भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५१

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५१

ग्लोबल कलेज काठमाडौँका सूचना अधिकारी धर्मराज ओझाको कागज व्यहोरा :
म काठमाडाँै ग्लोबल कलेजमा कार्यरत छु । २०८२ भदौ २३ गते बिहान ११ः०० बजे कलेज छुट्टी भएपश्चात् केही विद्यार्थी कलेज बसमा आफ्नो घर गए । सोही क्रममा श्रीयम चौलागाइँ र सम्राटजङ्ग कार्कीले चालक कर्णबहादुर पुलामीलाई कन्भिन्स गरी भरोसा अस्पताल नजिक झरेर प्रदर्शनमा सहभागी हुन गएका रहेछन् । सोही दिन करिब १७ः०० बजेतिर मात्र हामीलाई बानेश्वरमा गोली चलेको जानकारी प्राप्त भयो । सञ्चार माध्यममा मृतकको फोटो आएपछि हाम्रो कलेजका विद्यार्थीसमेत हताहत भएको जानकारी भयो । सामाजिक सञ्जालमा सो दिन ग्लोबल कलेजको होस्टेलमा छात्राहरूमाथि दुव्र्यवहार भएको अफवाह फैलिएको जानकारी प्रहरीले गराएको थियो ।
भदौ २४ गते प्रदर्शनकारीहरूले कलेजमा पसेर तोडफोड तथा आगजनी गरी क्षति पु¥याए । हालसम्म क्षतिअनुसारको पुनःनिर्माण गर्दा लाग्ने बीमा रकम प्राप्त हुन सकेको छैन ।

ओरियन्ट कलेज बसुन्धाराका कार्यक्रम निर्देशक तुलसीराम भण्डारीको कागज व्यहोरा :
म बसुन्धारास्थित ओरियन्ट कलेजमा कार्यरत छु । २०८२ भदौ २३ गते दिनको करिब १२ः०० बजे नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको समाचार सुनेपछि सम्पूर्ण अभिभावकलाई जानकारी गराइ अन्दाजी १२ः३० बजे क्लास बन्द गरी बच्चाहरूलाई घर पठाइएको थियो । उक्त दिनको प्रदर्शनमा हाम्रो कलेजबाट ४ जना विद्यार्थी कलेज ड्रेसमै सहभागी भएको पछि थाहा पायौँ । उक्त दिन निजहरू कलेजमा अनुपस्थित रही घरबाटै आन्दोलनमा सहभागी हुन गएको बुझिएको छ ।

डा. तोषिमा कार्कीको कागज व्यहोरा :
भदौ २३ गते म संसदीय समितिको बैठकमा थिएँ । बिहान करिब १०ः३० बजे बानेश्वर क्षेत्रमा आन्दोलन चर्किएको थाहा पाएपछि म गाडी चढेर बानेश्वरतर्फ निस्कँदा बबरमहलको पुल पुग्नुअगाडि नै मलाई अगाडि नजान भनियो । तर, म एकजना मानिसको बाइकमा लिफ्ट लिएर अगाडि बढेँ । केही अगाडि बढेपछि मिनभवन पछाडिको बाटो हिँडेर सिभिल हस्पिटल पुगेँ । म सिभिल हस्पिटल जाँदा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरिरहेका थिए । म आन्दोलनको बिच बाटो हुँदै करिब १२ बजे सिभिल हस्पिटल पुगेँ । म हस्पिटलको बाहिर बसेर घाइतेहरूको उपचारमा सहजीकरण गरिरहेको थिएँ । म त्यो रात घाइतेहरूको उपचारमा संलग्न भई अस्पतालमै बसेँ ।
२४ गते करिब १० बजेतिर घाइतेहरूलाई अस्पताल ल्याउन सुरु भइसकेको थियो । म बाहिर निस्केर संसद् भवनभित्र पसेको थिएँ । म त्यहाँबाट निस्किएर फेरि सिभिल अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न भएँ । रातिसम्म पनि अस्पतालमा घाइतेहरू आइरहेका थिए । त्यहाँ उपचार हुन नसकेकाहरूको अन्य अस्पतालमा पठाउनको लागि पनि मैले सहजीकरण गरेको थिएँ । म त्यो रात पनि अस्पतालमै बसेर भदौ २५ गते बिहान निस्किएको हो ।

दिलभुषण पाठकले यस आयोगमा व्यक्त गरेको भनाइको व्यहोरा :
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । आजको लोकतान्त्रिक समाजमा व्यावसायिक पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम होइन, राष्ट्रको नैतिक दिशानिर्देशक हो । खराब शासन र भ्रष्टाचारका विरुद्ध पत्रकारिता मौन बस्न सक्दैन । खोजमूलक पत्रकारितामार्फत शक्ति दुरुपयोग, घोटाला र अनियमितता उजागर गर्नु र सबैलाई जवाफदेही एवम् उत्तरदायी बनाउनु पत्रकारिताको प्रमुख जिम्मेवारी हो ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ । यसले पत्रकारलाई निर्भीक भएर सत्य लेख्न र बोल्न कानुनी आधार दिएको छ । तर, स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ । सत्यता, निष्पक्षता र सन्तुलन कायम गर्नु नै व्यावसायिकताको मूल आधार हो ।
पत्रकारिता भनेको अन्धो समर्थन होइन, राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सत्य बोल्नु हो । सत्य बोल्ने साहस, गलतको विरोध गर्ने दृढता र जनताको पक्षमा उभिने प्रतिबद्धता नै मेरो पत्रकारिताप्रतिको वास्तविक विश्वास हो ।
पत्रकारिताले राजनीतिक दल र सरकारलाई जवाफदेही बनाउँछ । यसले शक्तिशाली व्यक्तिहरूलाई प्रश्न गर्ने, नागरिकका आवाज र गुनासालाई राष्ट्रिय बहसमा ल्याउने, पारदर्शिता र सुशासनको मागलाई बलियो बनाउने, तथा कानुनी निकाय र निगरानी संस्थालाई कारबाहीतर्फ घ्यानाकर्षण गर्ने काम गर्दछ । यही विश्वासले म विगत ३३ वर्षदेखि पत्रकारिताको माध्यमबाट देश र जनताको हक हितका लागि क्रियाशील छु र अन्तिम सास रहुञ्जेलसम्म क्रियाशील रहने प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *