ऐना
- असार २६, २०८३
कालापानी, लिम्पियाधुरा,
लिपुलेक, सुस्ता अतिक्रमण
प्राकृतिक प्रकोप होइन
विस्तारवादी अतिक्रमण ।
समथर भूमि मलिलो फाँटमा
लोभलाग्दो अन्न फलेको
बलिया मिचाहा संधियारले
रातारात किला सारेको ।
आफ्नो सम्पत्ति आफ्नै नहुने
मत्स्य न्याय त होइन
जिम्मेवार शासक अबुझ भई
भूमि सुम्पिने होइन ।
अस्ताउन लागेको सूर्यको किरणले
आकासै रातो भए नि
मनमा आश भई के गर्नु ?
क्षणभरमै अँध्यारो हुन्छ नि ।
न्याय अन्याय सारालाई ज्ञात छ
अन्याय सहनु त पापै हो
सत्य कुरा बोलिदिनु पनि
स्वाभिमानीको कर्तव्य हो ।
रातमा निद छैन, रूच्दैन खान
मनमा पीडा भइकन
दुष्ट छिमेकी भएपछि हेर
किला सार्न पछि पर्दैन ।
विध्वंसकारीलाई केको चिन्ता
खरानी बेच्ने दाउमा छन्
न्यायका पक्षपाति काला कोटेहरू
सार्वजनिक सम्पत्ति हडप्छन् ।
देशमा आगो लगाउनेहरू
देशभक्त समाजसेवी बन्दै छन्
‘चोरलाई चोतारी’ जस्तै
देशमा भइरहेको छ ।
Leave a Reply