भर्खरै :

बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामासहितको टोली भक्तपुरमा

बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामासहितको टोली भक्तपुरमा

भक्तपुर, असार २६ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको नेतृत्वमा आएको टोलीले भेट ग¥यो । उक्त भेटमा ख्वप अस्पतालको सञ्चालन, व्यवस्थापन विषयमा अनुभव आदानप्रदान भयो ।
भेटको क्रममा नगर प्रमुख सुनिल प्रजापतिले सरकारद्वारा सञ्चालित अस्पताल, विद्यालय, कलेज तथा विश्वविद्यालयहरू नाफा कमाउने उद्देश्यले नभई जनसेवाका लागि सञ्चालन गरिनुपर्ने बताउनुभयो । उहाँले ख्वप अस्पताल पनि सोही उद्देश्यअनुसार स्थापना भई सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले कोभिड १९ को महामारीको बेला जनसहभागितामार्फत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको उल्लेख गर्दै त्यसले कोभिडका समयमा धेरै बिरामीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सरकारले सोधभर्ना रकम उपलब्ध गराउन ढिलाइ गरे पनि ख्वप अस्पतालले जनतालाई सेवा दिन कुनै अवरोध हुन नदिई निरन्तर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।
उपप्रमुख अनिता लामाले बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत दुई वर्षअघि स्थापना भएको १५ शय्याको बुढानीलकण्ठ नगर अस्पतालले हालसम्म करिब एक लाख सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालले ओपीडी, सामान्य उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप, प्रयोगशाला परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै नगरपालिकाले अस्पतालको पूर्वाधार तथा सेवाको गुणस्तर सुधारमा निरन्तर लगानी गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको अनुशासित कार्यशैली र सेवा व्यवस्थापनबाट आफूहरू प्रभावित भएको बताउँदै ख्वप अस्पतालको सञ्चालन प्रणालीबाट सिक्न अध्ययन भ्रमणमा आएको स्पष्ट पार्नुभयो ।
विशेष गरी स्वास्थ्य बीमा कार्यक्रम हाल समस्याग्रस्त रहेको अवस्थामा पनि ख्वप अस्पतालले कसरी सेवा प्रवाहलाई निरन्तरता दिएको भन्ने विषय बुझ्न आफूहरू इच्छुक रहेको उहाँको भनाइ थियो ।
उपप्रमुख लामाले भक्तपुरको भ्रमणबाट अस्पताल सञ्चालन, व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहका सम्बन्धमा उपयोगी अनुभव प्राप्त भएको बताउँदै आगामी दिनमा ती सिकाइलाई बुढानीलकण्ठ नगर अस्पतालको सेवा सुधारमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले उपप्रमुख लामालाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरू उपहार स्वरुप प्रदान गर्नुभयो ।
उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, कार्यकारी अधिकृत गोपाल पोखरेल र अस्पताल निर्देशक सुधाँशु झालगायतको उपस्थिति थियो ।
बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको नेतृत्वमा आएको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू, अत्याधुनिक उपकरण, अक्सिजन प्लान्ट, प्रयोगशाला, सिटी स्क्यान, आकस्मिक सेवा तथा अस्पतालको समग्र व्यवस्थापनबारे जानकारी लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *