भर्खरै :

जनप्रतिनिधि तथा खोकनाका प्रभावित किसानबिच छलफल

जनप्रतिनिधि तथा खोकनाका प्रभावित किसानबिच छलफल

ललितपुर, २६ असार । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्राय्क) आयोजनासम्बन्धी विषयमा सरोकारवाला पक्ष र खोकना जनसरोकार समितिबिच संवाद तथा समन्वयका प्रयासहरू निरन्तर अघि बढाइएका छन् ।
यसैबिच असार २२ गते सांसद तोसिमा कार्कीको समन्वयमा सांसद बुद्धरत्न महर्जन, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासङ्घ, जनसरोकार समिति खोकना–बुङ्मती, प्रभावित किसान, ज्यापु महागुठी, नेवाः देय् दबूलगायत विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालसँग समन्वय तथा छलफल बैठक भएको थियो ।
बैठकमा खोकना र बुङ्मती क्षेत्रमा प्रस्तावित द्रुतमार्गका कारण उत्पन्न विवाद, ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा पर्ने प्रभाव, गुठी जग्गा संरक्षण तथा स्थानीय समुदायका सरोकारका विषयमा विस्तृत छलफल भएको थियो । छलफलपछि माननीय मन्त्री सुनिल लम्सालले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापालाई खोकना–बुङ्मतीसँग सम्बन्धित विवादलाई यथाशीघ्र समाधान गर्न आवश्यक पहल गर्न तथा ऐतिहासिक सम्पदा र गुठी जग्गाको संरक्षणलाई प्राथमिकतामा राखेर समन्वय गर्न निर्देशन दिनुभएको थियो ।
उक्त निर्देशनअनुसार असार २५ गते सांसद तोसिमा कार्की, पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, स्थानीय सरकारका प्रतिनिधि, प्राविधिक टोली तथा स्थानीय समुदायको सहभागितामा खोकनाको सिकाली मन्दिरदेखि डुकुछापसम्म स्थलगत अवलोकन (फिल्ड भिजिट) सम्पन्न गरिएको थियो ।
स्थलगत अवलोकनको क्रममा आयोजनाको वर्तमान अवस्था, प्रस्तावित मार्ग, प्रभावित ऐतिहासिक, सांस्कृतिक तथा गुठी क्षेत्र, स्थानीय समुदायका सरोकार तथा सम्भावित वैकल्पिक व्यवस्थाका विषयमा प्रत्यक्ष जानकारी लिइएको थियो । सहभागीहरूले स्थानीय समुदायका धारणा सुन्दै आवश्यक सुझाव आदानप्रदान गरेका थिए ।
स्थलगत अवलोकनपछि सहभागी पक्षहरूबिच खोकना–बुङ्मतीको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा, गुठी जग्गा र उर्वर कृषि भूमि संरक्षणलाई प्राथमिकता दिँदै द्रुतमार्ग आयोजनाको दीर्घकालीन तथा दिगो समाधान खोज्नुपर्ने विषयमा साझा समझदारी बनेको जनाइएको छ । विकास आयोजना कार्यान्वयन गर्दा सम्पदा संरक्षण, स्थानीय समुदायको अधिकार तथा सार्वजनिक हितलाई समान रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *