ऐना
- असार २६, २०८३
असारको त्यो भेलमा, हिलोमा चुर्लुम्म डुबेर जब म धान रोप्छु,
झरीको वेगसँगै मेरो पसिना, त्यो माटोको काखमा सुम्पन्छु ।
न रातको हेक्का, न दिनको सुझबुझ, हलो र कोदालोको तालमा,
जीवनको राग गुञ्जाउँदै, म असारको त्यही मेलोमा रमाउँछु ।
ती हिलोमा गाडिएका पाइला र हत्केलामा परेका फोकाहरू,
यिनैले त बुझेका छन्, तिमी फल्नुको अर्थ र पीडाको गहिराइ ।
न हिसाब छ श्रमको, न छ नाफा–घाटाको लोभ,
बस, माटोको काखमा प्राण भर्ने, एउटा अविरल सोख ।
सुन र चाँदीका गहना त, भोकको अगाडि पत्थर सरह,
अन्नको एक कणमा लुकेको छ, जीवनको असली भर ।
धनले त केवल सहरको चमक वा घरको भित्ता सजाउँछ,
तर यही अन्नले त, राजदरबारदेखि झुपडीसम्मको भोक मेटाउँछ ।
यो सत्यलाई बुझ्न, तराजु होइन, मनको दृष्टि चाहिन्छ,
अन्नको मर्म त, माटोमै पसिना बगाउनेले मात्र सहर्ष पाउँछ ।
त्यसैले हे अन्न¤ तिमीलाई नमन छ, यो जगतको सहारा हौ,
तिमी छौ र त सभ्यताको, यो सुन्दर दियो सल्किएको छ ।
तिम्रो एक मुठी दानामै, संसारको अस्तित्व अडेको छ,
तिमी नभए त यो धर्तीमा, केवल अन्धकारको बास हुन्छ ।
हे अन्न, तिमी धन्य ! तिमी छौ र त यो जगत छ,
तिमी नभए यो संसारै शून्य हुन्छ, यही नै अन्तिम सत्य छ ।
Leave a Reply