनीहरूको सङ्ख्या करिब २.४ अरब भएको मानिन्छ । यिनीहरूमा रोमन क्याथोलिक चर्च (Roman Catholic Church) का अनुयायीहरू मात्र करिब १.४ अरबको सङ्ख्यामा रहेको र तुलनात्मक रूपमा इसाई धर्मका अन्य सम्प्रदात्न्दा यो सम्प्रदाय ठुलो र बढी रुढिवादी तथा परम्परावादी मानिन्छ ।
युरोप महादेशको एउटा पुरानो देश इटली (Italy) को राजधानी रोम (Rome) सहरभित्र करिब २ हजार वर्ष पुरानो इतिहास बोकेको भेटिकन सिटी
(Vatican City) रहेको छ । यही भेटिकन सिटी (Vatican City) रोमन क्याथोलिक चर्च सम्प्रदायका अनुयायीहरूको चर्चको केन्द्र हो । अर्थात्, विश्वभरिका रोमन क्याथोलिक (Roman Catholic) हरूका मुख्य धार्मिक एवम् सांस्कृतिक केन्द्र नै यो भेटिकन सिटी (Vatican City) हो । यो सम्प्रदायका मानिसहरूलाई सामान्यतः क्याथोलिक (Catholic) भनिन्छ । संसारभरिका क्याथोलिकहरूका धार्मिक नेता एवम् धार्मिक गुरुलाई पोप (Pope) भनिन्छ र पोप (Pope) सुरुदेखि नै यो भेटिकन सिटीमा शासक रहँदै आएको छ । प्राचीन युनानी भाषा (Ancient Greek Language) मा ‘Pappas’ वा ‘पापास’ भन्ने शब्दले ‘पिता’ वा Father भन्ने अर्थ दिन्छ । यही अर्थमा नै अङ्ग्रेजी शब्द पोप (Pope) को निर्माण भएको छ । इसाई धर्मका प्रवर्तक जेसस क्राइस्ट (Jesus Christ) आफैले सेन्ट पिटर
(Saint Peter) लाई प्रथम पोपको रूपमा चर्चको नेतृत्व सुम्पेको विश्वास गरिन्छ । पछि आफ्नै किसिमको निर्वाचन प्रणालीबाट पोपको चयन गरियो । एकचोटि निर्वाचित भएको पोप आजीवन नै पोप हुने र उसले चाहेमा स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिन पनि सक्ने व्यवस्था रहँदै आएको छ ।
सुरु–सुरुका पोपहरूका भूमिका धार्मिक नेता र गुरुकै रूपमा मात्रै सीमित रहेको थियो । तर, पछि ईस्वी संवत्को पाँचौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म अर्थात् मध्यकालभर यी पोपहरू राजनीतिकरूपले पनि शक्तिशाली भई विश्वभरिका क्याथोलिक राज्यहरूमा हस्तक्षेप गर्न थाले । इसाई धर्मका अन्य दुई सम्प्रदाय अर्थात् इस्टर्न अर्थाेडक्स चर्च (Eastern Orthodox Church) र प्रोटेस्ट्यान्टिज्म (Protestantism) सम्प्रदायहरूका इसाईहरूले पोपको सर्वाेच्चतालाई नमान्ने हुँदा यी सम्प्रदायका इसाई राज्यहरूमा भने उनको खास प्रभाव रहेन । पछि प्रोटेस्टेन्टहरूले गरेको धर्म सुधार आन्दोलन र राष्ट्रवाद एवम् आधुनिक राष्ट्रहरूको उदयले गर्दा क्याथोलिक राज्यहरूमा पनि पोपको राजनीतिक शक्ति र प्रभाव क्षीण हुँदै गयो ।
सन् १८७०/७१ मा इटली एकीकरण भएपछि पोपको सम्पूर्ण राजनीतिक प्रभाव (Papal State) को अन्त्य नै भयो । सन् १९२९ मा इटलीका तत्कालीन मुसोलिनी सरकार (Benito Mussolini’s Government) र ‘होली सी’ बिच लाटेरन ट्रिटी (Lateran Treaty) भएपछि मात्र भेटिकन सिटी र पोपको वर्तमान स्तर र हैसियत स्थापित भयो । सम्पूर्ण क्याथोलिक चर्चहरूको सर्वाेच्च अध्यात्मिक, धार्मिक एवम् प्रशासनिक संस्थाको नाम हो ‘होली सी’ (Holy See) । ‘भेटिकन’ एउटा देश हो भने ‘होली सी’ त्यहाँको सरकार हो । यसको नेतृत्व पोपले गर्दछ । ‘होली सी’ को मुख्यालय भेटिकन सिटीमा नै रहेको छ ।
