ऐना
- असार २६, २०८३
ङातापोल्हँको बुँसादा
भक्तपुरको टौमढीमा अवस्थित ङातापोल्हँ मन्दिरको जन्मदिन आषाढ शुक्ल प्रतिपदाको दिनमा मनाइन्छ । यस दिनलाई स्थानीय भाषामा ङातापोल्हँको बुँसादा भनिन्छ । मन्दिरको निर्माण सम्पन्न भूपतीन्द्र मल्लको पालामा नेपाल संवत् ८२२ को आषाढ शुक्ल प्रतिपदाको दिन भएको मानिन्छ । त्यसैको सम्झनामा हरेक वर्ष सोही तिथीमा वार्षिकोत्सवको रूपमा बुँसादा मनाइन्छ ।
यस वर्ष असार ३१ गते बुधबार ३२४ औँ वार्षिकोत्सव (बुँसादा) परेको छ । सो दिन गुठी संस्थानको बजेटले अवाल समुदायका सम्बन्धित गुठीयारद्वारा पूजा र भेटी चढाइन्छ । मन्दिरको मुख्य ढोका खोलिन्छ† तोकिएका जोशी र आचाजु पुजारीहरू विश्व शान्ति र जनताको खुसीको लागि पूजा र अनुष्ठान गर्छन् । सोही दिन जोखिम मोलेर मन्दिरको छानामा उम्रिएका घाँस उखेल्ने, अन्य सरसफाइ गर्ने र सामान्य मर्मतसम्भार गरी गजुरमाथि झण्डा फहराइन्छ ।
नेपालको सबैभन्दा अग्लो मन्दिर ङातापोल्हँ १८ औँ शताब्दीमा राजा भूपतीन्द्र मल्लले निर्माण गराएका थिए ।
राजा भूपतीन्द्र मल्लले मन्दिरको नियमित सरसफाइ र मर्मतसम्भार सुनिश्चित गर्न वार्षिक अनुष्ठान सुरु गरिएको थियो । उक्त मन्दिर सिद्धिलक्ष्मी, भैरव र बेतालसँग पनि समर्पित छ । ङातापोल्हँको बुँसादाको दिन तान्त्रिक अभ्यासमा निपुण व्यक्तिहरूलाई मात्र मन्दिरमा प्रवेश गर्न अनुमति दिइन्छ किनकि यसलाई देवीको तान्त्रिक ऊर्जाको अवतार मानिन्छ ।
मल्लकालमा छालिङ, जितपुर, बागेश्वरी, साँखु (साकवा), झौखेल (झौख्या), चाँगु (चाँघु), गोकर्ण, पनौती (पन्ती) लगायतका किसान, मजदुर तथा स्थानीय समुदायले समेत मन्दिर निर्माणमा सहभागिता जनाएका थिए ।
ङातापोल्हँ मन्दिर परम्परागत इन्जिनियरिङको उत्कृष्ट उदाहरण मानिन्छ । सन् १७०१/१७०२ मा निर्माण भएको यो पाँचतले मन्दिरमा शक्तिशाली भूकम्पले समेत मुख्य संरचनामा क्षति पु¥याउन सकेन । जसले यसको उत्कृष्ट इन्जिनियरिङ क्षमता प्रमाणित गर्छ ।
ङातापोल्हँका प्रमुख मौलिक इन्जिनियरिङ विशेषताहरू
१) अत्यन्त बलियो र अग्लो जग : मन्दिर पाँच तहको विशाल आधार तह माथि निर्माण गरिएको छ । यो अग्लो आधारले गुरुत्व केन्द्रलाई स्थिर राख्छ । यसले भूकम्पको कम्पनलाई माथिल्लो संरचनामा कम प्रभाव पार्न मद्दत गर्छ ।
२) तल फराकिलो, माथि क्रमशः साँघुरो : प्रत्येक तला माथिल्लोतर्फ सानो हुँदै गएकोले तौल समान रूपमा वितरण हुन्छ र संरचनाको स्थिरता बढ्छ ।
३) काठ र इँटाको संयोजन : मुख्य संरचनामा पाकेको इँटा, माटोको गारो र विभिन्न जातका काठ प्रयोग गरिएको छ । काठ केही लचकदार हुने भएकाले भूकम्पीय ऊर्जा सोस्न सहयोग गर्छ ।
४) खुला भित्री संरचना : पहिलो तलामाथि ठुला भित्री तला नराखी खुला संरचना अपनाइएको छ, जसले तौल घटाउँछ र भूकम्पका बेला संरचनामा आउने बल कम गर्छ ।