सन् १९२९ को लेटेरन ट्रिटी (Lateran Treaty) भएपछि अहिले संसारको सबैभन्दा सानो, सार्वभौमसत्ता सम्पन्न तथा स्वतन्त्र राष्ट्रको रूपमा भेटिकन सिटीको अस्तित्व स्थापित भएको छ । यो पूर्णरूपले इटलीको राजधानी रोम सहरभित्र अवस्थित छ । यसलाई वैधानिकरूपमा भेटिकन सिटी स्टेट (Vatican City State) भनिन्छ । यहाँको शासन प्रणाली निरपेक्ष राजतन्त्र (Absolute Monarchy) प्रणालीमा आधारित छ । यसको नेतृत्व पोपले गर्दै आएका छन् । पोप एक व्यक्तिमात्र होइन संस्था पनि हो । पोप अति नै परम्परावादी एवम् रुढिवादी भएकाले सूर्यले पृथ्वीलाई होइन बरु पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने ग्यालिलियो ग्यालिलेई (Galileo Galilei) को सिद्धान्तलाई सन् १९९२ मा आएर मात्रै तत्कालीन पोप जोन पल द्वितीय (Pope John Paul II) ले विधिवत स्वीकारे । वर्तमान समयमा पोप लियो चौधौँ (Pope Leo XIV) भेटिकन सिटीमा बस्दै आएका छन् र उनले यहीँबाट पोपको हैसियतले गर्नुपर्ने सम्पूर्ण कार्यहरू सञ्चालन गर्दै आएका छन् ।
यस्तो महत्वपूर्ण भेटिकन सिटी (Vatican City) को सानो वस्तुस्थिति बुझ्नु वा थाहा पाउनु उपयुक्त होला । यसको क्षेत्रफल करिब ०.४४ वर्गकिलोमिटर र जनसङ्ख्या नौ सयदेखि एक हजारसम्म रहेको छ । यहाँ धेरैजसो इसाई धर्म गुरु, कर्मचारी, स्वीस गार्ड (Swiss Guard) र तिनीहरूका जहान परिवारहरू रहने गर्दछन् । पोपको सुरक्षा, भेटिकन सिटीको प्रवेशद्वारमा पहरा दिन, विशेष धार्मिक तथा राजकीय समारोहहरूमा शान्ति सुरक्षा कायम गर्ने आदि कार्य गर्नका लागि स्वीटजरल्यान्डका सेनाहरूलाई सन् १५०६ देखि अहिलेसम्मै राख्दै आएको छ । यहाँको आधिकारिक भाषा इटली भाषा भए पनि यहाँ पुरानो ल्याटिन भाषा (Latin Language) लाई चर्चका कार्यहरूमा प्रयोग गरिन्छ । यहाँ युरो मुद्रा प्रचलित छ । यहाँको सरकार अर्थात् ‘होली सी’ (Holy See) ले विश्वका विभिन्न देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापित गर्दछ । यसले कुनै पनि देशसँग युद्ध गर्दैन । त्यसैले, भेटिकन सिटीलाई शान्तिको प्रतीक मानिन्छ । होली सीकै प्रयासमा सन् १९६४ देखि संयुक्त राष्ट्र सङ्घको महासभामा पर्यवेक्षक सदस्य राष्ट्रको हैसियतले यसले सहभागी हुने अधिकार प्राप्त गरेको छ । त्यहाँ उठेका कुनै पनि विषयवस्तु वा प्रस्तावबारे आफ्नो धारणा एवम् सुझाव यसले प्रस्तुत गर्न सक्दछ तर निर्णयार्थ प्रस्तुत हुने कुनै पनि प्रस्ताव वा विषयवस्तुमा हुने मतदानमा भने यसलाई आफ्नो मतदान गर्ने अधिकार दिइएको छैन । किनभने, भेटिकन सिटीको हैसियत संयुक्त राष्ट्र सङ्घमा केवल पर्यवेक्षक सदस्य राष्ट्रको मात्रै छ । विश्वभरिका क्याथोलिक (Catholic) हरूका लागि यहीबाट पोपले आफ्ना निर्देशन तथा भनाइहरू जारी गर्ने गर्दछ । अन्तर्राष्ट्रिय जगत्मा भेटिकन सिटीको भूमिकालाई स्तरीय र महत्वपूर्ण मान्नैपर्दछ ।
भेटिकन सिटीको ऐतिहासिक एवम् सांस्कृतिक महत्व नै गरिमामय छ । करिब २ हजार वर्षको पुरानो इतिहास बोकेको भेटिकन सिटी स्टेटमा धार्मिक एवम् सांस्कृतिक महत्वका धेरै कला वास्तुकलाका वस्तुहरू निर्माण भएका छन् । जस्तैः– विश्वमै ठुला चर्चहरूमध्ये एक मानिने प्रसिद्ध चर्च सेन्ट पिटर्स बेसिलिका (St. Peter’s Basilica) नामको चर्च यहीँ छ । सिस्टाइन च्यापल (Sistine Chapel) नामको चर्चका छत (Ceiling) मा सन् १५०८–१५१२ तिर विश्व प्रसिद्ध कलाकार माइकलेञ्जेलो (Michelangelo) द्वारा कोरिएको ‘द क्रियसन अफ एडम’ (The creation of Adam) नामको विश्व प्रसिद्ध चित्र पनि यहीँ छ । यो चित्रमा ईश्वर आफू स्वयम्ले सर्वप्रथम सृजना गरेको मानव एडम (Adam) लाई जीवन प्रदान गरेको दृश्य चित्रित गरिएको छ । चर्चका अन्यत्र भित्ताहरूमा पनि प्रशस्तै चित्रहरू कोरिएको पाइन्छ । यो सिस्टाइन च्यापल नामको चर्चभित्र रहेका हलहरूमा धार्मिक सभा र प्रार्थनाहरू गरिन्छ जुन विश्वमा अति चर्चित सभा वा प्रार्थनाहरूका रूपमा लिइन्छ । यी केही कलाकृतिहरूका उदाहरणहरूको अतिरिक्त यो सानो भेटिकन सिटी स्टेटभित्र हेलीपोर्ट (Heliport), रेडियो, रेल्वे स्टेसन, बगैँचा, पुस्तकालय, उत्कृष्ट चित्र एवम् मूर्तिहरू भएको म्युजियम, पोपका दरबारहरू, सेन्ट पिटर्स स्क्वायर (St. Peter’s Square) नामक खुला स्थान जहाँ पोपको चयन प्रक्रियाका साथै पोपले श्रद्धालुहरूलाई सम्बोधन गर्ने एवम् विभिन्न धार्मिक समारोहहरू सम्पन्न गरिन्छ । यस्ता महत्वपूर्ण स्थल एवम् कृतिहरूको भण्डार भेटिकन सिटीलाई नै मान्न सकिन्छ । यहाँका स्वीस गार्डहरूका रङ्गीन पोशाकहरू उत्तिकै आकर्षक र प्रसिद्ध पनि छ । यस्ता अमूल्य कलाकृति संस्कृति भएकोले नै यो सानो भेटिकन सिटीलाई संयुक्त राष्ट्र सङ्घको युनेस्को (UNESCO) ले विश्व सम्पदा क्षेत्र (World Heritage Site) मा समावेश गरेको छ । यी सबै कारणले गर्दा भेटिकन सिटीले विश्वमा प्रख्यात, चर्चित र उच्च महत्वको राष्ट्रको सम्मान र मान्यता प्राप्त गरेको छ ।
अब हामी भक्तपुर नगर क्षेत्रबारे केही विचार गरौँ । यो भक्तपुर नगर आजभन्दा करिब २५००–३००० वर्षदेखि नै किरात कालमा ‘खोप्रिङ’ नामको एउटा व्यवस्थित बस्तीको रूपमा स्थापित भइसकेको र आजभन्दा करिब १५००–१६०० वर्षअगाडि नै लिच्छविकालमा यस बस्तीले एउटा विकसित र व्यवस्थित सहर बजारको रूपमा ‘खोप्रिङ’ को नाममा अस्तित्वमा आइसकेको तथ्यले प्रमाणित गरेको छ । राजा आनन्द देवको शासन काल (वि.सं. १२०३–१२२३) मा समस्त नेपालमण्डलकै राजधानी सहरको रूपमा यो भक्तपुर नगर स्थापित भएको थियो । वि.सं. १५३८ मा राजा यक्षमल्लको मृत्युपश्चात् वि.