५) सन्तुलित डिजाइन : मन्दिरको भार केन्द्रमा सन्तुलित रूपमा वितरण गरिएको छ, जसले भूकम्पको जोखिमबाट ढल्किने सम्भावना कम गर्छ ।
६) उच्च गुणस्तरको निर्माण व्यवस्थापन : ऐतिहासिक अभिलेखअनुसार निर्माणअघि आवश्यक काठ, इँटा, ढुङ्गा र धातु सामग्रीको तयारी गरिएको थियो ।
यो मन्दिर निर्माणमा तत्कालीन राजा भूपतीन्द्र मल्ललगायत राजपरिवार, चौकीदारहरू तथा भारद्वारहरूले समेत श्रमदान गरेको इतिहासमा अध्ययन गर्न सकिन्छ । यहाँका हजारौँ किसान, मजदुरलगायत विभिन्न परम्परागत र मौलिक सीप भएका कामदार र दक्ष कालीगढको समन्वयमा करिब ६ महिनामै निर्माण सम्पन्न भएको मानिन्छ ।
आजको संरा अमेरिका समृद्ध र विकास हुनुभन्दा अघि नै नेपालका थुप्रै राज्यहरू सम्पन्न र शक्तिशाली थियो । त्यसमध्ये भक्तपुर पनि एक हो । भक्तपुरमा आजभन्दा ३२४ वर्ष पहिले इन्जिनियरिङ र प्रविधिको विकास नभएको बेलामा नै ठुला भूकम्पलाई समेत चुनौती दिएको सम्पदाको रूपमा ङातापोल्हँ मन्दिर रहेको छ ।
सात आश्चर्यमा ङातापोल्हँ मन्दिर पनि समावेश गर्नुपर्ने
२२ वर्ष लगाएर सन् १६४८ मा बनेको भारतको आगरा सहरको ताजमहल र ९ वर्ष लगाएर सन् १९३१ मा बनेको ब्राजिलको राजधानी सहर रियो दी जेनेरियोको क्राइस्ट द रिडीमर मूर्तिलाई आधुनिक विश्वको सात आश्चर्य मानिएको छ । तर, ताजमहल निर्माण भएको ५० वर्षपछि सन् १७०१/०२ को ६ महिनामा तयार भएको ङातापोल्हँ मन्दिरलाई पनि आधुनिक विश्वको सात आश्चर्यमा समावेश गर्न आवश्यक छ ।
ङातापोल्हँ मन्दिर एक मौलिक नेपाली प्यागोडा शैली वास्तुकलाको उत्कृष्ट नमुना हो । ङातापोल्हँ मन्दिरको निर्माण अघि र निर्माण पछि पनि यस्ता प्यागोडा शैलीका मठमन्दिरलगायत अन्य सम्पदा निर्माण भएका छन् र हुँदै छ ।
यिनै कारणले गर्दा ङातापोल्हँलाई आज पनि नेपालको परम्परागत भूकम्प प्रतिरोधी वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ । विश्वमा इन्जिनियरिङको अवधारणा आउनुपूर्व नै यस्तो संरचना निर्माणले आधुनिक संरचनात्मक इन्जिनियरहरूको लागि यसको डिजाइन अध्ययन सामग्री बन्दै गर्दा परम्परागत निर्माण प्रविधिलाई आधुनिकतासँग जोड्नु आजको आवश्यकता हो ।
वि. सं. १९९० र २०७२ को ठुलठुला विध्वंसात्मक भूकम्पमा समेत सुरक्षित यस ङातापोल्हँलाई विश्वका सात आश्चर्य सम्पदामध्ये एक आश्चर्यको सम्पदाको रूपमा सूचिकृत गर्न नेपाल सरकार लाग्नुपर्ने देखिन्छ ।
यसर्थ, यस्ता ऐतिहासिक ङातापोल्हँको मौलिक इन्जिनियरिङ अझै विश्वमै उदाहरणीय र अतुलनीय बनाई जोगाई राख्न नयाँ पुस्तालाई आधुनिकतासँगै मौलिक परम्परागत निर्माण प्रविधिबारे व्यवहारिक रूपमा अध्ययन अध्यापन गर्न जोड दिनुपर्छ ।
Leave a Reply