सं. १५४१ देखि विभिन्न समयमा नेपाल उपत्यकाका तीन सहर अर्थात् भक्तपुर, कान्तिपुर र ललितपुर छुट्टाछुट्टै स्वतन्त्र राज्यहरूका रूपमा रहे । त्यतिखेर यो भक्तपुर नगर क्षेत्र भक्तपुर राज्यको केन्द्र वा राजधानीकै रूपमा रह्यो । तत्कालीन काठमाडौँ उपत्यकाका तिनै राज्यका मल्ल राजाहरूमात्र होइन तत्कालीन दक्ष जनशक्ति, सर्वसाधारण जनता सबै तिनै राज्यहरूमा कलाकृति संस्कृति, सम्पदा, वास्तुकला, बस्ती निर्माण आदि क्षेत्रहरूमा लागिपरेका थिए । तिनीहरू आफ्नो स्रोत, साधन, ज्ञान–विज्ञान र प्रविधिमा दत्तचित्त भई लागी यी सबै क्षेत्रमा सक्दो उन्नति एवम् विकास गरेका थिए । यो दौडमा भक्तपुरका मल्ल राजाहरू, दक्ष जनशक्ति, ज्ञान–विज्ञान , प्रविधि, स्रोतसाधन र समर्पणमा भक्तपुरका जनता पनि पछि परेका थिएनन् । नेपालको ७७ वटा जिल्लामध्ये सानो जिल्ला भक्तपुर, भक्तपुरका ४ वटा नगरपालिकाहरूमध्ये सानो
भक्तपुर नगर जसको क्षेत्रफल ६.८९ वर्ग किमि र जनसङ्ख्या करिब ८० हजार भएकोले आकार प्रकारमा इटलीको भेटिकन सिटीजस्तै भक्तपुर पनि सानो नगर नै हो । १० वटा वडामा विभाजित यो भक्तपुर नगर भौतिक स्वरूपमा अर्थात् क्षेत्रफल र जनसङ्ख्यामा सानो देखिए पनि यस नगरको ऐतिहासिकता, कलाकृति, संस्कृति, सम्पदा, सांस्कृतिक गतिविधि आदिको आधारमा भेटिकन सिटीभन्दा कम देखिँदैन । यहाँ थुप्रै संस्कार र संस्कृतिबिच सहिष्णु भावना पाइन्छ । हिन्दू, बौद्ध, इस्लाम, इसाई धर्मावलम्बीहरू भए तापनि बहुमत हिन्दू धर्मावलम्बीहरूकै भए पनि यी विभिन्न धर्मावलम्बीहरू आफ्नो धार्मिक, सांस्कृतिक एवम् सामाजिक जीवन सरलताका साथ बिताइरहेका छन् । यहाँ सूर्यमढी, तचपाल, टौमढी, नासमनाजस्ता खुला स्थानहरू छन् । वाकुपति नारायण, टौमढीको नारायण चोक, तलेजु मन्दिरभित्रका विभिन्न चोकहरूका साथै थुप्रै बहाबहीहरू पाइन्छन् भने मस्जिद र थोरै चर्चहरू पनि छन् । युनेस्कोको विश्व सम्पदा क्षेत्रमा समावेश भएको भक्तपुर दरबार क्षेत्र, सिंह ध्वाखा दरबार, पचपन्न झ्याले दरबार र अन्य दरबारहरू मात्र होइन थुप्रै मठ, शिवालय, देवालय, मन्दिर, देवी–देवता, मानव, पशुपक्षी आदिका प्राचीन मूर्तिहरू, चैत्य, बिहारहरू मात्र होइन पोखरी र परम्परागत शैलीमा रहँदै आएका टोल बस्तीहरू धेरै छन् । जात्रा पर्वहरू यहाँ उत्तिकै मनाइन्छ । बिस्का जात्रा, गाईजात्राजस्ता विश्व प्रसिद्ध जात्रा भक्तपुर नगरमै विशेष रूपले मनाइन्छ । पचपन्न झ्याले दरबार र तलेजु मन्दिरभित्रका भित्ता र अन्यत्र पनि पुराना भित्तेचित्र छन् । यहाँ ढुङ्गा, काष्ठ, धातुबाट बनेका पुराना मूर्तिहरू एवम् अन्य वस्तुहरू भएका म्युजियमहरू पनि छन् । भक्तपुर दरबार क्षेत्रमा रहेको चित्र सङ्ग्रहालय त विश्व प्रसिद्ध नै छ । बहाबही, मठ तथा विभिन्न मन्दिर र अन्य धार्मिक स्थलहरूमा परम्परागत, धार्मिक एवम् सांस्कृतिक गतिविधिहरू हुँदै आएका छन् । सामान्यतः भक्तपुर नगरभित्रको विभिन्न धार्मिक, सांस्कृतिक जात्रा पर्वहरूको केन्द्रको रूपमा यहाँ तलेजु मन्दिर रहँदै आएको छ । आफूलाई राजोपाध्याय, शर्मा, बज्राचार्य, जोशी, कर्माचार्य आदि भनी चिनाउने विद्वान् संस्कृतिकर्मीहरू आ–आफ्नो क्षेत्रमा परम्पराअनुसारको धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएका छन् । जनताले पनि तिनीहरूलाई साथ दिँदै आएका छन् । यहाँको नवदुर्गा भवानीको नाच विशेष नाच हो भने अन्य जनस्तरका नाच, गुठी, दाफा भजनजस्ता धार्मिक एवम् सांस्कृतिक प्रक्रिया सञ्चालन भई नै रहेका छन् ।
थुप्रै विदेशी कला पारखीहरूले यहाँको तलेजु मन्दिरको प्रवेशद्वार सुर्वणद्वारको बेजोडले तारिफ गरेको पाइन्छ । काठमाडौँ उपत्यकाका ती नै सहरहरूमा पाइने तलेजु मन्दिरहरूमा सबभन्दा पुरानो र मूल स्वरूपको देवी दर्शन गर्न यसै सुवर्णद्वारबाट भित्र गइन्छ । धारा, इनार र पोखरीहरू यस सहरका विभिन्न स्थानहरूमा पाइन्छन् भने यहाँको सुन्दर बस्तीको उत्तरी र दक्षिण भागमा दुई वटा नदी बगेर यहाँ बस्तीलाई घेरेको पाइन्छ । यहाँ विभिन्न एफएम रेडियो स्टेसन, हुलाक अड्डा, विद्यालय तथा उच्च विद्यालय, स्वास्थ्य सेवा, दूर सञ्चार आदिका साथै सफा सुग्घर सहरको रूपमा यो सहरले सम्मान पनि पाएकै छ । यो सबै यहाँका जनताको इच्छा, चाहना र परिश्रमका साथै योग्य नेतृत्वको समन्वयले गर्दा नै भक्तपुर नगर यो स्थितिमा रहेको हो; यहाँ पुरोहित वर्गमात्र होइन, कृषक, मजदुर प्राविधिक एवम् प्राज्ञिक वर्गले समान रूपले प्रयत्न गरेको र गर्दै पनि छन् – भक्तपुर नगरलाई यो अवस्थामा पु¥याउन । यस नगरले नेपालकै प्राचीन संस्कृति सभ्यतालाई प्रतिनिधित्व गर्दै आएको छ ।
यसरी युरोपको पुरानो भेटिकन सिटी र एसियाको पुरानो भक्तपुर सहरबिचको भौगोलिक अवस्था, ऐतिहासिकता, धार्मिक एवम् सांस्कृतिक गतिविधिहरू, देवदेवी, मानव, पशुपक्षी आदिका पुराना मूर्तिहरू, विभिन्न शैली र धर्मका धार्मिक स्थलहरू, धार्मिक र सांस्कृतिक महत्वका मठहरू, मन्दिरहरू, चैत्य, बिहार, कलाकृतिको मूर्तिहरू एवम् सांस्कृतिक जात्रा पर्वहरूको तुलना भेटिकन सिटीसँग गरिँदा धेरै नै समान रहेको हामी पाउँछौँ । नेमकिपाका अध्यक्ष एवम् चिन्तक श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर सहरलाई भेटिकन सिटीजस्तै स्थापित गर्ने भनी गर्नुभएको परिकल्पना अति नै उपयुक्त र व्यावहारिक छ । यसले भक्तपुर सहरको मात्र होइन सिङ्गो नेपालकै गरिमा, महत्व बढाउनुका साथै हाम्रो पर्यटन व्यवसायमा उल्लेख्य तरिकाले बढोत्तरी हुनेमा दुविधा छैन । त्यसैले, कसैले पनि कुनैले पनि व्यक्तिगत वा अन्य कुनै कारणले आग्रह पूर्वाग्रह नराखी उहाँको एवम् भक्तपुरका जनताको परिकल्पनालाई साकार गर्न पाए सबैको भलो हुने निश्चित छ ।
सन्दर्भ ग्रन्थहरू :
१. सापकोटा, लिलाप्रसाद – विश्वका प्रमुख धर्म (सङ्क्षिप्त परिचय)
२. Publisher, Oxford University – A dictionary of world history, Illustrated Oxford Dictionary
३. Chatgpt – Open AI, 2026
४. Deepseek (Deepseek AI, 2026)
Leave a Reply